यसैया
३७ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्ग्रा लगाएर यहोवाको भवनमा गए।+ २ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्ना र पुजारीहरूको नाइकेलाई आमोजका छोरा भविष्यवक्ता यसैयाकहाँ पठाए।+ तिनीहरू सबै भाङ्ग्रा लगाएर तिनीकहाँ गए। ३ तिनीहरूले तिनलाई यसो भने: “हिजकियाह भन्नुहुन्छ, ‘यो दिन दुःख, निन्दा र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्ति नै छैन।+ ४ सायद यहोवा तपाईँका परमेश्वरले रबसाकेले भनेको कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्वरले जे-जे सुन्नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्,+ तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्।’”+
५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+ ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्नू, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+ ७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ।+ अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+
८ अस्सेरियाका राजा लाकिसबाट गए भन्ने खबर सुनेपछि रबसाके तिनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+ ९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह तिनीसित युद्ध लड्न आउँदै छन् भन्ने खबर पाए। तब तिनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई यसो भनेर पठाए:+ १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+ ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके?+ गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए? १३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम,+ हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्?’”
१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवालाई यसो भन्दै प्रार्थना गरे:+ १६ “हे सेनाहरूका यहोवा,+ इस्राएलका परमेश्वर, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ! पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्वर हुनुहुन्छ। तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। १७ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस् र मेरो कुरा सुन्नुहोस्।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस् र हामीमाथि नजर लगाउनुहोस्।+ तपाईँ जीवित परमेश्वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्।+ १८ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै देशलाई+ र आफ्नै देशलाई समेत ध्वस्त पारेका छन्। १९ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्।+ किनकि ती साँच्चैका ईश्वर थिएनन्; ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। २० त्यसैले हे यहोवा हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस् र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्वर हुनुहुन्छ भनेर थाह पाऊन्।”+
२१ त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा मलाई बिन्ती गऱ्यौ।+ २२ त्यसैले यहोवा परमेश्वरले उसको विरुद्धमा यसो भन्नुभएको छ:
“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्, उनी तेरो खिसी गर्छिन्।
यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्।
२३ तैँले कसलाई हाँक दिइस्+ र कसको निन्दा गरिस्?
कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+
तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्?
तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+
२४ तैँले आफ्ना सेवकहरूमार्फत यहोवालाई हाँक दिँदै यसो भनिस्,+
‘म आफ्ना अनगिन्ती रथसहित आउनेछु
र पहाडहरूको टुप्पोमा उक्लनेछु।+
म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।
म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्नेछु।
अनि अग्ला-अग्ला ठाउँमा भएका त्यसका शरणस्थान र त्यसका घना जङ्गलहरूमा छिर्नेछु।
२५ म इनार खन्नेछु र पानी पिउनेछु।
म आफ्नो पैतालाले मिश्रका खोलाहरू* सुकाइदिनेछु।’
२६ के तैँले सुनेको छैनस्? मैले धेरै अघि यो कुरा निश्चय गरिसकेको थिएँ।
मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+
अब म त्यो पूरा गर्नेछु।+
तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्।+
२७ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्।
तिनीहरू डरले थरथर काँप्नेछन् र लाजमा पर्नेछन्।
तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्।
तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।
२८ तर तँ कहिले बस्छस्, कहिले बाहिर जान्छस् अनि कहिले भित्र छिर्छस्, त्यो सब मलाई थाह छ।+
अनि तँ कहिले मसित रिसाउँछस्, त्यो पनि मलाई थाह छ।+
२९ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+
त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु+
अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”
३० “‘यो अवश्य पूरा हुनेछ भन्ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्न खानेछौ। तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र कटनी गर्नेछौ। तिमीहरूले अङ्गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+ ३१ यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्नेछन् र फल फलाउनेछन्। ३२ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्।+ सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+
३३ “‘त्यसैले यहोवा परमेश्वर अस्सेरियाका राजाबारे यसो भन्नुहुन्छ:+
३४ यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, ‘ऊ जुन बाटो भएर आएको थियो, त्यही बाटो भएर फर्कनेछ।
ऊ यस सहरमा छिर्नेछैन।’
३५ ‘म यस सहरको रक्षा गर्नेछु;+
म आफ्नो खातिर+ र आफ्नो सेवक दाउदको खातिर यसलाई जोगाउनेछु।’”+
३६ तब यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३७ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३८ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत् गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा भागेर गए।+ त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।