उत्पत्ति
१ सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+
२ त्यतिखेर पृथ्वीमा केही थिएन अनि त्यसको कुनै आकार पनि थिएन। जताततै पानी*+ मात्र थियो र चारैतिर अन्धकार थियो। अनि परमेश्वरको सक्रिय शक्ति+ पानीमाथि घुमिरहन्थ्यो।+
३ परमेश्वरले भन्नुभयो: “उज्यालो होस्।” तब उज्यालो भयो।+ ४ परमेश्वरले उज्यालोलाई हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। त्यसपछि उहाँले अँध्यारो र उज्यालोलाई छुट्ट्याउन थाल्नुभयो। ५ परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो।+ साँझ पऱ्यो र बिहान भयो—पहिलो दिन।
६ त्यसपछि परमेश्वरले भन्नुभयो: “पानीको बीचमा एक अन्तर*+ होस्, यसले पानीलाई दुई भागमा छुट्ट्याओस्।”+ ७ परमेश्वरले पानीको बीचमा अन्तर बनाउनुभयो अनि अन्तरमुनिको पानी र अन्तरमाथिको पानीलाई छुट्ट्याउनुभयो।+ अनि त्यस्तै भयो। ८ परमेश्वरले त्यस अन्तरलाई आकाश भन्नुभयो। साँझ पऱ्यो र बिहान भयो—दोस्रो दिन।
९ त्यसपछि परमेश्वरले भन्नुभयो: “आकाशमुनि भएको सबै पानी एक ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्।”+ तब त्यस्तै भयो। १० परमेश्वरले सुक्खा जमिनलाई भूमि भन्नुभयो+ र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो।+ अनि परमेश्वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो।+ ११ त्यसपछि परमेश्वरले भन्नुभयो: “भूमिले घाँसपात, बिउ लाग्ने किसिम-किसिमका बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख उमारोस्।” तब त्यस्तै भयो। १२ अनि भूमिले किसिम-किसिमका घाँसपात, बिउ लाग्ने किसिम-किसिमका बोटबिरुवा+ र फलमा बिउ हुने किसिम-किसिमका रूख उमाऱ्यो। अनि परमेश्वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। १३ साँझ पऱ्यो र बिहान भयो—तेस्रो दिन।
१४ त्यसपछि परमेश्वरले भन्नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्।+ १५ ती ज्योतिहरू आकाशमा चम्कून् र पृथ्वीलाई उज्यालो पारून्।” तब त्यस्तै भयो। १६ अनि परमेश्वरले दुई वटा ठूला ज्योति बनाउनुभयो—दिनको लागि ठूलो ज्योति+ र रातको लागि अलि सानो ज्योति। उहाँले ताराहरू पनि बनाउनुभयो।+ १७ यसरी परमेश्वरले ती ज्योतिहरू आकाशमा राख्नुभयो। ती ज्योतिहरूले गर्दा पृथ्वी उज्यालो होस्, १८ ती ज्योतिहरू दिन र रातमा चम्कून् अनि तिनीहरूले गर्दा उज्यालो र अँध्यारो छुट्टियोस्+ भनेर परमेश्वरले त्यसो गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। १९ साँझ पऱ्यो र बिहान भयो—चौथो दिन।
२० त्यसपछि परमेश्वरले भन्नुभयो: “पानी जीवजन्तुले* भरियोस् र उड्ने जीवहरू* पृथ्वीमाथि फैलिएको आकाशमा उडून्।”+ २१ परमेश्वरले समुद्रमा बस्ने जातजातका विशाल जलजन्तु र पानीमा झुन्डझुन्ड बनाएर पौडने जातजातका जलजन्तु सृष्टि गर्नुभयो। साथै उहाँले आकाशमा उड्ने जातजातका जीवहरू पनि सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो। २२ परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र समुद्रमा भरिँदै जाओ।+ अनि उड्ने जीवहरू पनि पृथ्वीमा बढ्दै जाऊन्।” २३ साँझ पऱ्यो र बिहान भयो—पाँचौँ दिन।
२४ त्यसपछि परमेश्वरले भन्नुभयो: “पृथ्वीमा जातजातका जीवजन्तु देखा परून् अर्थात् जातजातका घरपालुवा जनावर, जातजातका घस्रने जीवजन्तु* र जातजातका जङ्गली जनावर।”+ तब त्यस्तै भयो। २५ अनि परमेश्वरले पृथ्वीमा जातजातका जङ्गली जनावर, जातजातका घरपालुवा जनावर र जातजातका घस्रने जीवजन्तु बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो र त्यो उहाँलाई राम्रो लाग्यो।
२६ त्यसपछि परमेश्वरले भन्नुभयो: “आऊ, मानिसलाई हाम्रै+ स्वरूपमा,+ हामीजस्तै+ बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशमा उड्ने जीवहरू, घरपालुवा जनावर, घस्रने जीवजन्तु र सारा पृथ्वीमाथि अधिकार गरून्।”+ २७ अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। हो, आफ्नै स्वरूपमा उहाँले मानिसलाई सृष्टि गर्नुभयो; उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ २८ त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+
२९ त्यसपछि परमेश्वरले भन्नुभयो: “पृथ्वीका सबै बिउ लाग्ने बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख मैले तिमीहरूलाई दिएको छु। ती तिमीहरूका लागि भोजन हुनेछन्।+ ३० अनि पृथ्वीमा भएका सबै जङ्गली जनावर, आकाशमा उड्ने सबै जीव अनि जमिनमा चलहल गर्ने सबै जीवजन्तुको निम्ति आहार होस् भनेर मैले हरिया घाँसपात दिएको छु।”+ तब त्यस्तै भयो।
३१ त्यसपछि परमेश्वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो, ती असाध्यै राम्रा थिए।+ साँझ पऱ्यो र बिहान भयो—छैटौँ दिन।
२ यसरी आकाश र पृथ्वी अनि यिनमा भएका सबै थोक सृष्टि गर्ने काम सिद्धियो।+ २ सातौँ दिन सुरु हुनुअघि परमेश्वरले सबै काम सिद्ध्याउनुभयो र सातौँ दिनमा उहाँले सबै कामबाट विश्राम लिन थाल्नुभयो।+ ३ परमेश्वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यस दिनलाई पवित्र घोषणा गर्नुभयो किनकि आफ्नो उद्देश्यअनुसार सबै कुरा सृष्टि गरेपछि परमेश्वरले सातौँ दिनदेखि विश्राम लिइरहनुभएको छ।
४ यो आकाश र पृथ्वी सृष्टि गरिएको बेलाको विवरण हो। जुन दिन* यहोवा* परमेश्वरले पृथ्वी र आकाश बनाउनुभयो,+ त्यस दिनको विवरण यही हो।
५ पृथ्वीमा घाँसपात, बोटबिरुवा केही थिएन किनकि यहोवा परमेश्वरले पृथ्वीमा पानी बर्साउनुभएको थिएन र भूमि खनजोत गर्ने मानिस पनि थिएन। ६ तर पृथ्वीबाट कुहिरो उठ्थ्यो र त्यसले नै पूरै जमिन भिजाउँथ्यो।
७ यहोवा परमेश्वरले भूमिको माटोबाट+ मानिस बनाउनुभयो अनि तिनको नाकमा जीवनको सास+ फुकिदिनुभयो र तिनी जीवित मानिस* भए।+ ८ साथै यहोवा परमेश्वरले पूर्वतिर अदनमा+ एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई+ त्यहाँ राख्नुभयो। ९ यहोवा परमेश्वरले हेर्नमा रहरलाग्दा अनि खानलाई मीठामीठा फल भएका हरेक किसिमको रूख भूमिबाट उमार्नुभयो। बगैँचाको बीचमा चाहिँ उहाँले जीवनको रूख+ लगाउनुभयो अनि असल र खराबको ज्ञानको रूख+ पनि लगाउनुभयो।
१० अदनबाट एउटा नदी बगेको थियो, जसले गर्दा अदनको बगैँचा सुक्खा हुँदैन थियो। त्यस नदीबाट चार वटा शाखा नदी निस्किएका थिए। ११ पहिलो नदीको नाम पिसोन हो; यस नदीले हविलाहको पूरै इलाकालाई घेरेको छ र त्यस इलाकामा सुन पाइन्छ। १२ त्यहाँको सुन असल छ। त्यहाँ गोकुल धूप* र ओनिक्स* रत्न पनि पाइन्छ। १३ दोस्रो नदीको नाम गिहोन हो; यो नदी कुस* इलाकाको वरिपरि बग्छ। १४ तेस्रो नदीको नाम हिद्देकेल*+ हो; यो नदी अस्सेरियाको पूर्वतिर बग्छ।+ अनि चौथो नदीको नाम युफ्रेटिस हो।+
१५ अदनको बगैँचाको गोडमेल र रेखदेख गर्न यहोवा परमेश्वरले मानिसलाई त्यहाँ राख्नुभयो।+ १६ यहोवा परमेश्वरले मानिसलाई यो आज्ञा पनि दिनुभयो: “बगैँचाको हरेक रूखबाट चाहेजति फल खान सक्छौ।+ १७ तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खाँदै नखानू किनकि जुन दिन तिमीले त्यो खान्छौ, त्यही दिन तिमी मर्नेछौ।”+
१८ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मानिस एक्लो रहन असल छैन। म उसको लागि सुहाउने एक जना साथी बनाइदिनेछु, उनी मानिसको सहयोगी हुनेछिन्।”+ १९ यहोवा परमेश्वरले माटोबाट जातजातका जङ्गली जनावर र आकाशमा उड्ने जातजातका जीवहरू बनाउनुभयो अनि उहाँले ती सबैलाई मानिसकहाँ ल्याउन थाल्नुभयो। मानिसले ती सबैलाई के नाम दिँदा रहेछन् भनेर उहाँ हेर्न चाहनुहुन्थ्यो। मानिसले तिनीहरूलाई जे-जे नाम दिए, त्यही नै तिनीहरूको नाम भयो।+ २० यसरी मानिसले घरपालुवा जनावर, आकाशमा उड्ने जीव र जङ्गली जनावर सबैको नाम राखे तर मानिसको लागि सुहाउने सहयोगी भने कोही पनि थिएन। २१ त्यसैले यहोवा परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो र तिनी निदाइरहेको बेला तिनको एउटा करङ निकालेर त्यसको ठाउँमा मासु भर्नुभयो। २२ अनि यहोवा परमेश्वरले मानिसबाट निकालेको करङबाट एउटी स्त्री बनाउनुभयो र त्यस स्त्रीलाई मानिसकहाँ ल्याउनुभयो।+
२३ त्यसपछि मानिसले भने:
“यिनी मेरै हाडको हाड,
मासुको मासु हुन्।
यिनी नरबाट बनाइएकी हुन्,+
त्यसैले यिनलाई नारी भनिनेछ।”
२४ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ* र तिनीहरू एउटै शरीर हुन्छन्।+ २५ मानिस र तिनकी पत्नी दुवै नाङ्गै थिए+ तैपनि तिनीहरू लाज मान्दैनथे।
३ यहोवा परमेश्वरले बनाउनुभएका सबै जङ्गली जनावरमध्ये सर्प+ सबैभन्दा चनाखो* थियो। त्यसले स्त्रीलाई भन्यो: “के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै रूखको फल नखानू भनेर साँच्चै भन्नुभएको हो?”+ २ तब स्त्रीले सर्पलाई भनिन्: “हामी बगैँचाका सबै रूखका फल खान सक्छौँ।+ ३ तर बगैँचाको बीचमा भएको रूखबारे+ भने परमेश्वरले यसो भन्नुभएको छ: ‘त्यसको फल खाँदै नखानू, त्यसलाई छुँदा पनि नछुनू नत्र तिमीहरू मर्नेछौ।’” ४ यो सुनेपछि सर्पले स्त्रीलाई भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!+ ५ किनकि परमेश्वरलाई थाह छ, जुन दिन तिमीहरू त्यो फल खान्छौ, त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्। तिमीहरू परमेश्वरजस्तै हुनेछौ अनि असल र खराब थाह पाउनेछौ।”*+
६ त्यसपछि स्त्रीले त्यस रूखलाई हेरिन् र उनलाई त्यसको फल खाऊँ-खाऊँ लाग्न थाल्यो। त्यस रूखलाई हेरेर उनको आँखा लोभियो। हो, त्यो रूख असाध्यै रहरलाग्दो थियो। त्यसैले उनले त्यसको फल टिपेर खाइन्।+ पछि जब उनका पति उनको साथमा थिए, तब उनले तिनलाई पनि त्यो फल दिइन् र तिनले पनि खाए।+ ७ त्यसपछि दुवैका आँखा खुले र तिनीहरूले आफू नाङ्गै रहेछौँ भनेर थाह पाए। त्यसैले तिनीहरूले अन्जिरका पातहरू गाँसेर आफ्नो लाज ढाके।+
८ साँझपख मन्द-मन्द हावा चलिरहेको बेला यहोवा परमेश्वर बगैँचामा टहलिरहनुभएको थियो। त्यतिखेर आदम र तिनकी पत्नीले यहोवा परमेश्वरको स्वर सुने र रूखहरूका बीचमा गएर उहाँको नजरबाट लुके। ९ यहोवा परमेश्वरले आदमलाई पटक-पटक “तिमी कहाँ छौ” भनेर बोलाउनुभयो। १० अन्तमा तिनले यसो भने: “मैले बगैँचामा तपाईँको स्वर सुनेको थिएँ तर म तपाईँसामु आउन डराएँ किनकि म नाङ्गै थिएँ। त्यसैले म लुकेँ।” ११ परमेश्वरले सोध्नुभयो: “तिमी नाङ्गै छौ भनेर कसले भन्यो?+ मैले खाँदै नखानू भनेको रूखको फल के तिमीले खायौ?”+ १२ आदमले भने: “तपाईँले दिनुभएको स्त्रीले मलाई त्यस रूखको फल दिई अनि मैले खाएँ।” १३ त्यसपछि यहोवा परमेश्वरले स्त्रीलाई सोध्नुभयो: “तिमीले यो के गऱ्यौ?” स्त्रीले जवाफ दिइन्: “सर्पले मलाई झुक्क्यायो अनि मैले खाएँ।”+
१४ त्यसपछि यहोवा परमेश्वरले सर्पलाई+ यसो भन्नुभयो: “तैँले यसो गरेको हुनाले सबै घरपालुवा जनावर र जङ्गली जनावरमध्ये तँ श्रापित हुनेछस्। तँ पेटको बलले घस्रनेछस् र तैँले जीवनभर माटो खानेछस्। १५ तँ+ र स्त्रीबीच+ अनि तेरो सन्तान+ र स्त्रीको सन्तानबीच+ म दुस्मनी हालिदिनेछु।+ उसले तेरो शिर कुच्याउनेछ+ र तैँले उसको कुर्कुच्चो डस्नेछस्।”+
१६ उहाँले स्त्रीलाई भन्नुभयो: “तिमी दुई जीउकी हुँदा म तिम्रो पीडा असाध्यै बढाइदिनेछु। बच्चा जन्माउने बेला तिमीलाई निकै कष्ट हुनेछ। तिमीले आफ्नो पतिकै तिर्सना गर्नेछ्यौ र उसले तिमीमाथि हैकम जमाउनेछ।”
१७ अनि उहाँले आदमलाई* भन्नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+ १८ भूमिले काँडा र जङ्गली झार उमार्नेछ। अनि तिमीले खेतको उब्जनी खानेछौ। १९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+
