गन्ती
३ यहोवा परमेश्वरले मोसासित सिनै डाँडामा+ कुरा गर्नुभएको समयमा हारुन र मोसाको वंशावली* विवरण। २ हारुनका छोराहरू यी हुन्: जेठो छोरा नादाब, त्यसपछि अबिहु,+ एलियाजार+ र इथामार।+ ३ हारुनका छोराहरू यी नै हुन्, जो पुजारीको रूपमा सेवा गर्न नियुक्त भए र अभिषेक गरिए।+ ४ सिनै निर्जनभूमिमा नादाब र अबिहुले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो बाल्दा+ तिनीहरू यहोवा परमेश्वरको सामुन्ने मरे; तिनीहरूको कुनै सन्तान थिएन। तर एलियाजार+ र इथामारले+ आफ्नो बुबा हारुनसित पुजारीको रूपमा सेवा गरिरहे।
५ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ६ “लेविको कुललाई+ ल्याएर पुजारी हारुनको सामु खडा गराऊ अनि तिनीहरूले तिनको सेवा गरून्।+ ७ तिनीहरूले वासस्थानसित* सम्बन्धित सेवा चढाएर भेट हुने पालसामु* हारुन र सारा समुदायप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्। ८ तिनीहरूले भेट हुने पालको सबै सरसामानको रेखदेख गरून्+ र वासस्थानसित सम्बन्धित सबै काम गरेर इस्राएलीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरून्।+ ९ तिमीले लेवीहरू हारुन र तिनका छोराहरूलाई दिनू। तिनीहरू हारुनको सेवा गर्न इस्राएलीहरूको माझबाट अलग्गै छुट्ट्याइएकाहरू हुन्।+ १० हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा सेवा गर्न नियुक्त गर्नू।+ तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र स्थानको* नजिक आएमा ऊ मारियोस्।”+
११ यहोवा परमेश्वरले मोसालाई थप यसो भन्नुभयो: १२ “हेर, मैले लेवीहरूलाई इस्राएलीहरूको हरेक पहिलो सन्तानको सट्टामा लिएको छु,+ त्यसैले लेवीहरू मेरा हुनेछन्। १३ किनकि गर्भको हरेक पहिलो सन्तान मेरै हुन्।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई प्रहार गरेको दिन+ इस्राएलका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो लागि छुट्ट्याएँ।+ तिनीहरू मेरै हुन्। म यहोवा हुँ।”
१४ यहोवा परमेश्वरले सिनै निर्जनभूमिमा+ मोसालाई अझै यसो भन्नुभयो: १५ “लेविका सन्तानको नाम तिनीहरूका बुबापट्टिको घराना र वंशअनुसार दर्ता गर। एक महिना र सोभन्दा माथिको उमेरका सबै पुरुषको नाम दर्ता गर।”+ १६ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले तिनीहरूको नाम दर्ता गरे। १७ लेविका छोराहरू यी हुन्: गेर्सोन, कोहात र मरारि।+
१८ गेर्सोनका छोराहरू यी हुन्: लिब्नि र सिमि।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो।
१९ कोहातका छोराहरू यी हुन्: अम्राम, इजहार, हेब्रोन र उज्जिएल।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो।
२० मरारिका छोराहरू यी हुन्: महलि+ र मुसि।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो।
बुबापट्टिको घरानाअनुसार लेवीहरूका घरानाहरू यी नै थिए।
२१ गेर्सोनबाट लिब्निको घराना+ र सिमिको घराना आए। गेर्सोनीहरूका घराना यी नै थिए। २२ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्ख्या ७ हजार ५ सय थियो।+ २३ गेर्सोनीहरूका घरानाले पश्चिमतिर अर्थात् वासस्थानको पछिल्तिर पाल टाँगे।+ २४ गेर्सोनीहरूका घरानाका कुलनायक लाएलका छोरा एलियासाप थिए। २५ गेर्सोनका सन्तानको+ जिम्मेवारी भेट हुने पालमा यी कुराहरूको रेखदेख गर्ने थियो:+ वासस्थान र त्यसलाई ढाक्ने पाल,+ भेट हुने पालको प्रवेशद्वारको पर्दा,+ २६ वासस्थानलाई चारैतिरबाट बारेका चोकका पालहरू,+ वासस्थान र वेदीको चारैतिर भएको चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ पालको डोरी अनि यी कुराहरूसित सम्बन्धित सबै काम।