२० त्यसपछि आदमले आफ्नी पत्नीको नाम हव्वा* राखे किनकि उनी नै पृथ्वीमा जिउने सबै मानिसकी आमा हुने थिइन्।+ २१ यहोवा परमेश्वरले आदम र तिनकी पत्नीको जीउ ढाक्न छालाको लामा-लामा लुगा बनाइदिनुभयो।+ २२ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “अब मानिस पनि हामीजस्तै असल र खराब छुट्ट्याउन सक्ने भएका छन्।+ तिनले जीवनको रूखको+ फल पनि टिपेर खालान् र सधैँभरि बाँचिरहलान्, . . .।” २३ त्यसकारण जुन भूमिबाट मानिस बनाइएका थिए,+ तिनले त्यसैको खनजोत गरून् भनेर यहोवा परमेश्वरले तिनलाई अदनको बगैँचाबाट+ निकालिदिनुभयो। २४ उहाँले मानिसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो। अनि जीवनको रूख भएतिर कोही पनि जान नपाओस् भनेर परमेश्वरले अदनको बगैँचाको पूर्वतिर करूबहरू*+ र फनफनी घुमिरहने ज्वालामय तरबार राख्नुभयो।
४ आदमले आफ्नी पत्नीसित सम्बन्ध राखे र उनी गर्भवती भइन्।+ कयिनलाई+ जन्माएपछि उनले भनिन्: “यहोवा परमेश्वरको आशिष्ले मैले एउटा छोरा पाएँ।” २ पछि उनले कयिनका भाइ हाबिललाई+ जन्माइन्।
हाबिल गोठालो भए र कयिनचाहिँ किसान। ३ केही समयपछि कयिनले यहोवा परमेश्वरलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही लगे। ४ तर हाबिलले भने आफ्नो बगालबाट पहिले जन्मेका+ केही पाठा लगे र ती पाठाहरू बोसोसमेत यहोवा परमेश्वरलाई चढाए। परमेश्वरले हाबिल र तिनको भेटी स्विकार्नुभयो।+ ५ तर कयिन र तिनको भेटी भने स्विकार्नुभएन। त्यसैले कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए। ६ तब यहोवा परमेश्वरले कयिनलाई भन्नुभयो: “तिमी किन रिसाउँछौ? तिम्रो मुख किन अँध्यारो छ? ७ तिमीले असल काम गऱ्यौ भने के म तिमीलाई स्विकार्दिनँ र? तर तिमीले असल काम गरेनौ भने हेर, तिमीलाई झम्टन पाप ढोकैमा ढुकिबसेको छ। तिमीले त्यसलाई जित्नै पर्छ नत्र त त्यसले तिमीलाई आफ्नो वशमा पार्नेछ।”
८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ ९ पछि यहोवा परमेश्वरले कयिनलाई सोध्नुभयो: “तिम्रो भाइ खोइ?” कयिनले जवाफ दिए: “मलाई के थाह? म त्यसको गोठालो हुँ र?” १० तब परमेश्वरले भन्नुभयो: “तिमीले यो के गऱ्यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+ ११ अब तिमी श्रापित हुनेछौ र यस भूमिबाट खेदिनेछौ, जुन भूमिमा तिमीले आफ्नै हातले आफ्नो भाइको रगत बगायौ।*+ १२ तिमीले भूमिमा खनजोत गर्दा त्यसले आफ्नो उब्जनी दिनेछैन। तिमीले डुलुवा र भगुवा भएर जीवन बिताउनुपर्नेछ।” १३ त्यसपछि कयिनले यहोवा परमेश्वरलाई भने: “तपाईँले मलाई सहनै नसक्ने सजाय दिनुभयो। १४ आज तपाईँले मलाई यस इलाकाबाट निकालिदिनुभयो। तपाईँको नजरबाट म टाढा भएँ। मैले भगुवा र डुलुवा भएर जीवन बिताउनुपर्ने भयो। अनि जसले मलाई भेट्टाउँछ, उसले मलाई अवश्य मार्नेछ।” १५ तब यहोवा परमेश्वरले भन्नुभयो: “त्यसो होइन, जसले कयिनलाई मार्छ, उसले त्यसको सात गुणा सजाय पाउनेछ।”
त्यसैले कयिनलाई फेला पार्ने कसैले पनि उसलाई मार्न नपाओस् भनेर यहोवा परमेश्वरले तिनको लागि एउटा चिन्ह* दिनुभयो। १६ त्यसपछि कयिन यहोवा परमेश्वरको सामनेबाट गए र अदनको बगैँचाको+ पूर्वपट्टि पर्ने भगुवाहरूको देशमा* गएर जीवन बिताउन थाले।
१७ पछि कयिनले आफ्नी पत्नीसित सम्बन्ध राखे+ र उनी गर्भवती भइन् र उनले हनोकलाई जन्माइन्। त्यसपछि कयिनले एउटा सहर बसाले र आफ्नो छोराको नामबाटै त्यस सहरको नाम हनोक राखे। १८ पछि हनोकबाट इराद जन्मिए। अनि इरादबाट महुयाएल, महुयाएलबाट मतुसाएल र मतुसाएलबाट लेमेक जन्मिए।
१९ लेमेकले दुइटी पत्नी ल्याए। जेठीको नाम अदा र कान्छीको नाम जिल्लाह थियो। २० अदाले याबाललाई जन्माइन्। तिनले नै पालमा बस्ने र वस्तुभाउ पाल्ने चलन सुरु गरेका थिए। २१ तिनको भाइको नाम युबाल थियो। तिनले नै वीणा र बाँसुरी बजाउने चलन सुरु गरेका थिए। २२ जिल्लाहले तुबल-कयिनलाई जन्माइन्। तिनी तामा र फलामबाट हरेक किसिमको औजार बनाउँथे। तुबल-कयिनकी बहिनीको नाम नामाह थियो। २३ लेमेकले आफ्ना पत्नीहरू अदा र जिल्लाहको लागि यस्तो कविता रचे:
“हे मेरा पत्नीहरू हो, सुन,
मेरो कुरामा कान थाप,
मलाई घाइते बनाउने मान्छेलाई मैले मारेँ,
ममाथि आइलाग्ने जवान मान्छेलाई मैले पछारेँ।
२४ कयिनलाई मार्नेसित ७ गुणा बदला लिइनेछ+ भने
लेमेकलाई मार्नेसित ७७ गुणा।”
२५ आदमले फेरि आफ्नी पत्नीसित सम्बन्ध राखे र उनले एउटा छोरो जन्माइन्। उनले उसको नाम सेत*+ राखिन् र यसो भनिन्: “कयिनले हाबिललाई माऱ्यो,+ त्यसैले परमेश्वरले मलाई हाबिलको सट्टा अर्को सन्तान दिनुभयो।” २६ सेतको पनि छोरा जन्मियो। तिनले उसको नाम एनोस+ राखे। त्यही समयदेखि मानिसहरूले यहोवा परमेश्वरको नाम पुकार्न थाले।*
५ यो आदमका सन्तानको विवरण हो: परमेश्वरले आदमलाई आफ्नै स्वरूपमा बनाउनुभयो।+ २ उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ उहाँले तिनीहरूलाई जुन दिन सृष्टि गर्नुभयो,+ त्यस दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानिस* भन्नुभयो।
३ आदम १३० वर्षको हुँदा तिनको एउटा छोरा जन्मियो, जो तिनीजस्तै थिए। आदमले उसको नाम सेत+ राखे। ४ सेत जन्मेपछि आदम अरू ८०० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ५ आदम जम्मा ९३० वर्ष बाँचे; त्यसपछि तिनी मरे।+
६ सेत १०५ वर्षको हुँदा तिनका छोरा एनोस+ जन्मिए। ७ एनोस जन्मेपछि सेत अरू ८०७ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ८ सेत जम्मा ९१२ वर्ष बाँचे; त्यसपछि तिनी मरे।
९ एनोस ९० वर्षको हुँदा तिनका छोरा केनान जन्मिए। १० केनान जन्मेपछि एनोस अरू ८१५ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ११ एनोस जम्मा ९०५ वर्ष बाँचे; त्यसपछि तिनी मरे।
१२ केनान ७० वर्षको हुँदा तिनका छोरा महलालेल+ जन्मिए। १३ महलालेल जन्मेपछि केनान अरू ८४० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। १४ केनान जम्मा ९१० वर्ष बाँचे; त्यसपछि तिनी मरे।
१५ महलालेल ६५ वर्षको हुँदा तिनका छोरा यारेद+ जन्मिए। १६ यारेद जन्मेपछि महलालेल अरू ८३० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। १७ महलालेल जम्मा ८९५ वर्ष बाँचे; त्यसपछि तिनी मरे।
१८ यारेद १६२ वर्षको हुँदा तिनका छोरा हनोक+ जन्मिए। १९ हनोक जन्मेपछि यारेद अरू ८०० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। २० यारेद जम्मा ९६२ वर्ष बाँचे; त्यसपछि तिनी मरे।
२१ हनोक ६५ वर्षको हुँदा तिनका छोरा मतुसेलह+ जन्मिए। २२ मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए। २३ हनोक जम्मा ३६५ वर्ष बाँचे। २४ तिनी परमेश्वरले देखाउनुभएको बाटोमा जीवनभर हिँडिरहे।+ त्यसपछि कसैले तिनलाई कहिल्यै देखेन। किनकि परमेश्वरले तिनलाई लैजानुभयो।+
२५ मतुसेलह १८७ वर्षको हुँदा तिनका छोरा लेमेक+ जन्मिए। २६ लेमेक जन्मेपछि मतुसेलह अरू ७८२ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। २७ मतुसेलह जम्मा ९६९ वर्ष बाँचे; त्यसपछि तिनी मरे।
२८ लेमेक १८२ वर्षको हुँदा तिनको एउटा छोरा जन्मियो। २९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।” ३० नुह जन्मेपछि लेमेक अरू ५९५ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ३१ लेमेक जम्मा ७७७ वर्ष बाँचे; त्यसपछि तिनी मरे।
३२ नुह ५०० वर्षको भएपछि तिनका छोराहरू सेम,+ हाम+ र यापेत+ जन्मिए।
६ पृथ्वीमा मानिसहरू बढ्दै गए र तिनीहरूका छोरीहरू पनि जन्मिए। २ परमेश्वरका छोराहरूले*+ मानिसका छोरीहरूतर्फ नजर लगाउन थाले र तिनीहरूलाई उनीहरू बिछट्टै राम्री लाग्यो। त्यसैले तिनीहरूले आफूलाई जो-जो राम्री लाग्यो, उनीहरूलाई आफ्नी पत्नी बनाए। ३ त्यसपछि यहोवा परमेश्वरले यसो भन्नुभयो: “म मानिसलाई सधैँभरि सहेर बस्नेछैनँ+ किनकि तिनीहरू पापी हुन्।* त्यसैले मानिस १२० वर्ष बाँच्नेछ।”+
४ त्यसबेला र त्यसपछि पनि पृथ्वीमा नपिलहरू* थिए। किनकि परमेश्वरका छोराहरूले मानिसका छोरीहरूसित सम्बन्ध राख्न थाले, जसले गर्दा तिनीहरूका छोराहरू जन्मिए। ती छोराहरू नै नपिल कहलाइए; उनीहरू नै उहिलेका बलिया-बलिया र नाम चलेका मानिसहरू थिए।
५ यहोवा परमेश्वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।+ ६ पृथ्वीमा मानिसहरू बनाएकोमा यहोवा परमेश्वरले अफसोस गर्नुभयो* र उहाँ असाध्यै दुःखी हुनुभयो।*+ ७ त्यसैले यहोवा परमेश्वरले यसो भन्नुभयो: “मैले सृष्टि गरेको मानिसलाई म नामेट पार्नेछु। मानिससँगसँगै म घरपालुवा जनावर, घस्रने जीवजन्तु र आकाशमा उड्ने जीवहरू सबैलाई पृथ्वीबाट नामेट पार्नेछु। ती बनाएकोमा मलाई अफसोस लागेको छ।” ८ तर यहोवा परमेश्वरले नुहलाई चाहिँ अनुग्रह देखाउनुभयो।
९ नुहको जीवनको विवरण यही हो:
नुह एक धर्मी पुरुष थिए।+ तिनी आफ्नो जमानाका मानिसहरूभन्दा बिलकुलै फरक थिए; तिनमा खोट लगाउने कुनै ठाउँ थिएन। तिनी साँचो परमेश्वरले देखाउनुभएको बाटोमा हिँड्थे।*+ १० नुहका तीन जना छोरा थिए। तिनीहरूको नाम सेम, हाम र यापेत थियो।+ ११ पृथ्वी साँचो परमेश्वरको नजरमा भ्रष्ट भएको थियो र हिंसाले भरिएको थियो। १२ हो, परमेश्वरले संसारको अवस्था असाध्यै नराम्रो देख्नुभयो+ किनकि सबै मानिस भ्रष्ट भइसकेका थिए।+
१३ त्यसपछि परमेश्वरले नुहलाई यसो भन्नुभयो: “मैले सबैलाई नाश गर्ने निर्णय गरेको छु किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। त्यसैले म मानिस र पृथ्वीलाई नाश गर्नेछु।+ १४ तिमीले असल काठको* जहाज बनाउनू+ अनि त्यसमा कोठा-कोठा बनाउनू। जहाजको भित्रबाहिर अलकत्राले+ लिप्नू। १५ तिमीले जहाज यसरी बनाउनू: त्यसको लम्बाइ ३०० हात,* चौडाइ ५० हात र उचाइ ३० हातको होस्। १६ जहाजमा उज्यालो छिरोस् भनेर छतभन्दा एक हात तल एउटा झ्याल* बनाउनू। जहाजको एकापट्टि ढोका राख्नू।+ पहिलो, दोस्रो र तेस्रो गरी जहाज तीन तलाको बनाउनू।
१७ “जीवनको सास* हुने मानिस र जीवजन्तु सबैलाई नाश गर्न म पृथ्वीमा जलप्रलय+ ल्याउनेछु। पृथ्वीमा भएको सबै थोक नाश हुनेछ।+ १८ तर तिमीसित भने म एउटा करार गर्छु। तिमी, तिम्री पत्नी, तिम्रा छोराहरू र बुहारीहरू जहाजभित्र जानू।+ १९ सबै जीवजन्तुलाई जोगाउन तिमीले तिनीहरूको भाले र पोथी गरी एक-एक जोडी+ जहाजमा लैजानू।+ २० जीवित रहनका लागि जातजातका उड्ने जीवहरूका, जातजातका घरपालुवा जनावरका र जातजातका घस्रने जीवजन्तुका भाले र पोथी गरी एक-एक जोडी तिमीसँग जहाजमा जानेछन्।+ २१ तिमीले आफ्नो लागि र जीवजन्तुको लागि विभिन्न किसिमका खानेकुरा+ पनि जम्मा गरेर जहाजमा लैजानू।”
२२ तब नुहले त्यसै गरे। तिनले परमेश्वरको आज्ञाबमोजिम सबै गरे।+
७ त्यसपछि यहोवा परमेश्वरले नुहलाई भन्नुभयो: “तिमी आफ्नो जहान-परिवारलाई लिएर जहाजभित्र पस किनकि यस पुस्तामा मैले तिमीलाई मात्र धर्मी देखेको छु।+ २ तिमीले शुद्ध पशुको* हरेक जातबाट सात-सात वटा* लैजानू;+ तिनीहरू भाले र पोथी होऊन्। अनि अशुद्ध पशुचाहिँ हरेक जातबाट भालेपोथी गरी दुई वटा मात्र जहाजमा लैजानू। ३ आकाशमा उड्ने जातजातका जीव पनि भालेपोथी गरी सात-सात वटा* लैजानू। यसरी पृथ्वीबाट तिनीहरूका जाति लोप हुन नपाऊन्।+ ४ अबको सात दिनमा म पृथ्वीमा ४० दिन र ४० रातसम्म+ पानी पार्नेछु।+ अनि मैले बनाएका मानिस र जीवजन्तु सबैलाई यस धर्तीबाट नाश गर्नेछु।”+ ५ तब नुहले यहोवा परमेश्वरको आज्ञाबमोजिम सबै गरे।
६ पृथ्वीमा जलप्रलय हुँदा नुह ६०० वर्षका थिए।+ ७ जलप्रलय हुनुभन्दा अघि नै नुह, तिनकी पत्नी, तिनका छोराहरू र बुहारीहरू जहाजभित्र पसे।+ ८ शुद्ध पशु, अशुद्ध पशु, उड्ने जीव र जमिनमा हिँडडुल गर्ने सबै जीवजन्तु+ ९ परमेश्वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै भालेपोथी गरी जोडी-जोडी तिनीकहाँ जहाजमा आए। १० अनि सात दिनपछि पानी पर्न थाल्यो र जलप्रलय सुरु भयो।
११ नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+ १२ अनि पृथ्वीमा ४० दिन र ४० रात मुसलधारे पानी पऱ्यो। १३ त्यही दिन नुह आफ्नी पत्नी, आफ्ना छोराहरू सेम, हाम र यापेत+ अनि आफ्ना तीन बुहारीसित जहाजभित्र पसे।+ १४ जातजातका जङ्गली जनावर, जातजातका घरपालुवा जनावर, जमिनमा घस्रने जातजातका जीवजन्तु, आकाशमा उड्ने जातजातका चराचुरुङ्गी र जातजातका किराफट्याङ्ग्रा पनि जहाजभित्र गए। १५ जीवनको सास हुने हरेक किसिमका जीवजन्तु जोडी-जोडी गरी जहाजभित्र नुहकहाँ गए। १६ परमेश्वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै हरेक किसिमका जीवजन्तु भालेपोथी गरी जहाजभित्र पसे। त्यसपछि यहोवा परमेश्वरले जहाजको ढोका थुनिदिनुभयो।
१७ पृथ्वीमा ४० दिनसम्म पानी परिरह्यो। पानी बढ्दै गएपछि जहाज जमिनबाट निकै माथि पानीमा तैरिन थाल्यो। १८ पानी झन्झनै बढेर पृथ्वी भरिन थाल्यो तर जहाज भने पानीमाथि तैरिरह्यो। १९ पृथ्वीमा भएका अग्ला-अग्ला पर्वतसमेत चुर्लुम्मै डुब्नेगरि पृथ्वी पानीले भरियो।+ २० पानी पर्वतहरूभन्दा १५ हात* माथिसम्म पुग्यो।
२१ यसरी पृथ्वीमा भएका सबै जीवजन्तु—उड्ने जीव, घरपालुवा जनावर, जङ्गली जनावर र हुल बाँधेर हिँड्ने हरकिसिमका जीव अनि सबै मानिस+ नाश भए।+ २२ जमिनमा भएका जीवनको सास हुनेजति सबै मरे।+ २३ यसरी परमेश्वरले पृथ्वीमा भएका सबै जीवजीवात नाश गर्नुभयो। मानिस, जनावर, घस्रने जीवजन्तु, आकाशमा उड्ने जीव सबै पृथ्वीबाट मासिए।+ नुह र तिनीसँग जहाजभित्र हुनेहरू मात्र बाँचे।+ २४ पृथ्वी १५० दिनसम्म जलमग्न भयो।+
८ परमेश्वरले नुहलाई अनि जहाजमा तिनीसित भएका घरपालुवा जनावर र जङ्गली जनावर सबैलाई सम्झनुभयो।+ त्यसपछि उहाँले पृथ्वीमा जोडसित बतास चलाउनुभयो। अनि पानी घट्न थाल्यो। २ आकाशका पानीका मूलहरू र बाँधहरू बन्द गरिए अनि पानी पर्न रोकियो।+ ३ पृथ्वीमा पानी घट्दै जान थाल्यो। एक सय पचास दिनपछि त पानी निकै घटिसकेको थियो। ४ सातौँ महिनाको १७ औँ दिनमा जहाज अरारात डाँडामा अडियो। ५ दसौँ महिनासम्म पानी लगातार घट्दै गयो। अनि १० औँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले।+
६ त्यसको ४० दिनपछि नुहले जहाजको झ्याल+ खोले। ७ अनि तिनले एउटा कागलाई बाहिर उडाए। पृथ्वीमा पानी नसुकुन्जेल त्यो काग जहाजमा आउनेजाने गरिरह्यो।
८ त्यसपछि जमिनमा पानी घट्यो कि घटेन भनेर बुझ्न नुहले एउटा ढुकुरलाई बाहिर उडाए। ९ जमिनमाथि अझै पनि चारैतिर पानी थियो। त्यसैले खुट्टा टेक्ने ठाउँ कतै नपाएकोले त्यो ढुकुर नुहकहाँ फर्क्यो+ र तिनले हात पसारेर त्यसलाई जहाजभित्र ल्याए। १० तिनले अझै सात दिन पर्खे र फेरि त्यस ढुकुरलाई बाहिर उडाए। ११ साँझतिर ढुकुर जहाजमा फर्क्यो। त्यसको चुच्चोमा भर्खरै टिपेको जैतुनको पात थियो। तब नुहले पृथ्वीमा पानी घटेछ भनेर थाह पाए।+ १२ तिनले अर्को सात दिन पर्खे र त्यस ढुकुरलाई फेरि उडाए। तर यसपालि भने त्यो फर्केन।
१३ नुहको जीवनकालको ६०१ औँ वर्षको+ पहिलो महिनाको पहिलो दिनसम्ममा पानी निकै घटिसकेको थियो। नुहले जहाजको छत उघारेर हेरे अनि जमिन सुक्खा हुन थालेको देखे। १४ दोस्रो महिनाको २७ औँ दिनमा जमिन पूरै सुक्खा भयो।
१५ तब परमेश्वरले नुहलाई यसो भन्नुभयो: १६ “तिमी, तिम्री पत्नी, तिम्रा छोराहरू र बुहारीहरू जहाजबाट बाहिर निस्क।+ १७ सबै जीवजन्तुलाई—जातजातका उड्ने जीव, जातजातका जनावर र जमिनमा घस्रने जातजातका जीवजन्तु सबैलाई तिमीसँगै बाहिर ल्याऊ।+ ती सबै जीवजन्तु फलून्-फुलून् अनि पृथ्वीमा भरिँदै जाऊन्।”+
१८ तब नुह, तिनकी पत्नी, तिनका छोराहरू+ र बुहारीहरू जहाजबाट बाहिर निस्के। १९ अनि सबै जीवजन्तु, सबै घस्रने जीवजन्तु, सबै उड्ने जीव अनि जमिनमा हिँडडुल गर्ने सबै जीवजन्तु आ-आफ्नो समूहअनुसार बाहिर निस्के।+ २० त्यसपछि नुहले यहोवा परमेश्वरको निम्ति वेदी बनाए।+ अनि शुद्ध जनावर र शुद्ध चराचुरुङ्गीमध्ये केहीलाई+ लिएर अग्निभेटी* चढाए।+ २१ यहोवा परमेश्वरले त्यसको मीठो बास्ना लिनुभयो र खुसी हुनुभयो। त्यसपछि यहोवा परमेश्वरले मनमनै यसो भन्नुभयो: “अब म मानिसको कारण पृथ्वीलाई कहिल्यै सराप दिनेछैनँ।+ किनकि मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ।+ म सबै जीवजन्तुलाई फेरि कहिल्यै यसरी नाश गर्नेछैनँ।+ २२ अबदेखि पृथ्वीमा बिउ छर्ने समय र बाली काट्ने समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु अनि दिन र रात चलिरहनेछ।”+
९ परमेश्वरले नुह र तिनका छोराहरूलाई यस्तो आशिष् दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ।+ २ पृथ्वीका सबै जीवजन्तु, आकाशका सबै चराचुरुङ्गी, समुद्रका सबै माछा र जमिनमा चलहल गर्ने सबै जनावरले तिमीहरूको डर मान्नेछन्। मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएको छु।*+ ३ तिमीहरूले सबै किसिमका जीवजन्तु खान सक्छौ।+ मैले तिमीहरूलाई सागपात खान दिएझैँ जीवजन्तु पनि दिन्छु।+ ४ तर तिमीहरूले मासुसित रगतचाहिँ नखानू+ किनभने रगत नै जीवन हो।+ ५ यदि कसैले तिमीहरूको रगत* बगायो भने म त्यसको लेखा लिनेछु। यदि कुनै जनावरले तिमीहरूको ज्यान लियो भने त्यस जनावरलाई मारिनेछ। यदि कुनै मानिसले अर्को मानिसको ज्यान लियो भने म त्यसको लेखा लिनेछु।+ ६ जसले कुनै मानिसको ज्यान लिन्छ, ऊ पनि मानिसकै हातबाट मारिनेछ+ किनभने मैले मानिसलाई आफ्नै स्वरूपमा बनाएको छु।+ ७ तिमीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। तिमीहरूका सन्तानले पृथ्वी ढाकून्।”+
८ फेरि परमेश्वरले नुह र तिनका छोराहरूलाई भन्नुभयो: ९ “अब म तिमीहरू र तिमीहरूका सन्तानसित एउटा करार* गर्छु।+ १० तिमीहरूसँग भएका सबै जीवजन्तुसित पनि म यो करार गर्छु; चराचुरुङ्गी, जनावर र पृथ्वीका सबै जीवजन्तुसित, जो तिमीहरूसँगै जहाजबाट बाहिर निस्केर आएका छन्। म पृथ्वीको हरेक जीवजीवातसित यो करार गर्छु।+ ११ हो, म तिमीहरूसित यो करार गर्छु: ‘म जलप्रलय ल्याएर सबै मानिसजाति अनि जीवजन्तुलाई फेरि कहिल्यै नाश गर्नेछैनँ र पृथ्वी नाश गर्न फेरि कहिल्यै जलप्रलय ल्याउनेछैनँ।’”+
१२ अनि परमेश्वरले अझै यसो भन्नुभयो: “मैले तिमीहरू र तिमीहरूसँग भएका सबै जीवजन्तुसित जुन करार गरेको छु, त्यो पुस्तौँसम्मको लागि हुनेछ। त्यस करारको चिन्ह यो हुनेछ: १३ म बादलमा इन्द्रेनी राख्नेछु। यही नै मैले तिमीहरू र तिमीहरूसित गरेको करारको चिन्ह हुनेछ। १४ जब म आकाशमा बादल फैलाउनेछु, तब त्यहाँ इन्द्रेनी अवश्य देखा पर्नेछ। १५ त्यतिबेला म तिमीहरू र जातजातका जीवजन्तुसित गरेको करार सम्झनेछु। अनि मानिसजाति र जीवजन्तु सबैलाई म कहिल्यै पानीले नाश गर्नेछैनँ।+ १६ मेरो यो करार म कहिल्यै बिर्सनेछैनँ। जब-जब आकाशमा इन्द्रेनी देखा पर्नेछ, तब-तब पृथ्वीका मानिस अनि जातजातका जीवजन्तु सबैसित गरेको यो करार म अवश्य सम्झनेछु।”
१७ परमेश्वरले नुहलाई फेरि यसो भन्नुभयो: “मैले तिमीहरू र तिमीहरूसँग भएका सबै जीवजन्तुसित गरेको करारको चिन्ह यही इन्द्रेनी हुनेछ।”+
१८ जहाजबाट बाहिर निस्केका नुहका छोराहरू सेम, हाम र यापेत हुन्।+ पछि हामका छोरा कनान जन्मिए।+ १९ नुहका यी तीन जना छोराबाटै पृथ्वीभरि मानिसहरू फैलिए।+
२० नुहले खेतीपाती गर्न थाले र तिनले अङ्गुरको बगान पनि लगाए। २१ एक दिन तिनी मद्य पिएर मात्तिए र पालभित्र सबै लुगा फुकालेर सुते। २२ कनानका बुबा हामले आफ्नो बुबा नुहलाई नाङ्गै देखे र बाहिर गएर आफ्ना दाइहरूलाई बताए। २३ तब सेम र यापेतले एउटा कपडा लिएर आफ्नो काँधमा हाले। तिनीहरू आफ्नो बुबातिर ढाड फर्काएर उल्टो पाइला चाल्दै बुबा भएतिर गए। अनि आफ्नो बुबालाई त्यो कपडा ओढाइदिए। तिनीहरूले आफ्नो अनुहार फर्काएको हुनाले आफ्नो बुबाको नग्नता देखेनन्।
२४ जब नुहलाई मातले छोड्यो, तब तिनले आफ्नो कान्छो छोराले गरेको कुरा थाह पाए। २५ अनि तिनले भने:
“कनान श्रापित होस्।+
त्यो आफ्ना दाइहरूको दास* बनोस्।”+
२६ तिनले यसो पनि भने:
“सेमका परमेश्वर यहोवाको प्रशंसा होस्,
कनान सेमको दास बनोस्।+
२७ परमेश्वरले यापेतलाई ठूलो भूभाग देऊन्,
यापेत सेमको पालमा बसोस्।
अनि कनान यापेतको पनि दास बनोस्।”
२८ जलप्रलयपछि नुह अरू ३५० वर्ष बाँचे।+ २९ तिनी जम्मा ९५० वर्ष बाँचे; त्यसपछि तिनी मरे।
१० नुहका छोराहरू सेम,+ हाम र यापेतको वंशावली यही हो:
जलप्रलयपछि मात्र तिनीहरूका छोराहरू जन्मिए।+ २ यापेतका छोराहरू गोमेर,+ मागोग,+ मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए।
३ गोमेरका छोराहरू अस्कनज,+ रिपथ र तोगार्मा+ थिए।
४ याबानका छोराहरू एलिसाह,+ तर्सिस,+ कित्तिम+ र दोदानिम थिए।
५ यिनीहरूबाटै टापुहरूमा बसोबास गर्ने मानिसहरू निस्के। यिनीहरू आ-आफ्नो परिवार, भाषा र जातिअनुसार विभिन्न टापुमा बसे।
६ हामका छोराहरू कुस, मिज्रेम,*+ पत+ र कनान+ थिए।
७ कुसका छोराहरू सिबा,+ हविलाह, साब्ता, रामाह+ र साब्तका थिए।
रामाहका छोराहरू सेबा र ददान थिए।
८ कुसबाट निम्रोद पनि जन्मिए। निम्रोद नै पृथ्वीका पहिलो पराक्रमी पुरुष थिए। ९ निम्रोद यहोवा परमेश्वरको विरोध गर्ने एक शक्तिशाली सिकारी भए। यसले गर्दा कसै-कसैलाई निम्रोदसँग तुलना गर्दै यसो भन्ने गरिन्छ: “ऊ यहोवा परमेश्वरको विरोध गर्ने शक्तिशाली सिकारी निम्रोदजस्तै छ।” १० निम्रोदले आफ्नो शासनकालको सुरुमा बसालेका सहरहरू बाबेल,*+ एरेक,+ अक्कद र काल्नेह थिए। यी सहरहरू सिनारको+ इलाकामा पर्थे। ११ त्यहाँबाट निम्रोद अस्सेरिया+ गए अनि निनवे,+ रेहोबोथ-इर, कालह १२ र रेसेन नाम गरेका सहरहरू बसाले। यी सबै सहर निनवे र कालहको बीचमा पर्छन्। यो एउटा विशाल सहर हो।*
१३ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए।
१५ कनानका जेठा छोरा सिदोन+ थिए। तिनका अर्का छोरा हेत+ थिए। १६ कनान नै यबुसीहरू,+ एमोरीहरू,+ गिर्गासीहरू, १७ हिव्वीहरू,+ अरकीहरू, सिनीहरू, १८ अर्वादीहरू,+ जेमारीहरू र हमाथीहरूका+ पुर्खा थिए। पछि कनानका सन्तान जताततै छरिए। १९ कनानीहरूको इलाका सिदोनदेखि गाजानजिकै+ पर्ने गेरारसम्म+ अनि लासानजिकै पर्ने सदोम, गमोरा,+ अदमाह र जेबोयिमसम्म+ फैलिएको थियो। २० हामका सन्तान यिनीहरू नै थिए। परिवार, भाषा, जाति र इलाकाअनुसार हामका सन्तानको विवरण यही हो।
२१ सेमका पनि छोराछोरी जन्मिए। तिनका जेठा दाइ यापेत थिए।* सेम एबेरका+ सबै सन्तानको पुर्खा थिए। २२ सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद,+ लुद र अराम+ थिए।
२३ अरामका छोराहरू उज, हुल, गेथेर र मस थिए।
२४ अर्पक्षदबाट सेलह+ जन्मिए र सेलहबाट एबेर जन्मिए।
२५ एबेरका दुई छोरा भए। एउटाको नाम पेलेग*+ थियो। किनकि तिनकै समयमा मानिसहरू यताउता छरिएका थिए।* अर्को छोराको नामचाहिँ योक्तान+ थियो।
२६ योक्तानबाट अल्मोदाद, सेलेप, हासरमाबेथ, यरह,+ २७ हादोराम, उजाल, दिक्ला, २८ ओबाल, अबिमायल, सेबा, २९ ओपिर,+ हविलाह र योबाब जन्मिए। यिनीहरू सबै योक्तानका सन्तान थिए।
३० तिनीहरू बसोबास गर्ने इलाका मेसादेखि पूर्वको पहाडी इलाका सेफरसम्म फैलिएको थियो।