२७ कोहातबाट अम्राम, इजहार, हेब्रोन र उज्जिएलका घराना आए। कोहातीहरूका घराना यी नै थिए।+ २८ एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्ख्या ८ हजार ६ सय थियो। तिनीहरूको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नु थियो।+ २९ कोहातको घरानाले वासस्थानको दक्षिणतिर पाल टाँग्यो।+ ३० कोहातीहरूका घरानाका कुलनायक उज्जिएलका छोरा एलिसापान थिए।+ ३१ तिनीहरूको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: करारको सन्दुक,*+ टेबुल,+ पानस,+ वेदीहरू,+ पवित्र ठाउँमा सेवा चढाउन प्रयोग गरिने सरसामान,+ भित्री पर्दा+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+
३२ पुजारी हारुनका छोरा एलियाजार+ लेवीहरूका प्रमुख कुलनायक थिए। तिनको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नेहरूको निगरानी गर्ने थियो।
३३ मरारिबाट महलिको घराना र मुसिको घराना आए। मरारिहरूका घराना यी नै थिए।+ ३४ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पुरुषहरूको सङ्ख्या ६ हजार २ सय थियो।+ ३५ मरारिहरूका घरानाका कुलनायक अबिहेलका छोरा जुरिएल थिए। तिनीहरूले वासस्थानको उत्तरतिर पाल टाँगे।+ ३६ मरारिका सन्तानको जिम्मेवारी यी कुराहरूको रेखदेख गर्नु थियो: वासस्थानको चौकोस,+ डन्डी,+ खामा,+ त्यसका चूलघर,* त्यहाँ भएका सबै सरसामान+ अनि यी कुराहरूसित सम्बन्धित सबै काम।+ ३७ तिनीहरूले चोकको चारैतिरका खामाहरू र तिनका चूलघर,*+ पालको किला र डोरीको पनि रेखदेख गर्नुपर्थ्यो।
३८ मोसा, हारुन र तिनका छोराहरूले भेट हुने पालको अगाडि, वासस्थानको पूर्वतिर अर्थात् सूर्योदय हुने दिशातिर पाल टाँगे। तिनीहरूले पवित्र स्थानको* रेखदेख गर्ने जिम्मेवारी पाएका थिए। इस्राएलीहरूका खातिर यो जिम्मेवारी पूरा गर्नु तिनीहरूको कर्तव्य थियो। तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिस* पवित्र ठाउँको नजिक आएमा उसलाई मारिने थियो।+
३९ यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसा र हारुनले घराना-घरानाअनुसार लेविको कुलको नाम दर्ता गर्दा एक महिना र सोभन्दा माथिको उमेरका पुरुषहरूको सङ्ख्या २२ हजार थियो।
४० त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूका एक महिना र सोभन्दा माथिको उमेरका+ हरेक पहिलो सन्तान अर्थात् जेठो छोराको नाम दर्ता गर्नू। तिनीहरूको गन्ती गरेर नामको सूची बनाउनू। ४१ इस्राएलीहरूको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूलाई मेरो लागि अलग्गै छुट्ट्याउनू+ अनि इस्राएलीहरूको घरपालुवा जनावरको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूको सबै घरपालुवा जनावरलाई अलग्गै छुट्ट्याउनू।+ म यहोवा हुँ।” ४२ अनि यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले इस्राएलीहरूका हरेक पहिलो सन्तानको नाम दर्ता गरे। ४३ एक महिना र सोभन्दा माथिको उमेरका नाम दर्ता गरिएका पहिलो सन्तानको सङ्ख्या २२ हजार २ सय ७३ थियो।
४४ यहोवा परमेश्वरले मोसालाई थप यसो भन्नुभयो: ४५ “इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा लेवीहरूलाई अलग्गै छुट्ट्याउनू; साथै इस्राएलीहरूको घरपालुवा जनावरको हरेक पहिलो सन्तानको सट्टा लेवीहरूको घरपालुवा जनावरलाई अलग्गै छुट्ट्याउनू। लेवीहरू मेरा हुनेछन्। म यहोवा हुँ। ४६ लेवीहरूको सङ्ख्याभन्दा धेरै भएका इस्राएलीहरूका+ २७३ जना पहिलो सन्तानको फिरौतीको मोलस्वरूप+ ४७ प्रत्येक व्यक्तिको लागि पवित्र ठाउँको शेकेलअनुसार* पाँच शेकेल* लिनू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ।+ ४८ लेवीहरूको सङ्ख्याभन्दा धेरै भएका इस्राएलीहरूका पहिलो सन्तानको फिरौतीको मोलस्वरूप जति पैसा लिइन्छ, त्यो हारुन र तिनका छोराहरूलाई दिनू।” ४९ यसकारण लेवीहरूको सङ्ख्याभन्दा धेरै भएका इस्राएलीहरूका पहिलो सन्तानको निम्ति तिरिएको फिरौतीको पैसा मोसाले लिए। ५० पवित्र ठाउँको शेकेलअनुसार मोसाले इस्राएलीहरूका पहिलो सन्तानबाट १ हजार ३ सय ६५ शेकेल लिए। ५१ अनि यहोवा परमेश्वरले भन्नुभएझैँ मोसाले फिरौतीको मोलस्वरूप जम्मा भएको पैसा हारुन र तिनका छोराहरूलाई दिए। यहोवा परमेश्वरले मोसालाई जस्तो आज्ञा दिनुभएको थियो, उनले त्यसै गरे।