३१ सेमका सन्तान यिनीहरू नै थिए। परिवार, भाषा, जाति र इलाकाअनुसार सेमका सन्तानको विवरण यही हो।+
३२ घराना र जातिअनुसार नुहका सन्तानको विवरण यही हो। यसरी जलप्रलयपछि नुहका छोराहरूबाट निस्केका विभिन्न जाति पृथ्वीभरि फैलिँदै गए।+
११ त्यतिबेला पृथ्वीका सबै मानिसको भाषा एउटै थियो र तिनीहरूको बोली* पनि एकै खालको थियो। २ मानिसहरू पूर्वतिर यात्रा गर्दै जाँदा सिनार+ भन्ने ठाउँमा तिनीहरूले एउटा मैदान फेला पारे। अनि तिनीहरू त्यहीँ बसोबास गर्न थाले। ३ त्यसपछि तिनीहरूले आपसमा यसो भने: “आओ, हामी इँटा बनाऔँ र पोलौँ।” अनि तिनीहरूले ढुङ्गाको सट्टा इँटा र मसलाको रूपमा बिटुमिन* प्रयोग गरे। ४ तिनीहरूले भने: “आओ, हामी एउटा सहर बनाऔँ। स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाऔँ। त्यसो गऱ्यौँ भने हामीले ठूलो नाम कमाउनेछौँ र हामी पृथ्वीमा यताउता छरिएर बस्नुपर्ने पनि छैन।”+
५ तब मानिसहरूले सहर अनि धरहरा बनाउन थालेको यहोवा परमेश्वरले नियालेर हेर्नुभयो।* ६ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “हेर, यी मानिसहरूको भाषा एउटै भएकोले+ तिनीहरू एकजुट भएका छन्। तिनीहरू आफूले चाहेजस्तो जे पनि गर्न सक्छन्। ७ आओ, हामी+ तल गएर मानिसहरूको भाषा खलबल पारिदिऔँ अनि तिनीहरूले एकअर्काको भाषा नबुझून्।” ८ त्यसपछि यहोवा परमेश्वरले तिनीहरूलाई त्यहाँबाट पृथ्वीभरि तितरबितर पारिदिनुभयो+ र तिनीहरूले सहर बनाउने काम अधुरै छोडे। ९ त्यसैले त्यस सहरको नाम बाबेल*+ राखियो किनभने यहोवा परमेश्वरले त्यहीँ नै मानिसहरूको भाषा गोलमाल पारिदिनुभएको थियो र त्यहाँबाटै यहोवा परमेश्वरले तिनीहरूलाई पृथ्वीभरि तितरबितर पारिदिनुभएको थियो।
१० सेमको+ वंशावली यही हो:
जलप्रलय भएको दुई वर्षपछि सेम १०० वर्षको हुँदा तिनका छोरा अर्पक्षद+ जन्मिए। ११ अर्पक्षद जन्मेपछि सेम अझै ५०० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।+
१२ अर्पक्षद ३५ वर्षको हुँदा तिनका छोरा सेलह+ जन्मिए। १३ सेलह जन्मेपछि अर्पक्षद अझै ४०३ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
१४ सेलह ३० वर्षको हुँदा तिनका छोरा एबेर+ जन्मिए। १५ एबेर जन्मेपछि सेलह अझै ४०३ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
१६ एबेर ३४ वर्षको हुँदा तिनका छोरा पेलेग+ जन्मिए। १७ पेलेग जन्मेपछि एबेर अझै ४३० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
१८ पेलेग ३० वर्षको हुँदा तिनका छोरा रउ+ जन्मिए। १९ रउ जन्मेपछि पेलेग अझै २०९ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
२० रउ ३२ वर्षको हुँदा तिनका छोरा सरुग जन्मिए। २१ सरुग जन्मेपछि रउ अझै २०७ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
२२ सरुग ३० वर्षको हुँदा तिनका छोरा नाहोर जन्मिए। २३ नाहोर जन्मेपछि सरुग अझै २०० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
२४ नाहोर २९ वर्षको हुँदा तिनका छोरा तेरह+ जन्मिए। २५ तेरह जन्मेपछि नाहोर अझै ११९ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।
२६ तेरह ७० वर्षको भएपछि तिनका छोराहरू अब्राम,+ नाहोर+ र हारान जन्मिए।
२७ तेरहको वंशावली यही हो:
तेरहका छोराहरू अब्राम, नाहोर र हारान थिए। अनि लुत+ हारानका छोरा थिए। २८ आफ्नो बुबा तेरह जीवितै छँदा हारान मरे। तिनी आफ्नो जन्मभूमि कल्दियालीहरूको+ सहर उरमा+ मरे। २९ अब्रामले विवाह गरे अनि नाहोरले पनि विवाह गरे। अब्रामकी पत्नीको नाम साराई+ थियो अनि नाहोरकी पत्नीको नाम मिल्काह+ थियो। मिल्काह हारानकी छोरी थिइन्। हारानकी अर्की छोरी पनि थिइन्। तिनको नाम यिस्काह थियो। ३० साराई बाँझी थिइन्।+ तिनको कुनै सन्तान थिएन।
३१ तेरह आफ्नो छोरा अब्राम, बुहारी साराई र हारानपट्टिका आफ्ना नाति लुतलाई+ लिएर कल्दियालीहरूको सहर उरबाट निस्के र कनानतर्फ+ लागे। तिनीहरू हारान+ पुगेपछि त्यहीँ बसोबास गर्न थाले। ३२ तेरह जम्मा २०५ वर्ष बाँचे र तिनी हारानमा मरे।
१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+ २ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष् दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष् साबित हुनेछौ।+ ३ तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।”*+
४ यहोवा परमेश्वरले भन्नुभएझैँ अब्राम त्यहाँबाट गए। लुत पनि तिनीसँगै गए। हारान छोड्दा अब्राम ७५ वर्षका थिए।+ ५ अब्राम आफ्नी पत्नी साराई,+ भतिजा लुत,+ आफ्नो सबै धनसम्पत्ति+ र हारानमा भएका सबै नोकरचाकर लिएर कनानतर्फ हिँडे।+ तिनीहरू कनान हुँदै ६ सकेमनजिकै+ मोरेका ठूलठूला रूखहरू+ भएको ठाउँनेर पुगे। त्यतिबेला सकेममा कनानीहरू बस्थे। ७ तब यहोवा परमेश्वर अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए। ८ पछि तिनी बेथेलको+ पूर्वतिर पर्ने पहाडी इलाकामा सरे र त्यहाँ पाल टाँगे। त्यहाँबाट पश्चिममा बेथेल र पूर्वमा ऐ+ पर्थ्यो। त्यहाँ तिनले यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए+ र यहोवाको नाम पुकार्न थाले।+ ९ त्यसपछि अब्राम ठाउँठाउँमा पाल टाँगेर आफ्नो यात्रा अघि बढाउँदै नेगेबतिर+ लागे।
१० तब कनानमा अनिकाल पऱ्यो।+ भोकमरी असाध्यै फैलिएपछि अब्राम केही समयका लागि मिश्रमा* बसोबास गर्न गए।+ ११ मिश्र पुग्नै लाग्दा अब्रामले आफ्नी पत्नी साराईलाई भने: “तिमीलाई एउटा कुरा भन्नु छ, कृपया मेरो कुरा सुन। मिश्र पुगेपछि त्यहाँका मानिसहरूले पक्कै तिमीलाई हेर्नेछन् किनभने तिमी असाध्यै राम्री छ्यौ।+ १२ मिश्रीहरूले तिमीलाई मसँगै देखेपछि ‘उनी त यिनकी पत्नी रहेछिन्’ भन्नेछन्। अनि तिनीहरूले मलाई मार्नेछन् र तिमीलाई चाहिँ लैजानेछन्। १३ त्यसैले बिन्ती छ, त्यहाँका मानिसहरूलाई ‘म उहाँकी बहिनी हुँ’ भनिदेऊ। यसो भन्यौ भने ममाथि कुनै खतरा आइपर्नेछैन र मेरो ज्यान बच्नेछ।”+
१४ अब्राम र साराई मिश्र पुग्नेबित्तिकै मिश्रीहरूको नजर साराईमाथि पऱ्यो। मिश्रीहरूलाई साराई असाध्यै राम्री लाग्यो। १५ फारोका* भारदारहरूले पनि उनलाई देखे र फारोको अगाडि उनको रूपको बखान गरे। त्यसैले साराईलाई फारोको महलमा हाजिर गराइयो। १६ साराईको कारण फारोले अब्रामसित राम्रो व्यवहार गरे। अनि अब्रामलाई थुप्रै भेडा, गाईगोरु, गधा, नोकरचाकर अनि उँट दिए।+ १७ फारोले अब्रामकी पत्नी साराईलाई+ आफ्नो महलमा ल्याएको हुनाले यहोवा परमेश्वरले फारो र तिनको घरानामाथि भयानक महामारीहरू ल्याउनुभयो। १८ त्यसैले फारोले अब्रामलाई बोलाएर भने: “तिमीले यो के गऱ्यौ? उनी तिम्री पत्नी हुन् भन्ने कुरा किन लुकायौ? १९ ‘उनी मेरी बहिनी हुन्’+ भनेर मलाई किन ढाँट्यौ? मैले झन्डै उनलाई आफ्नी पत्नी बनाएको थिएँ। तिम्री पत्नी यहीँ छिन्। उनलाई लिएर गइहाल।” २० तब ‘अब्रामलाई यहाँबाट पठाइदेओ’ भनेर फारोले आफ्ना मानिसहरूलाई आदेश दिए। तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै कुरा सँगै लैजान दिए।+
१३ अब्राम आफ्नी पत्नी, आफूसँग भएका सबै थोक र लुतलाई लिएर मिश्रबाट नेगेबतिर+ लागे। २ अब्रामसँग प्रशस्त गाईवस्तु र सुनचाँदी थियो।+ ३ तिनी नेगेबबाट ठाउँठाउँमा आफ्नो पाल सार्दै बेथेलतिर लागे। अन्तमा तिनी बेथेल र ऐको+ बीचमा आइपुगे, जहाँ तिनी पहिले बसेका थिए। ४ त्यहाँ तिनले एउटा वेदी पनि बनाएका थिए। त्यहाँ अब्रामले यहोवा परमेश्वरको नाम पुकारे।
५ अब्रामसँगै यात्रा गरिरहेका लुतका पनि भेडाबाख्रा, गाईवस्तु र पालहरू थिए। ६ त्यसैले अब्राम र लुतलाई ठाउँ पुगेन। तिनीहरूको सरसम्पत्ति बढ्दै गएकोले तिनीहरूलाई एकै ठाउँमा बस्न गाह्रो भयो। ७ त्यसैले अब्रामका गोठालाहरू र लुतका गोठालाहरू बाझ्न थाले। (त्यतिबेला त्यहाँ कनानीहरू र परिज्जीहरू बसोबास गर्थे।)+ ८ तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन। ९ बरु हामी अलग होऔँ। तिमी यो ठाउँको जुनसुकै भाग छान्न सक्छौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” १० त्यसपछि लुतले चारैतिर हेरे। तिनले जोअरसम्मै+ फैलिएको यर्दनको सम्पूर्ण इलाका देखे।+ प्रशस्त पानी भएकोले त्यो इलाका यहोवा परमेश्वरले बनाउनुभएको बगैँचाजस्तै* थियो,+ मिश्रको सुन्दर भूमिजस्तै। (सदोम र गमोरालाई यहोवा परमेश्वरले नाश गर्नुअघि त्यहाँको अवस्था यस्तै थियो।) ११ त्यसपछि लुतले यर्दनको सबै इलाका रोजे र आफ्नो पाल उठाएर तिनी पूर्वतिर लागे। यसरी तिनीहरू अलग भए। १२ अब्राम कनानमै बसिरहे तर लुत भने यर्दन इलाकाका सहरहरूनजिकै बस्न थाले।+ लुतले अन्तमा सदोमनजिकै आफ्नो पाल सारे। १३ सदोमका मानिसहरू दुष्ट थिए र तिनीहरू यहोवा परमेश्वरको नजरमा घोर पाप गर्थे।+
१४ अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५ तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+ १६ अनि तिम्रा सन्तानलाई बालुवाजत्तिकै अनगिन्ती बनाउनेछु। यदि कसैले बालुवा गन्न सक्छ भने तिम्रा सन्तानलाई पनि गन्न सक्छ।+ १७ यो इलाका म तिमीलाई दिँदै छु। त्यसैले जाऊ, त्यसको कुनाकुनासम्म चारैतिर घुम।” १८ तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्वरको लागि वेदी बनाए।+
१४ त्यही समयमा सिनारका+ राजा अमरापेल, एल्लासारका राजा अरयोक, एलामका+ राजा केदोर-लाओमेर+ र गोयिमका राजा तिदालले २ सदोमका+ राजा बेरा, गमोराका+ राजा बिर्सा, अदमाहका राजा सिनाब, जेबोयिमका+ राजा सेमेबेर र जोअर पनि भनिने बेलाका राजासित लडाइँ गरे। ३ तिनीहरू* लडाइँ गर्न सिद्दिम बेँसीमा+ अर्थात् खारा समुद्रमा*+ जम्मा भए।
४ ती पाँच राजाले १२ वर्षसम्म राजा केदोर-लाओमेरको सेवा गरेका थिए तर १३ औँ वर्षमा तिनीहरूले विद्रोह गरे। ५ अनि १४ औँ वर्षमा राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजाहरू आएर अस्तेरोथ-कर्नैममा रेफाईहरूलाई, हाममा जुजीहरूलाई र सावे-किर्यथैममा एमीहरूलाई+ हराए। ६ अनि सेइरको पहाडी इलाकामा बस्ने होरीहरूलाई+ सेइरको पहाडदेखि+ निर्जनभूमिको एल पारानसम्म खेदे र ती होरीहरूलाई त्यहीँ हराए। ७ त्यसपछि तिनीहरू कादेस+ पनि भनिने एन-मिस्पातमा फर्के अनि अमालेकीहरूको+ पूरै इलाका जिते र हजाजोन-तामारमा+ बस्ने एमोरीहरूलाई+ पनि हराए।
८ त्यही बेला सदोमका राजा, गमोराका राजा, अदमाहका राजा, जेबोयिमका राजा र जोअर पनि भनिने बेलाका राजा सिद्दिम बेँसीमा दल-दल बनाएर जम्मा भए। ९ तिनीहरू एलामका राजा केदोर-लाओमेर, गोयिमका राजा तिदाल, सिनारका राजा अमरापेल र एल्लासारका राजा अरयोकसित+ लडाइँ गर्न तयार भए। यसरी चार जना राजासित लड्न पाँच जना राजा जम्मा भए। १० सिद्दिम बेँसीमा जताततै बिटुमिनको* दलदल थियो। त्यसैले सदोम र गमोराका राजाहरू आफ्नो ज्यान बचाउन भाग्न खोज्दा तिनीहरू त्यसमै फसे। अनि बाँकी रहेकाहरूचाहिँ पहाडी इलाकातिर भागे। ११ लडाइँ जित्ने चार जना राजाले सदोम र गमोराका सबै मालसामान र खानेकुरा लुटे।+ १२ तिनीहरूले सदोममा+ बस्ने अब्रामका भतिजा लुतलाई बन्दी बनाएर लगे र उनका मालसामान पनि लुटे।
१३ अनि उम्केर आएका एक जना व्यक्तिले हिब्रू अब्रामलाई सबै कुरा बताइदिए। त्यतिबेला अब्राम मम्रे नामको एमोरी मानिसकहाँ ठूलठूला रूखहरूबीच बसिरहेका* थिए।+ मम्रे, एस्कोल र अनेर दाजुभाइ थिए।+ तिनीहरू र अब्रामले एकआपसमा सन्धि गरेका थिए। १४ आफ्नो भतिजालाई*+ पक्रेर लगेको खबर पाएपछि अब्रामले आफ्नै घरमा जन्मेका ३१८ जना दासलाई जम्मा गरे। तिनीहरू हतियार चलाउन सिपालु थिए। अब्राम तिनीहरूलाई लिएर शत्रुहरूलाई खोज्दै दानसम्मै+ पुगे। १५ राती अब्रामले आफ्ना दासहरूलाई दल-दल गरी छुट्ट्याए र शत्रुहरूमाथि आक्रमण गरेर तिनीहरूलाई हराए। अनि दमिसकको उत्तरतिर पर्ने होबाहसम्म तिनीहरूलाई खेदे। १६ तिनले आफ्ना भतिजा लुत र उनका सरसम्पत्ति छुटाए। तिनले बाँकी सबै मालसामान, स्त्रीहरू र अरू मानिसलाई पनि छुटाए।
१७ अब्रामले राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजालाई हराएर फर्कँदा तिनलाई भेट्न सदोमका राजा सावे बेँसी अर्थात् राजा बेँसीमा+ आए। १८ अनि सालेमका राजा+ मल्किसेदेक,+ जो सर्वोच्च परमेश्वरका पुजारी पनि थिए,+ तिनी रोटी र मद्य लिएर अब्रामलाई भेट्न आए।
१९ त्यसपछि तिनले अब्रामलाई आशिष् दिए र यसो भने:
“स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वरले
अब्रामलाई आशिष् देऊन्;
२० सर्वोच्च परमेश्वरको महिमा होस्,
जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।”
त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+
२१ तब सदोमका राजाले अब्रामलाई भने: “सरसामानजति सबै तपाईँसितै राख्नुहोस् तर मेरा मानिसहरू भने फर्काइदिनुहोस्।” २२ तर अब्रामले सदोमका राजालाई भने: “म आफ्नो हात उचाल्दै स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्वर यहोवाको नाममा यो शपथ खान्छु, २३ म तपाईँको केही पनि लिनेछैनँ, एउटा धागोदेखि जुत्ताको फित्तासम्म लिनेछैनँ। नत्र तपाईँ भन्नुहोला, ‘मैले गर्दा अब्राम धनी भए।’ २४ मेरा मानिसहरूले जे खाएका छन्, त्यसबाहेक म केही लिनेछैनँ। तर मसँगै आएका अनेर, एस्कोल र मम्रेले+ भने आ-आफ्नो भाग लेऊन्।”
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ २ अब्रामले सोधे: “सारा ब्रह्माण्डका मालिक यहोवा, तपाईँ मलाई के इनाम दिनुहुन्छ? किनभने म निस्सन्तान छु र मेरो सबै सम्पत्ति मेरो दासले, हो, दमिसकको एलिएजरले पाउनेछ।”+ ३ अब्रामले अझै भने: “तपाईँले मलाई सन्तान दिनुभएको छैन।+ त्यसैले मेरो घरको दास* नै अब मेरो उत्तराधिकारी हुनेछ।” ४ तब यहोवा परमेश्वरले तिनलाई यो जवाफ दिनुभयो: “त्यो मानिस तिम्रो उत्तराधिकारी हुनेछैन तर तिम्रो आफ्नै छोरा तिम्रो उत्तराधिकारी हुनेछ।”+
५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्ख्य हुनेछन्।”+ ६ अनि अब्रामले यहोवा परमेश्वरमाथि विश्वास गरे।+ त्यसैले परमेश्वरले तिनलाई आफ्नो नजरमा धर्मी* ठहराउनुभयो।+ ७ त्यसपछि परमेश्वरले भन्नुभयो: “म यहोवा हुँ; यो देश तिमीलाई दिन मैले नै तिमीलाई कल्दियालीहरूको सहर उरबाट ल्याएँ।”+ ८ अनि अब्रामले भने: “हे ब्रह्माण्डका मालिक यहोवा, यो देश मेरो हुनेछ भनेर म कसरी थाह पाउन सक्छु?” ९ परमेश्वरले तिनलाई भन्नुभयो: “गाईको तीन वर्षको एउटा कोरली,* बाख्राको तीन वर्षको एउटा पाठी, भेडाको तीन वर्षको एउटा पाठो, एक जोडी ढुकुर र परेवाको एउटा बचेरा लिएर आऊ।” १० अब्रामले ती सबै ल्याएर मारे। अनि जनावरहरूलाई दुई फ्याक पारेर तिनीहरूको एक भाग दायाँतिर र अर्को भाग बायाँतिर लहरै राखे। तिनले ढुकुर र परेवालाई चाहिँ दुई फ्याक पारेनन्। ११ अनि सिनु खाने चराहरू ती जनावरहरूको मासुमाथि झुम्मिन थाले। तर तिनले ती चराहरू धपाइरहे।
१२ घाम अस्ताउनै लाग्दा अब्राम निद्राले लट्ठ परे र भुसुक्कै निदाए। त्यसपछि तिनले भयङ्कर अन्धकार छाएको सपना देखे। १३ अनि परमेश्वरले अब्रामलाई भन्नुभयो: “यो कुरा थाह पाइराख, तिम्रा सन्तान पराई देशमा परदेशी भएर बाँच्नुपर्नेछ। तिनीहरूलाई त्यहाँका मानिसहरूले दास बनाउनेछन्। अनि तिम्रा सन्तानले ४०० वर्षसम्म अत्याचार सहनुपर्नेछ।+ १४ तर तिनीहरूलाई दास बनाउने देशलाई म दण्ड दिनेछु।+ त्यसपछि प्रशस्त धनसम्पत्ति लिएर तिनीहरू त्यहाँबाट निस्कनेछन्।+ १५ तिमीचाहिँ दीर्घायु हुनेछौ अनि चैनसित मर्नेछौ र आफ्ना पुर्खाहरूजस्तै गाडिनेछौ।+ १६ तर चौथो पुस्ताको पालामा तिनीहरू यहाँ फर्कनेछन्+ किनभने त्यतिबेला एमोरीहरूले* आफ्नो कुकर्मको सजाय पाउने समय भइसकेको हुनेछ।”+
१७ घाम अस्ताएपछि चारैतिर निस्पट्ट अन्धकार छायो। अनि धुवाँ निस्कँदै गरेको आगोको मुस्लो देखा पऱ्यो र दुई फ्याक पारेर राखिएका जनावरहरूको बीचबाट एउटा राँको छिऱ्यो। १८ त्यही दिन यहोवा परमेश्वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+ १९ केनी,+ केनाजी, कद्मोनी, २० हित्ती,+ परिज्जी,+ रेफाई,+ २१ एमोरी, कनानी, गिर्गासी र यबुसीहरूको सबै इलाका तिम्रा सन्तानका हुनेछन्।”+
१६ अब्रामकी पत्नी साराईका छोराछोरी थिएनन्।+ तिनकी हागार नाम गरेकी एउटी मिश्री दासी थिइन्।+ २ अनि साराईले अब्रामलाई यस्तो बिन्ती गरिन्: “हेर्नुहोस्, यहोवा परमेश्वरले मेरो कोख बन्द गरिदिनुभएको छ। त्यसैले बिन्ती छ, मेरी दासीकहाँ जानुहोस् र उसले मेरो लागि सन्तान जन्माइदेओस्।”+ अब्रामले साराईको कुरा माने। ३ अब्राम कनानमा बसेको १० वर्ष भइसकेको थियो। साराईले आफ्नी मिश्री दासी हागार अब्रामकी पत्नी हुनलाई दिइन्। ४ अब्राम हागारकहाँ गए र तिनी गर्भवती भइन्। तर आफू गर्भवती भएको कुरा थाह पाएपछि हागारले आफ्नी मालिक्नीलाई हेप्न थालिन्।
५ त्यसपछि साराईले अब्रामलाई भनिन्: “ममाथि जे-जति अन्याय भइरहेको छ, त्यसको दोषी तपाईँ नै हुनुहुन्छ। तपाईँलाई मैले नै आफ्नी दासी दिएकी थिएँ। तर गर्भ बसेको थाह पाएपछि त्यसले मलाई हेप्न थाली। अब यहोवा परमेश्वरले नै तपाईँ र मबीच इन्साफ गरिदेऊन्।” ६ अब्रामले साराईलाई भने: “हेर, तिम्री दासी तिम्रै हातमा छिन्। तिमीलाई जे ठीक लाग्छ, त्यही गर।” त्यसपछि साराईले हागारलाई खसालेर व्यवहार गर्न थालिन् अनि हागार आफ्नी मालिक्नीलाई छोडेर भागिन्।
७ पछि यहोवा परमेश्वरका दूतले हागारलाई निर्जनभूमिको कुवानेर भेट्टाए। त्यो कुवा सुर+ जाने बाटोमा पर्थ्यो। ८ ती दूतले सोधे: “ए साराईकी दासी हागार, तिमी कहाँबाट आयौ अनि कता जाँदै छ्यौ?” हागारले भनिन्: “म मेरी मालिक्नी साराईबाट भाग्दै छु।” ९ अनि यहोवा परमेश्वरका दूतले भने: “जाऊ, आफ्नी मालिक्नीकहाँ फर्क। नम्र भएर उनको अधीनमा बस।” १० त्यसपछि यहोवा परमेश्वरका दूतले भने: “तिम्रा सन्तान कसैले गन्नै नसक्नेगरि धेरै हुनेछन्।”+ ११ यहोवा परमेश्वरका दूतले फेरि भने: “हेर, तिमी गर्भवती छ्यौ। तिमीले छोरा जन्माउनेछ्यौ। तिमीले तिनको नाम इस्माएल* राख्नू। किनभने यहोवा परमेश्वरले तिम्रो वेदनाको पुकार सुन्नुभएको छ। १२ तिम्रो छोरा जङ्गली गधाजस्तै* हुनेछन्। तिनी सबैमाथि जाइलाग्नेछन् अनि अरू सबै मानिस पनि तिनीमाथि जाइलाग्नेछन्। तिनी आफ्ना दाजुभाइको छेउछाउमा बस्नेछन्।”*
१३ त्यसपछि हागारले यहोवा परमेश्वरको नाम पुकारिन्, जसले* तिनीसित कुरा गरिरहनुभएको थियो। तिनले यसो भनिन्: “तपाईँ सबै कुरा देख्ने परमेश्वर हुनुहुन्छ।”+ तिनले फेरि भनिन्: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!” १४ त्यसैले त्यस कुवाको नाम बेर-लहै-रोइ* राखियो। (यो कुवा कादेस र बरेदको बीचमा पर्छ।) १५ पछि हागारले छोरा जन्माइन् अनि अब्रामले तिनको नाम इस्माएल राखे।+ १६ हागारले इस्माएललाई जन्माउँदा अब्राम ८६ वर्षका थिए।
१७ अब्राम ९९ वर्षको हुँदा यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो: “म सर्वशक्तिमान् परमेश्वर हुँ। सधैँ मैले देखाएको बाटोमा हिँड अनि निर्दोष जीवन बिताऊ। २ म तिमीसित करार गर्नेछु+ अनि तिम्रा सन्तानलाई कसैले गन्नै नसक्नेगरि धेरै बनाउनेछु।”+
३ त्यसपछि अब्राम भुईँमा घोप्टो परे। परमेश्वरले तिनलाई अझै भन्नुभयो: ४ “हेर, मैले तिमीसित करार गरेको छु+ र तिमी थुप्रै जातिका पुर्खा हुनेछौ।+ ५ अबदेखि तिम्रो नाम अब्राम* होइन तर अब्राहाम* हुनेछ किनकि म तिमीलाई थुप्रै जातिका पुर्खा बनाउनेछु। ६ तिम्रा सन्तान बढ्दै जानेछन् अनि थुप्रै जाति बन्नेछन्। तिम्रै सन्तानबाट थुप्रै राजा आउनेछन्।+
७ “तिमी र तिम्रा सन्तान-दरसन्तानसित गरेको कहिल्यै नटुट्ने यो करार म पूरा गर्नेछु।+ म तिम्रो र तिम्रा सन्तानको परमेश्वर हुनेछु। ८ तिमी अहिले परदेशी भएर बसिरहेको यो कनान देशको सबै जग्गाजमिन म तिमीलाई र पछि आउने तिम्रा सन्तानलाई दिनेछु।+ यो सधैँभरिका लागि तिनीहरूकै सम्पत्ति हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।”+
९ परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो: “मैले तिमीसित गरेको यो करार तिमी र तिम्रा सन्तानले पुस्तौँपुस्तासम्म कायम राख्नुपर्छ। १० तिमी र मबीच गरिएको यो करार पूरा गर्न तिमी र तिम्रा सन्तानले यसो गर्नुपर्छ: तिमीकहाँ भएका प्रत्येक पुरुषले खतना* गर्नुपर्छ।+ ११ तिमीले पनि खतना गर्नुपर्छ। किनकि यो तिमी र मबीच गरिएको करारको चिन्ह हो।+ १२ तिम्रो घरमा जन्मेको हरेक बालक आठ दिनको भएपछि उसको खतना गर्नुपर्छ।+ विदेशीसित पैसा तिरेर किनिएका सबै दासको पनि खतना गर्नुपर्छ। यो आज्ञा सधैँ पालन गर्नू। १३ तिम्रो घरमा जन्मेका र विदेशीसित पैसा तिरेर किनिएका सबै दासको खतना गर्नुपर्छ।+ अनि तिम्रो शरीरमा भएको यो चिन्ह तिमीसित गरेको चिरस्थायी करारको प्रमाण हुनेछ। १४ यदि कुनै पुरुषले खतना गरेन भने त्यसलाई समुदायबाट हटाइनै पर्छ* किनभने त्यसले मेरो करार भङ्ग गरेको हुन्छ।”
१५ त्यसपछि परमेश्वरले अब्राहामलाई भन्नुभयो: “अबदेखि तिमीले आफ्नी पत्नीलाई साराई*+ भनेर नबोलाउनू किनभने तिनको नाम सारा* हुनेछ। १६ म तिनलाई आशिष् दिनेछु र तिनीबाट तिम्रो एउटा छोरा हुनेछ।+ तिनी थुप्रै जातिकी आमा र थुप्रै राजाकी पुर्खा हुनेछिन्।” १७ यो सुनेर अब्राहाम भुईँमा घोप्टो परे अनि मनमनै यसो भनेर हाँसे:+ “म १०० वर्ष पुगेको बूढोको पनि बच्चा होला र? अनि ९० वर्ष पुगेकी साराले बच्चा जन्माउन सक्लिन् र?”+
१८ अनि अब्राहामले साँचो परमेश्वरलाई भने: “बिन्ती छ, इस्माएललाई आशिष् दिनुहोस्!”+ १९ तर परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्री पत्नी साराले निश्चय एउटा छोरा जन्माउनेछिन् र तिमीले तिनको नाम इसहाक* राख्नू।+ म तिम्रो छोरा अनि तिनका सन्तानसित पनि कहिल्यै नटुट्ने यही करार गर्नेछु।+ २० इस्माएलको लागि तिमीले गरेको बिन्ती मैले सुनेँ। हेर, म उनलाई आशिष् दिनेछु। उनका सन्तान पनि बढ्दै जानेछन् र उनका सन्तान प्रशस्तै हुनेछन्। उनीबाट १२ कुलका नाइकेहरू उत्पन्न हुनेछन् र उनीबाट एउटा ठूलो जाति बन्नेछ।+ २१ तर म इसहाकसित मात्र करार गर्नेछु।+ अर्को वर्ष यसै बेला साराले इसहाकलाई जन्माउनेछिन्।”+
२२ अब्राहामसित कुरा गरिसकेपछि परमेश्वर त्यहाँबाट जानुभयो। २३ त्यसपछि अब्राहामले आफ्नो छोरा इस्माएलको अनि आफ्नो घरमा जन्मेका र पैसा तिरेर किनिएका सबै पुरुषको खतना गरे। यसरी परमेश्वरले भन्नुभएझैँ अब्राहामले आफ्नो घरमा भएका सबै पुरुषको त्यही दिन खतना गरे।+ २४ अब्राहामको खतना गरिँदा तिनी ९९ वर्षका थिए।+ २५ अब्राहामको छोरा इस्माएलको खतना गरिँदा तिनी १३ वर्षका थिए।+ २६ त्यही दिन अब्राहाम र तिनको छोरा इस्माएलको पनि खतना गरियो। २७ अब्राहामको घरमा जन्मेका र पैसा तिरेर विदेशीबाट किनिएका सबै पुरुषको त्यही दिन खतना गरियो।
१८ अब्राहाम मम्रेमा ठूलठूला रूखबीच पाल टाँगेर बसिरहेका थिए।+ एकदिन मध्यदिनको चर्को घाममा तिनी पालको ढोकामा बसिरहेको बेला यहोवा परमेश्वर+ तिनीकहाँ प्रकट हुनुभयो। २ तिनले अलि परतिर तीन जना लोग्नेमान्छे उभिरहेका देखे।+ तिनी ढोकाबाट दगुरेर उनीहरूलाई भेट्न गए अनि भुईँमा घोप्टो परेर उनीहरूलाई ढोगे। ३ त्यसपछि तिनले भने: “हे यहोवा परमेश्वर, तपाईँको निगाह पाएको छु भने कृपा गरी आफ्नो दासकहाँ पाल्नुहोस्। ४ म पानी ल्याएर तपाईँहरूका गोडा धोइदिन्छु;+ त्यसपछि तपाईँहरू रूखमुनि आराम गर्नुहोस्। ५ तपाईँहरू यहाँ आफ्नो दासकहाँ पाल्नुभएको छ। त्यसैले म रोटी पोलेर ल्याउँछु। खानुहोस् र थकाइ मार्नुहोस्; त्यसपछि तपाईँहरू जता जान खोज्नुभएको हो, त्यतै जानुहोला।” तब उनीहरूले भने: “हुन्छ, जाऊ तिमीले भनेझैँ गर।”
६ अब्राहाम पालतिर कुदेर साराकहाँ गए र भने: “लौ! झट्टै तीन भाँडो* मसिनो पीठो मुछ र रोटी पोल।” ७ त्यसपछि अब्राहाम आफ्नो बथान भएतिर दगुरे र सबैभन्दा राम्रो बहर छाने। तिनले त्यो बाछो आफ्नो चाकरलाई दिए र चाकरले तुरुन्तै काटकुट गरेर पकाए। ८ त्यसपछि तिनले घ्यू, दूध, मासु र रोटी पाहुनालाई टक्य्राए। अनि पाहुनाले खाना खाउन्जेल आफूचाहिँ उनीहरूनजिकै रूखमुनि उभिरहे।+
९ उनीहरूले तिनलाई सोधे: “तिम्री पत्नी सारा+ कहाँ छिन्?” तिनले जवाफ दिए: “यहीँ पालमा छिन्।” १० अनि उनीहरूमध्ये एक जनाले भने: “हेर, अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा तिम्री पत्नी साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”+ सारा त्यस मानिसको पछिल्तिर पालको ढोकामा उभिएर यो कुरा सुनिरहेकी थिइन्। ११ अब्राहाम र सारा बूढाबूढी भइसकेका थिए+ र साराको त बच्चा जन्माउने उमेरसमेत कटिसकेको थियो।+ १२ त्यसैले साराले मनमनै हाँस्दै सोचिन्: “म बूढी भइसकेँ अनि मेरा प्रभुको उमेर पनि ढल्किसक्यो। के मैले साँच्चै सन्तानको सुख पाउन सकूँला र?”+ १३ तब यहोवा परमेश्वरले अब्राहामलाई भन्नुभयो: “सारा किन हाँसिन्? ‘म बूढीले पनि साँच्चै बच्चा जन्माउन सकूँला र’ भनेर किन भनिन्? १४ यहोवाको लागि कुनै कुरा असम्भव छ र?+ म अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।” १५ तब साराले यसो भनिन्: “अहँ, म हाँसेकै छैनँ!” किनभने तिनी डराएकी थिइन्। अनि परमेश्वरले भन्नुभयो: “होइन, तिमी हाँसेकै हौ।”
१६ जब ती लोग्नेमान्छेहरू जान तयार भए, उनीहरूले सदोमतिर हेरे।+ अनि उनीहरूलाई अलि परसम्म पुऱ्याउन अब्राहाम पनि सँगै गए। १७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मैले गर्न लागेको कुरा अब्राहामसित किन लुकाउनु?+ १८ आखिर अब्राहामबाटै ठूलो र शक्तिशाली जाति निस्कनेछ र तिनीबाटै पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्।*+ १९ म अब्राहामलाई राम्ररी चिन्छु। म यस कुरामा ढुक्क छु, तिनले जे सही र न्यायोचित छ, त्यही गर्न आफ्ना सन्तान र घरानालाई आज्ञा दिनेछन् अनि तिनले तिनीहरूलाई यहोवाले देखाउनुभएको बाटोमा हिँड्न लगाउनेछन्।+ तब यहोवाले आफ्नो वाचा पूरा गर्नुहुनेछ।”
२० अनि यहोवा परमेश्वरले भन्नुभयो: “सदोम र गमोराविरुद्ध गरिएको ठूलो गुनासो मेरो कानसम्मै पुगेको छ।+ तिनीहरूले घोर कुकर्म गरेका छन्।+ २१ अब म तल ओर्लन्छु अनि मैले सुनेको तिनीहरूको गुनासो सही हो कि होइन, म आफै पक्का गर्छु।”+
२२ त्यसपछि दुई जना लोग्नेमान्छे सदोमतिर ओर्ले तर यहोवा परमेश्वर+ भने अब्राहामसित रहनुभयो। २३ अनि अब्राहामले अघि सरेर उहाँलाई सोधे: “के तपाईँ धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्छ?+ २४ यदि त्यस सहरमा ५० जना धर्मी मानिस रहेछन् भने तपाईँ के गर्नुहुन्छ? के तिनीहरूलाई पनि अरू मानिससँगै नाश गर्नुहुन्छ? ती ५० जना धर्मी मानिसलाई बचाउन के तपाईँ त्यस सहरलाई छोडिदिनुहुन्न? २५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+ २६ तब यहोवा परमेश्वरले भन्नुभयो: “यदि सदोममा ५० जना मात्र धर्मी मानिस फेला पारेँ भने पनि तिनीहरूलाई बचाउन म त्यस सहरलाई नाश गर्दिनँ।” २७ तर अब्राहामले फेरि भने: “बिन्ती छ यहोवा परमेश्वर, म माटो र खरानी मात्र हुँ। तैपनि अझै एउटा कुरा सोध्ने आँट गर्दै छु। २८ यदि त्यहाँ ४५ जना मात्र धर्मी मानिस रहेछन् भने नि?” तब उहाँले भन्नुभयो: “त्यहाँ ४५ जना मात्र भेट्टाएँ भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।”+
२९ तर तिनले अझै उहाँलाई सोधे: “त्यहाँ ४० जना रहेछन् भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ ४० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।” ३० तर तिनले अझै भने: “यहोवा परमेश्वर रिसानी माफ होस्।+ म अझै केही भन्न चाहन्छु: त्यहाँ ३० जना मात्र भेट्टिए भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ ३० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।” ३१ तर तिनले फेरि भने: “म यहोवा परमेश्वरसित अझै प्रश्न गर्ने आँट गर्दै छु: २० जना मात्र रहेछन् भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ २० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।” ३२ अनि तिनले भने: “यहोवा परमेश्वर रिसानी माफ होस्। यही अन्तिम पटक सोध्छु: १० जना मात्र रहेछन् भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ १० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।” ३३ अब्राहामसित कुरा गरिसकेपछि यहोवा परमेश्वर जानुभयो+ र अब्राहाम पनि आफ्नो पालमा फर्के।
१९ साँझतिर दुई स्वर्गदूत सदोममा आइपुगे। लुत सहरको ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेपछि लुत भेट्न गए र भुईँसम्मै घोप्टो परेर उनीहरूलाई ढोगे।+ २ अनि लुतले यस्तो बिन्ती गरे: “हे मेरा प्रभु, आफ्नो दासको घरमा पाल्नुहोस् र आज राती यहीँ बास बस्नुहोस्; हामी तपाईँहरूका गोडा धोइदिन्छौँ। अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोला।” तर उनीहरूले भने: “होइन, हामी यहीँ चोकमा रात काट्छौँ।” ३ तर लुतले ज्यादै कर गरे। त्यसैले उनीहरू लुतको घर गए। लुतले उनीहरूको लागि भोज तयार पारे र खमिर* नहालेको रोटी पनि पकाए। अनि उनीहरूले खाए।
४ उनीहरू सुत्नुअघि सदोमका जवानदेखि बूढा, सबै लोग्नेमान्छे हुल बाँधेर आए र लुतको घर घेरे। ५ तिनीहरूले ठूलठूलो स्वरमा लुतलाई बोलाउँदै यसो भने: “आज बेलुकी तेरो घरमा आएका मानिसहरू खोइ? उनीहरूलाई बाहिर निकाल्, हामी उनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”+
६ सदोमका ती मानिसहरूलाई भेट्न लुत घरबाहिर निस्के र ढोका लगाए। ७ तिनले भने: “हे मेरा दाजुभाइ हो, यस्तो दुष्ट काम नगर्नुहोस्! ८ मेरा दुई कुमारी छोरी छन्। म तिनीहरूलाई तपाईँहरूसामु ल्याउँछु। तपाईँहरूलाई जस्तो उचित लाग्छ, तिनीहरूलाई त्यस्तै गर्नुहोस्। तर यी मानिसहरूलाई केही नगर्नुहोस् किनकि उनीहरू मकहाँ बास बस्न* आएका छन्।”+ ९ तब ती मानिसहरूले भने: “पछि हट्!” तिनीहरूले अझै यसो भने: “यो विदेशी भएर हामीलाई नै सिकाउन खोज्दो रहेछ! अब तेरो हालत उनीहरूको भन्दा खराब बनाइदिनेछौँ।” त्यसपछि तिनीहरूले लुतलाई पेल्न थाले र ढोका फोर्न अघि बढे। १० तर लुतका पाहुनाहरूले हात पसारेर लुतलाई भित्र ताने र ढोका थुने। ११ अनि ढोकाबाहिर जम्मा भएका सानादेखि ठूला सबैलाई उनीहरूले अन्धा बनाइदिए। तैपनि छामछाम छुमछुम गर्दै तिनीहरूले ढोका खोज्न थाले र भेट्टाउन नसक्दा थाकेर हैरान भए।
१२ त्यसपछि ती पाहुनाहरूले लुतलाई भने: “यहाँ तिम्रो आफ्ना मान्छे अरू पनि छन् कि? तिम्रा ज्वाइँहरू, छोराहरू, छोरीहरू र सहरमा भएका सबै नातेदारलाई लिएर यहाँबाट हिँडिहाल! १३ हामी यस सहरलाई नाश गर्नेछौँ। किनभने मानिसहरूको ठूलो गुनासो यहोवा परमेश्वरको कानसम्मै पुगेको छ।+ त्यसैले यहोवा परमेश्वरले हामीलाई यो सहर नाश गर्न पठाउनुभएको हो।” १४ अनि लुत आफ्ना हुनेवाला ज्वाइँहरूकहाँ गए र तिनीहरूलाई यो कुरा बताए। लुतले तिनीहरूलाई यसो भन्दै कर गरे: “उठ! यस सहरबाट झट्टै निस्किहाल! यहोवा परमेश्वरले यो सहर नाश गर्नुहुनेछ!” तर तिनीहरूलाई लुतले ठट्टा गरिरहेको जस्तो लाग्यो।+
१५ झिसमिसे उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लुतलाई हतार गर्न लगाए र भने: “छिटो गर! तिम्री पत्नी र यी दुई छोरीलाई लिएर निस्किहाल! नत्र यस सहरसँगसँगै तिमीहरू पनि नाश हुनेछौ!”+ १६ तर लुतले आलेटाले गरिरहे। यहोवा परमेश्वरले लुतमाथि दया देखाउनुभएकोले+ ती मानिसहरूले लुत, तिनकी पत्नी र तिनका छोरीहरूको हातै समातेर सहरबाहिर पुऱ्याए।+ १७ तिनीहरूलाई सहरबाहिर पुऱ्याउनेबित्तिकै ती स्वर्गदूतहरूमध्ये एकले भने: “ल, आफ्नो ज्यान जोगाउन यहाँबाट तुरुन्तै भागिहाल! तिमीहरूले पछाडि फर्केर नहेर्नू,+ तिमीहरू कतै पनि नरोकिनू!+ पहाडी इलाकातिर भाग्नू नत्र तिमीहरू मर्नेछौ!”
१८ तब लुतले भने: “हे यहोवा, बिन्ती छ! मलाई त्यतातिर नपठाउनुहोस्। १९ हेर्नुहोस्, यो दासले तपाईँको निगाह पाएको छ र मेरो ज्यान जोगाएर तपाईँले ममाथि अपार दया* देखाउनुभएको छ।+ तर म पहाडी इलाकातिर भाग्न सक्दिनँ। किनभने त्यहाँ पुग्नुअघि नै ममाथि केही अनिष्ट होला र मेरो ज्यान जाला भनेर मलाई डर लागिरहेको छ।+ २० बरु त्यहाँ नजिकै एउटा सानो सहर छ, म त्यहाँसम्म चाहिँ पुग्न सक्छु। बिन्ती! मलाई त्यहीँ जान दिनुहोस्। त्यहाँ जान पाएँ भने मेरो ज्यान जोगिन्छ।” २१ त्यसैले उनले भने: “ठीक छ, मैले तिम्रो बिन्ती सुनेँ।+ त्यस सहरलाई म नाश गर्दिनँ।+ २२ छिटो गर! भागेर त्यहीँ जाऊ। तिमी त्यहाँ नपुगुन्जेल म केही पनि गर्न सक्दिनँ।”+ त्यसैले त्यस सहरको नाम जोअर* राखियो।+
२३ लुत जोअर पुग्दा घाम उदाइसकेको थियो। २४ त्यसपछि यहोवा परमेश्वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+ २५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+ २६ लुतको पछिपछि आइरहेकी तिनकी पत्नीले पछाडि फर्केर हेर्न थालिन् र तिनी नुनको खम्बा भइन्।+
२७ अब्राहाम बिहान सबेरै उठे र यहोवा परमेश्वरले तिनीसँग कुरा गर्नुभएको ठाउँमा गए।+ २८ तिनले सदोम र गमोरा अनि यर्दनको चारैतिर हेर्दा डरलाग्दो दृश्य देखे। त्यहाँबाट धुवाँको मुस्लो आइरहेको थियो, आगोको भट्टीबाट निस्केको धुवाँको बाक्लो मुस्लोजस्तै।+ २९ यर्दनको इलाकामा पर्ने सहरहरू नाश गर्दा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। त्यसैकारण लुत बसिरहेको सहरलाई नाश गर्नुअघि उहाँले लुतलाई त्यहाँबाट बाहिर लैजानुभयो।+
३० जोअरमा+ बस्न डर लागेकोले पछि लुत आफ्ना दुई छोरीसँगै त्यहाँबाट मास्तिर लागे र पहाडी इलाकामा बसे।+ तिनी आफ्ना दुई छोरीसँगै गुफामा बस्न थाले। ३१ एकदिन जेठीचाहिँले कान्छीलाई भनिन्: “हाम्रो बुबा वृद्ध भइसक्नुभयो। संसारको रीतअनुसारै हामीसँग बिहे गर्न यस ठाउँमा अरू कोही पनि लोग्नेमान्छे छैन। ३२ आऊ, हामी बुबालाई मद्य खुवाऔँ अनि बुबाको वंश जोगाउन उहाँसँग सुतौँ।”
३३ त्यसैले त्यो रात तिनीहरूले आफ्नो बुबालाई टन्नै मद्य खुवाए। अनि जेठीचाहिँ बुबासँग सुतिन्। लुतलाई आफ्नी छोरी कहिले आफूसित सुत्न आइन् र कहिले उठेर गइन्, पत्तै भएन। ३४ भोलिपल्ट जेठीले आफ्नी बहिनीलाई भनिन्: “हेर, हिजो राती म बुबासँग सुतेँ। आज पनि बुबालाई मद्य खुवाऔँ। आजचाहिँ तिमी बुबासँग सुत र बुबाको वंश जोगाऔँ।” ३५ त्यसैले त्यो रात पनि तिनीहरूले आफ्नो बुबालाई टन्नै मद्य खुवाए। अनि कान्छीचाहिँ बुबासँग सुतिन्। लुतलाई आफ्नी छोरी कहिले आफूसित सुत्न आइन् र कहिले उठेर गइन्, पत्तै भएन। ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन् र तिनको नाम मोआब+ राखिन्। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्।+ ३८ कान्छीले पनि एउटा छोरो जन्माइन् र तिनको नाम बेन-अमि राखिन्। तिनी नै अहिलेका अम्मोनीहरूका+ पुर्खा हुन्।
२० तब अब्राहाम आफ्नो पाल उठाएर+ नेगेबतिर गए र कादेस+ र सुरको+ बीचमा बसोबास गर्न थाले।* गेरारमा+ प्रवासी जीवन बिताउँदा २ अब्राहामले आफ्नी पत्नी साराबारे फेरि पनि यसो भने: “तिनी मेरी बहिनी हुन्।”+ त्यसैले गेरारका राजा अबिमेलेकले* सारालाई लिन पठाए।+ ३ परमेश्वरले अबिमेलेकलाई राती सपनामा भन्नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्।”+ ४ तर अबिमेलेकले सारालाई छोएका समेत थिएनन्।* त्यसैले तिनले भने: “हे यहोवा, के तपाईँ निर्दोष* जातिलाई नाश गर्नुहुन्छ? ५ ‘उनी मेरी बहिनी हुन्’ भनेर के अब्राहामले भनेका थिएनन् र? अनि ती स्त्रीले पनि ‘तिनी मेरा दाइ हुन्’ भनेकी थिइनन् र? मैले जे गरेँ, त्यो सफा मनले गरेँ। मेरो कुनै गलत मनसाय थिएन।” ६ त्यसपछि साँचो परमेश्वरले अबिमेलेकलाई भन्नुभयो: “तिमीले सफा मनले नै त्यसो गरेका हौ भनेर मलाई थाह छ। त्यसैले मैले तिमीलाई मविरुद्ध पाप गर्नदेखि जोगाएँ र उनलाई छुन समेत दिइनँ। ७ अब जाऊ! ती मानिसकी पत्नी फर्काइदेऊ किनभने तिनी भविष्यवक्ता हुन्।+ तिनले तिम्रो लागि उत्कट बिन्ती गर्नेछन्+ र तिमी बच्नेछौ। तर ती स्त्रीलाई फर्काएनौ भने तिमी र तिम्रो घरानाका सबै जना पक्कै मर्नेछौ।”
८ अबिमेलेक बिहान सबेरै उठे र आफ्ना नोकरचाकर सबैलाई बोलाएर सब कुरा बताए। यो सुनेर तिनीहरू असाध्यै डराए। ९ त्यसपछि अबिमेलेकले अब्राहामलाई बोलाए र सोधे: “तपाईँले यो के गर्नुभयो? मैले तपाईँको के बिगार गरेँ, जसले गर्दा तपाईँले मलाई र मेरो देशलाई यत्ति ठूलो दोष लगाउन खोज्नुभयो? तपाईँले यो ठीक गर्नुभएन।” १० अबिमेलेकले अब्राहामलाई अझै यसो भने: “आखिर तपाईँले किन यसो गर्नुभयो?”+ ११ तब अब्राहामले यस्तो जवाफ दिए: “यस ठाउँमा परमेश्वरको डर मान्ने मानिस कोही पनि छैन। त्यसैले यहाँका बासिन्दाले मलाई मारेर मेरी पत्नीलाई लैजालान् भन्ने डर लागेकोले मैले त्यसो गरेको हुँ।+ १२ तर वास्तवमा उनी मेरी बहिनी नै हुन्। उनी मेरै बुबाकी छोरी हुन् तर हाम्री आमा भने फरक हुन्। अनि उनलाई मैले पत्नी बनाएँ।+ १३ त्यसैले जब परमेश्वरले मलाई मेरो बुबाको घर छोडेर जाऊ भन्नुभयो,+ तब मैले मेरी पत्नीलाई यसो भनेको थिएँ: ‘यदि तिमी मलाई साँच्चै माया* गर्छ्यौ भने हामी जहाँ-जहाँ जान्छौँ, त्यहाँ-त्यहाँ तिमी मेरी बहिनी हौ भन।’”+
१४ त्यसपछि अबिमेलेकले अब्राहामलाई भेडा, गाईवस्तु र नोकरचाकर दिए र तिनकी पत्नी सारा पनि फर्काइदिए। १५ अबिमेलेकले यसो पनि भने: “मेरो देशमा तपाईँलाई स्वागत छ। तपाईँलाई जहाँ मन लाग्छ, त्यहीँ बस्नुहोस्।” १६ अनि सारालाई तिनले भने: “हेर्नुहोस्, म तपाईँको दाइलाई १,००० टुक्रा चाँदी दिँदै छु।+ तपाईँसँग जो-जो छन्, तिनीहरूसामु र अरू सबै मानिससामु यो चाँदी प्रमाण हुनेछ कि तपाईँ निष्कलङ्क हुनुहुन्छ र तपाईँको इज्जतमा कुनै दाग लागेको छैन।” १७ त्यसपछि अब्राहामले साँचो परमेश्वरलाई उत्कट बिन्ती गर्न थाले र परमेश्वरले अबिमेलेक, तिनकी पत्नी र तिनका दासीहरूलाई निको पारिदिनुभयो अनि तिनीहरूले फेरि सन्तान जन्माउन थाले। १८ किनकि अबिमेलेकले अब्राहामकी पत्नी सारालाई ल्याएको हुनाले यहोवा परमेश्वरले तिनको परिवारमा सबै स्त्रीको कोख थुनिदिनुभएको थियो।+
२१ आफूले भनेअनुसारै यहोवा परमेश्वरले सारालाई सम्झनुभयो। यहोवा परमेश्वरले साराको विषयमा जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।+ २ सारा गर्भवती भइन्+ र अब्राहाम वृद्ध भइसकेको भए तापनि परमेश्वरले तोक्नुभएकै समयमा साराले अब्राहामबाट एउटा छोरा जन्माइन्।+ ३ साराबाट जन्मिएको छोराको नाम अब्राहामले इसहाक राखे।+ ४ अनि इसहाक आठ दिनको हुँदा अब्राहामले परमेश्वरको आज्ञाबमोजिम उसको खतना* गरे।+ ५ इसहाक जन्मँदा अब्राहाम १०० वर्षका थिए। ६ त्यतिखेर साराले यसो भनिन्: “परमेश्वरले मलाई रमाउने कारण दिनुभएको छ। अब ज-जसले मेरो बारेमा सुन्छन्, तिनीहरू पनि मसँगसँगै रमाउनेछन्।”* ७ उनले अझै यसो भनिन्: “‘अब्राहामकी पत्नी साराले आफ्नै लालाबालालाई दूध चुसाउनेछिन्’ भनेर कसले सोचेको थियो होला र? तैपनि उहाँको बुढेसकालमा मैले उहाँको निम्ति छोरा जन्माएँ।”
८ बालक इसहाक हुर्कँदै गयो र उसलाई दूध छुटाइयो। दूध छुटाइएको दिन अब्राहामले ठूलो भोज दिए। ९ मिश्री हागारबाट+ जन्मिएको अब्राहामको छोराले इसहाकको खिसी गरेको साराले याद गरिरहेकी थिइन्।+ १० त्यसैकारण उनले अब्राहामलाई भनिन्: “त्यो दासी र त्यसको छोरालाई घरबाट निकालिदिनुहोस्। किनकि त्यसको छोरा मेरो छोरा इसहाकसँग बराबरको हकवाला बन्न पाउनेछैन!”+ ११ छोरा इस्माएलबारे साराले भनेको कुरा अब्राहामलाई पटक्कै चित्त बुझेन।+ १२ तर परमेश्वरले अब्राहामलाई भन्नुभयो: “त्यो ठिटो र तिम्री दासीबारे साराले भनेको कुरामा नमीठो नमान। साराको कुरा सुन किनकि तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।+ १३ तर तिम्री दासीबाट+ जन्मिएको छोराबाट पनि म एउटा जाति बनाउनेछु+ किनकि ऊ पनि तिम्रै छोरा हो।”
१४ त्यसैले अब्राहाम बिहान सबेरै उठे र हागारलाई रोटी र एक मशक* पानी दिए। यी सामानहरू हागारको काँधमा बोकाएर अब्राहामले तिनी र तिनको छोरालाई पठाइदिए।+ अनि हागार त्यहाँबाट हिँडिन् र बेर्सेबाको निर्जनभूमिमा भौँतारिन थालिन्।+ १५ मशकको पानी रित्तिएपछि हागारले आफ्नो छोरालाई झाडीमुनि छोडिदिइन्। १६ अनि अलि पर* गएर यसरी बिलौना गर्न थालिन्: “मेरो छोरा मरेको म हेर्न सक्दिनँ।” त्यसपछि तिनी डाँको छोडेर रुन थालिन्।
१७ तब परमेश्वरले त्यो ठिटो रोइरहेको सुन्नुभयो+ अनि स्वर्गबाट परमेश्वरको दूतले हागारलाई सोधे: “ए हागार, तिमी किन रोइरहेकी छ्यौ?+ नडराऊ! किनकि त्यो ठिटो बसिरहेको ठाउँबाटै परमेश्वरले उसको स्वर सुन्नुभएको छ। १८ उठ! गएर ठिटोलाई उठाऊ र उसको राम्ररी हेरविचार गर! म ऊबाट एउटा ठूलो जाति बनाउनेछु।”+ १९ त्यसपछि परमेश्वरले हागारको आँखा खोलिदिनुभयो र तिनले एउटा इनार देखिन्। तिनी इनारमा गइन् र मशकमा पानी भरेर छोरालाई खुवाइन्। २० अनि त्यो ठिटो+ हुर्कँदै जाँदा परमेश्वरको निगाह त्यसमाथि रह्यो। ऊ धनुर्धारी बन्यो र निर्जनभूमिमा बस्न थाल्यो। २१ ऊ पारान भनिने निर्जनभूमिमा बस्थ्यो+ र उसकी आमाले उसको लागि मिश्र देशबाट पत्नी खोजेर ल्याइदिइन्।
२२ त्यतिखेरैको कुरा हो, एकदिन अबिमेलेक* आफ्नो सेनापति फिकोलसित अब्राहामकहाँ गए अनि तिनलाई भने: “परमेश्वरको आशिष्ले गर्दा तपाईँलाई सबै कुरा फलिफाप भएको छ।+ २३ त्यसैकारण म र मेरो शाखासन्तानसित तपाईँले छल गर्नुहुनेछैन बरु जसरी आजसम्म मैले तपाईँलाई कृपा* देखाएँ, त्यसरी नै तपाईँले पनि मलाई र तपाईँ बसिरहनुभएको यस देशका मानिसहरूलाई कृपा देखाउनुहुनेछ भनेर परमेश्वरको नाममा मसित कसम खानुहोस्।”+ २४ तब अब्राहामले अबिमेलेकले भनेझैँ कसम खाए।
२५ तर अब्राहामले अबिमेलेकका दासहरूले जबरजस्ती खोसेर लिएको इनारको विषयमा अबिमेलेकसित गुनासो गरे।+ २६ अनि अबिमेलेकले भने: “यस्तो काम कसले गऱ्यो, मलाई थाहै थिएन। तपाईँले पनि मलाई केही भन्नुभएन र मैले पनि आजसम्म कसैको मुखबाट यो कुरा सुनेको थिइनँ।” २७ त्यसपछि अब्राहामले अबिमेलेकलाई भेडा र गाईवस्तु दिए अनि दुवैले आपसमा एउटा करार गरे। २८ तब अब्राहामले आफ्नो बगालबाट सात वटा पाठी अलग्गै छुट्ट्याए। २९ यो देखेर अबिमेलेकले सोधे: “तपाईँले किन यी सात वटा पाठी अलग्गै छुट्ट्याउनुभयो?” ३० अब्राहामले जवाफ दिए: “किनकि यो इनार मैले खनेको हो भन्ने कुराको प्रमाणस्वरूप तपाईँले अब यी सात वटा पाठी मेरो तर्फबाट स्वीकार गर्नुपर्छ।” ३१ त्यसैले तिनले त्यस ठाउँको नाम बेर्सेबा*+ राखे किनभने त्यहीँ नै दुवैले कसम खाएका थिए। ३२ यसरी तिनीहरूले बेर्सेबामा करार गरे।+ त्यसपछि अबिमेलेक र तिनका सेनापति फिकोल पलिस्तियालीहरूको देशमा फर्के।+ ३३ अनि अब्राहामले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र सदैव रहिरहनुहुने+ परमेश्वर यहोवाको नाम पुकारे।+ ३४ यसरी अब्राहाम धेरै वर्षसम्म* पलिस्तियालीहरूको देशमा बसोबास गरे।*+
२२ त्यसपछि साँचो परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो।+ उहाँले तिनलाई “अब्राहाम!” भनेर बोलाउनुभयो। अनि तिनले जवाफ दिए: “हजुर, म यहाँ छु।” २ उहाँले तिनलाई यसो भन्दै आग्रह गर्नुभयो: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा+ इसहाकलाई+ लिएर मोरियाहमा+ जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।”
३ तब अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे। तिनले अग्निभेटीको लागि दाउरा चिरे अनि आफ्नो छोरा इसहाक र दुई जना दासलाई सँगै लिएर साँचो परमेश्वरले देखाउनुभएको ठाउँतिर हिँडे। ४ तेस्रो दिन अब्राहामले टाढैबाट त्यो ठाउँ देखे। ५ अब्राहामले आफ्ना दासहरूलाई भने: “तिमीहरू गधासँगै यहीँ पर्खेर बस। म र छोरा जान्छौँ अनि त्यहाँ परमेश्वरको उपासना गरेर फर्कन्छौँ।”
६ अनि अब्राहामले अग्निभेटीको लागि लगेका दाउरा इसहाकलाई बोकाए। तिनले चाहिँ आगो र छुरी बोके अनि दुवै जना हिँडे। ७ त्यसपछि इसहाकले आफ्नो बुबा अब्राहामलाई भने: “बुबा!” तिनले जवाफ दिए: “भन बाबु!” इसहाकले सोधे: “आगो र दाउरा त हामीसँग छ तर अग्निभेटीको लागि भेडा खोइ त?” ८ अब्राहामले भने: “हेर बाबु, अग्निभेटीको+ लागि परमेश्वरले नै भेडा जुटाइदिनुहुन्छ।” त्यसपछि तिनीहरू सँगसँगै हिँड्दै गए।
९ अन्तमा तिनीहरू परमेश्वरले भन्नुभएको ठाउँमा पुगे। त्यहाँ अब्राहामले वेदी बनाए र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकको हातगोडा बाँधे र वेदीको दाउरामाथि उनलाई राखे।+ १० त्यसपछि अब्राहामले छुरी लिए र छोरालाई बलि चढाउन तयार भए।+ ११ तब यहोवा परमेश्वरको दूतले तिनलाई स्वर्गबाट बोलाए: “अब्राहाम! ए अब्राहाम!” अनि तिनले भने: “हजुर, म यहाँ छु।” १२ त्यसपछि स्वर्गदूतले भने: “त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।”+ १३ तब अब्राहामले नजिकैको झाडीमा सिङ अल्झेर बसेको एउटा भेडा देखे। अब्राहामले त्यो भेडा ल्याए र आफ्नो छोराको सट्टा त्यसलाई अग्निभेटीको रूपमा चढाए। १४ अनि अब्राहामले त्यस ठाउँको नाम यहोवा-यिरे* राखे। त्यसकारण आजसम्मै एउटा आहान चलेको छ: “यहोवा परमेश्वरको डाँडामा जुटाइनेछ।”+
१५ तब यहोवा परमेश्वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए १६ र यसो भने: “यहोवाले यस्तो सन्देश पठाउनुभएको छ, ‘मेरो निम्ति यति ठूलो त्याग गर्न तिमी राजी भयौ र आफ्नो एउटै छोरा बलि चढाउन समेत पछि हटेनौ।+ त्यसैले म आफ्नै कसम खाएर भन्छु,+ १७ म तिमीलाई निश्चय आशिष् दिनेछु र म निश्चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्।+ १८ तिम्रै सन्तानमार्फत+ पृथ्वीका सबै जातिले आशिष् पाउनेछन् किनभने तिमीले मेरो कुरा सुन्यौ।’”+
१९ त्यसपछि अब्राहाम आफ्ना दासहरू पर्खेर बसेको ठाउँमा गए अनि तिनीहरूसँगै बेर्सेबा+ फर्के र त्यहीँ बस्न थाले।
२० केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो: “तपाईँका भाइ नाहोरकी पत्नी मिल्काहले छोराहरू जन्माइछिन्।+ २१ जेठो छोराको नाम उज, माहिलोको नाम बुज, साहिँलोको नाम केमुएल हो। अनि केमुएलचाहिँ अरामका बुबा हुन्। २२ अरू छोराको नाम केसेद, हाजो, पिल्दास, यिदलाप र बतुएल+ हो।” २३ बतुएलकी छोरीको नाम रिबेका थियो।+ मिल्काहले अब्राहामका भाइ नाहोरका यी आठ भाइ छोरा जन्माएकी थिइन्। २४ नाहोरकी उपपत्नीको नाम रुमाह थियो। तिनले पनि छोराहरू जन्माइन्। तिनीहरूको नाम तेबह, गाहम, तहस र माकाह थियो।
२३ सारा जम्मा १२७ वर्ष बाँचिन्।+ २ कनानको+ किर्यथ-अर्बा+ अर्थात् हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए। ३ आफ्नी पत्नीको लासनेर बसिरहेका अब्राहाम उठे र हित्तीहरूलाई+ भने: ४ “म तपाईँहरूबीच विदेशी र प्रवासी भएर बसेको छु।+ त्यसैले मेरी पत्नीको लास राख्न तपाईँहरूको एक टुक्रा जमिन मलाई बेच्नुहोस्।” ५ यो सुनेर हित्तीहरूले अब्राहामलाई यस्तो जवाफ दिए: ६ “हे प्रभु, हाम्रो कुरा सुन्नुहोस्। तपाईँ परमेश्वरले छान्नुभएको हाम्रा कुलनायक* हुनुहुन्छ।+ त्यसैले हाम्रा चिहानहरूमध्ये सबैभन्दा राम्रोचाहिँ छानेर त्यहीँ आफ्नी पत्नीको लास राख्नुहोस्। हामी आफ्ना चिहान दिनेछौँ, हामी कसैले तपाईँलाई रोक्नेछैनौँ।”
७ त्यसपछि अब्राहाम उठे र त्यहाँ बसोबास गर्ने हित्तीहरूसामु+ निहुरिए। ८ अनि तिनले भने: “तपाईँहरूले मलाई मेरी पत्नीको लास राख्न ठाउँ दिने निधो नै गर्नुभएको हो भने मेरो कुरा सुन्नुहोस्। जोहरको छोरा एप्रोनलाई मेरो तर्फबाट बिन्ती गरिदिनुहोस्। ९ म तिनको खेतको छेवैमा भएको मक्पेलाको ओडार किन्न चाहन्छु। तिनले जमिनको पूरा मोलबराबरको चाँदी+ मसित लिऊन् र तपाईँहरूकै सामने आफ्नो जमिन मलाई बेचून्। अनि त्यहाँ म आफ्नी पत्नीको चिहान बनाउन सकूँ।”+
१० त्यतिबेला एप्रोन पनि हित्तीहरूसँग त्यहीँ बसिरहेका थिए। त्यसैकारण एप्रोनले हित्तीहरू र सहरको मूलढोकामा आएका मानिसहरूले सुन्नेगरि अब्राहामलाई यस्तो जवाफ दिए:+ ११ “होइन, मेरा प्रभु! मेरो कुरा सुन्नुहोस्। म तपाईँलाई ओडार मात्र होइन, खेत पनि दिन्छु। मेरा मानिसहरूकै सामु म तपाईँलाई ती दिन्छु। त्यसपछि त्यहीँ आफ्नी पत्नीको चिहान बनाउनुहोस्।” १२ त्यसपछि अब्राहामले त्यहाँका मानिसहरूलाई दण्डवत् गरे। १३ अनि तिनीहरू सबैले सुन्नेगरि एप्रोनलाई भने: “कृपया मेरो कुरा सुन्नुहोस्! म तपाईँको जमिन पूरा मोल तिरेर किन्न चाहन्छु। त्यसैले मसित जमिनको मोलबराबरको चाँदी लिनुहोस् र त्यहाँ म मेरी पत्नीको चिहान बनाउन सकूँ।”
१४ त्यसपछि एप्रोनले अब्राहामलाई जवाफ दिए: १५ “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्! त्यो जमिनको मोल चाँदीको ४०० शेकेल* हो। तर तपाईँ र मबीच पैसाको के कुरा? अप्ठेरो नमानी आफ्नी पत्नीको चिहान बनाउनुहोस्।” १६ तब अब्राहामले एप्रोनको कुरा सुने। सबै हित्तीले सुन्नेगरि एप्रोनले भनेको मोलअनुसारै अब्राहामले चाँदीको ४०० शेकेल जोखेर दिए। तिनले त्यतिबेला व्यापारीहरूबीच चलेको चलनअनुसारै चाँदी जोखेर दिए।+ १७ यसरी मम्रेनजिक मक्पेलामा भएको एप्रोनको जमिन, त्यहाँको ओडार, त्यहाँका रूखहरू सबै १८ अब्राहामको हुने पक्का भयो। किनकि अब्राहामले हित्तीहरू र सहरका मूलढोकामा आएका सबै मानिससामु ती सब किनेका थिए। १९ त्यसपछि अब्राहामले मम्रेनजिकैको मक्पेलाको ओडारलाई आफ्नी पत्नी साराको चिहान बनाए। यो ठाउँ कनानको हेब्रोनमा पर्छ। २० यसरी हित्तीहरूको खेत र त्यहाँ भएको ओडार अब्राहामको सम्पत्ति भयो र त्यस ठाउँलाई अब्राहामले चिहान बनाए।+
२४ अब्राहामको उमेर निकै ढल्किसकेको थियो; तिनी बूढा भइसकेका थिए। यहोवा परमेश्वरले तिनलाई सबै कुरामा आशिष् दिनुभएको थियो।+ २ तब अब्राहामले आफ्नो घरको सबै चाँजोपाँजो मिलाउने भरपर्दो अनि सबैभन्दा पुरानो नोकरलाई बोलाएर भने:+ “कृपया तिम्रो हात मेरो तिघ्रामुनि राख।* ३ अनि स्वर्ग र पृथ्वीका परमेश्वर यहोवाको कसम खाएर भन, ‘तिमीले मेरो छोराको लागि यस ठाउँको कनानी केटी खोज्नेछैनौ।+ ४ तिमी मेरो देशमा मेरा नातेदारकहाँ+ गएर मेरो छोरा इसहाकको निम्ति केटी खोज्नेछौ।’”
५ तर ती नोकरले अब्राहामलाई भने: “ती केटी मसँग यहाँ आउन मानिनन् भने के गरूँ? तपाईँको छोरालाई मसँगै तपाईँको देशमा लैजाऊँ कि?”+ ६ तब अब्राहामले भने: “अहँ! तिमीले मेरो छोरालाई त्यहाँ नलैजानू!+ ७ किनकि मलाई मेरो बुबाको घर अनि मेरा नातेदार छोड्न लगाएर यहाँ विदेशी भूमिमा ल्याउनुहुने+ अनि स्वर्गबाट मसित बोल्नुहुने परमेश्वर यहोवाले यसो भनेर मसित शपथ खानुभएको थियो:+ ‘म यो देश+ तिम्रै सन्तानलाई दिनेछु।’+ त्यसैले उहाँले नै तिम्रो अघिअघि स्वर्गदूत पठाउनुहुनेछ+ र तिमीले त्यहीँबाटै मेरो छोराको लागि केटी खोजेर ल्याउनेछौ।+ ८ यदि ती केटी तिमीसँग आउन मानिनन् भने तिमी यस शपथबाट मुक्त हुनेछौ। तर मेरो छोरालाई चाहिँ त्यहाँ लाँदै नलानू।” ९ त्यसपछि ती नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखे र शपथ खाए।+
१० त्यसपछि ती नोकरले आफ्ना मालिकको बथानबाट १० वटा उँट र उपहार दिनको लागि किसिम-किसिमका राम्रा सामान लिए। अनि तिनी मेसोपोटामिया गए र नाहोर सहरतिर लागे। ११ सहरबाहिर इनारनजिकै पुगेपछि तिनले आफ्ना उँटहरूलाई बसाए। त्यतिबेला साँझ पर्न लागेकोले सहरका स्त्रीहरू पानी भर्न इनारमा आउने बेला भएको थियो। १२ त्यसपछि तिनले परमेश्वरलाई यस्तो बिन्ती गरे: “हे यहोवा, मेरा मालिक अब्राहामका परमेश्वर! म जे कामको लागि आएको छु, मलाई त्यसमा सफल बनाउनुहोस् र मेरा मालिक अब्राहाममाथि कृपा* देखाउनुहोस्। १३ हेर्नुहोस्, म इनारनजिकै बसिरहेको छु। अनि यस सहरका छोरीहरू पानी भर्न आउँदै छन्। १४ त्यसैले यस्तो होस्, म जुन केटीलाई ‘म पानी पिउन चाहन्छु, तिम्रो गाग्रो मतिर ढल्काइदेऊ’ भनूँला र जसले मलाई ‘पिउनुहोस्, म तपाईँका उँटहरूलाई पनि पानी खुवाइदिन्छु’ भन्लिन्, त्यही नै तपाईँले आफ्नो दास इसहाकको लागि रोज्नुभएको केटी होस्। तपाईँले मेरा मालिकलाई कृपा* देखाउनुभएको रहेछ भनेर यसैबाट मैले थाह पाउन सकूँ।”
१५ तिनले प्रार्थना गरिसिद्ध्याउन नपाउँदै रिबेका काँधमा गाग्रो बोकेर आइन्। उनी अब्राहामको भाइ नाहोर+ र तिनकी पत्नी मिल्काहको+ छोरा बतुएलकी छोरी थिइन्।+ १६ रिबेका असाध्यै राम्री थिइन्। उनी कुनै पुरुषसँग सम्बन्ध नराखेकी कुमारी थिइन्। उनी इनारमा गइन् र गाग्रो भरेर आइन्। १७ त्यतिखेरै अब्राहामको नोकर उनलाई भेट्न दौडेर गए र भने: “नानी, तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन दिन्छ्यौ कि?” १८ रिबेकाले भनिन्: “हुन्छ हजुर।” अनि उनले काँधमा बोकिरहेको गाग्रो तुरुन्तै तल झारिन् र पानी पिउन दिइन्। १९ तिनलाई पानी दिइसकेपछि रिबेकाले भनिन्: “म तपाईँका उँटहरूलाई पनि इनारबाट पानी ल्याएर नअघाउन्जेल दिन्छु।” २० त्यसपछि रिबेकाले आफ्नो गाग्रोको पानी तुरुन्तै डुँडमा खन्याइन्। सबै उँटले पानी नखाउन्जेल उनी घरीघरी तल इनारतिर दौडेर पानी ओसार्दै गरिन्। २१ रिबेकाले पानी देउन्जेल अब्राहामको नोकरचाहिँ दङ्ग परेर रिबेकालाई हेरिरहे। अनि कतै यहोवाले तिनको यात्रा सफल बनाउनुभएको त होइन भनेर सोच्न थाले।
२२ उँटहरूले पानी खाइसकेपछि अब्राहामको नोकरले रिबेकालाई लगभग आधा शेकेल* सुनको नत्थ र लगभग १० शेकेल सुनका दुइटा बाला दिए। २३ त्यसपछि तिनले भने: “नानी, तिमी कसकी छोरी हौ? तिम्रो बुबाको घरमा बास पाइन्छ?” २४ रिबेकाले भनिन्: “म बतुएलकी छोरी हुँ+ अनि मेरो हजुरबुबा र हजुरआमाको नाम नाहोर र मिल्काह हो।”+ २५ तिनले अझै भनिन्: “हामीकहाँ प्रशस्त दाना र पराल छ। अनि बास बस्न ठाउँ पनि छ।” २६ त्यसपछि अब्राहामको नोकरले घोप्टेर यहोवा परमेश्वरलाई दण्डवत् गरे। २७ अनि तिनले यसो भने: “मेरा मालिक अब्राहामका परमेश्वर यहोवाको जय होस्! किनभने उहाँले मेरा मालिकलाई कृपा* देखाउन छोड्नुभएको छैन र मेरा मालिकलाई सधैँ साथ दिनुभएको छ। यहोवा परमेश्वरले मलाई डोऱ्याएर मेरा मालिकका दाजुभाइकहाँ पुऱ्याउनुभएको छ।”
२८ तब रिबेका हतारिँदै घरतिर गइन् अनि आफ्नी आमा र घरका सबैलाई खबर गरिन्। २९ रिबेकाको लाबान+ नाम गरेका एक जना दाइ थिए। लाबान इनारनजिकै बसिरहेका ती मानिसलाई भेट्न हिँडिहाले। ३० लाबानले आफ्नी बहिनीले लगाइराखेको नत्थ र बाला देखे अनि बहिनीले “ती मानिसले मलाई यसो भने” भन्दै गरेको पनि सुने। त्यसैले तिनी तुरुन्तै ती मानिसलाई भेट्न गए। ती मानिस अझै पनि आफ्ना उँटहरूसँगै इनारनजिकै उभिरहेका थिए। ३१ तिनलाई भेट्नेबित्तिकै लाबानले भने: “हे यहोवाका निगाह-पात्र, आउनुहोस्! मेरो घर जाऔँ। मैले तपाईँको लागि र उँटहरूको लागि ठाउँ तयार पारिसकेँ।” ३२ ती मानिस लाबानको घरमा गए; तिनले* उँटहरूको भारी उतारे अनि उँटहरूलाई पराल र दाना दिए। लाबानले तिनलाई र तिनीसँग आएका अरू मानिसलाई गोडा धुन पानी पनि दिए। ३३ त्यसपछि तिनलाई भोजन टक्य्राए। तर तिनले भने: “पहिले म केही भन्न चाहन्छु, त्यसपछि खाऊँला।” तब लाबानले भने: “हुन्छ, भन्नुहोस्!”
३४ तिनले भने: “म अब्राहामको नोकर हुँ।+ ३५ यहोवा परमेश्वरले मेरा मालिकलाई प्रशस्तै आशिष् दिनुभएको छ। उहाँले मेरा मालिकलाई थुप्रै भेडा, गाईवस्तु, सुनचाँदी, नोकरचाकर अनि उँट र गधाहरू दिएर एकदमै धनी बनाउनुभएको छ।+ ३६ मेरा मालिककी पत्नी साराले बुढेसकालमा मेरा मालिकको लागि एउटा छोरा जन्माउनुभयो।+ यही छोरालाई मेरा मालिकले आफ्नो सबै सम्पत्ति दिनुहुनेछ।+ ३७ त्यसैले मेरा मालिकले मलाई यस्तो शपथ खान लगाउनुभयो: ‘तिमीले मेरो छोराको लागि म बसिरहेको यस ठाउँको कनानी केटी नखोज्नू।+ ३८ तर मेरो बुबाको घरमा, मेरा नातेदारकहाँ+ गएर मेरो छोरा इसहाकको लागि एउटी केटी ल्याउनू।’+ ३९ अनि मैले मेरा मालिकलाई भनेँ: ‘तर ती केटी मसँगै यस ठाउँमा आउन मानिनन् भने नि?’+ ४० त्यसपछि उहाँले मलाई भन्नुभयो: ‘मैले उपासना गर्ने+ गरेको यहोवा परमेश्वरले नै तिम्रो अघिअघि स्वर्गदूत पठाउनुहुनेछ+ र निश्चय नै तिम्रो यात्रा सफल बनाउनुहुनेछ। अनि तिमीले मेरै नातेदारबाट र मेरै बुबाको घरानाबाट मेरो छोराको लागि केटी ल्याउनू।+ ४१ तिमी मेरा नातेदारहरूकहाँ गयौ तर तिनीहरूले केटी दिन मानेनन् भने म तिमीलाई यस शपथबाट मुक्त गर्नेछु। तब तिमी यस शपथबाट मुक्त हुनेछौ।’+
४२ “आज इनारनजिकै पुग्दा मैले यसो भनेर प्रार्थना गरेको थिएँ: ‘हे मेरा मालिकका परमेश्वर यहोवा, तपाईँले मेरो यात्रा सफल बनाइदिनुहुन्छ भने यस्तो होस्: ४३ म यहाँ इनारनजिकै उभिरहेको छु र पानी भर्न आएकी कुनै एउटी केटीलाई+ “कृपया तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ” भन्दा ४४ उनले “पिउनुहोस् र म तपाईँका उँटहरूलाई पनि इनारबाट पानी ल्याएर खुवाइदिन्छु” भनिन् भने उनी नै यहोवा परमेश्वरले मेरा मालिकका छोराको लागि छान्नुभएको केटी होऊन्।’+
४५ “मैले मनमनै प्रार्थना गरिसिद्ध्याएकै थिइनँ, रिबेका काँधमा गाग्रो बोकेर आइन् र तल इनारमा गएर पानी भर्न थालिन्। त्यसपछि मैले उनलाई भनेँ: ‘मलाई पानी पिउन देऊ।’+ ४६ उनले काँधमा बोकिरहेको गाग्रो तुरुन्तै झारेर भनिन्: ‘पिउनुहोस्+ र म तपाईँका उँटहरूलाई पनि पानी खुवाइदिन्छु।’ त्यसपछि मैले पानी पिएँ र उनले उँटहरूलाई पनि पानी दिइन्। ४७ अनि मैले उनलाई सोधेँ: ‘नानी, तिमी कसकी छोरी हौ?’ उनले यस्तो जवाफ दिइन्: ‘म बतुएलकी छोरी, नाहोर र मिल्काहकी नातिनी हुँ।’ त्यसपछि मैले उनको नाकमा नत्थ र हातमा बाला लगाइदिएँ।+ ४८ मैले घोप्टो परेर यहोवा परमेश्वरलाई दण्डवत् गरेँ र मेरा मालिक अब्राहामका परमेश्वर यहोवालाई धन्यवाद चढाएँ।+ मेरा मालिकका छोराको लागि तपाईँहरूकी चेली लैजान उहाँले नै मलाई यसरी सही ठाउँमा डोऱ्याउनुभयो र मेरा मालिकका दाजुभाइकहाँ पुऱ्याउनुभयो। ४९ त्यसैले यदि तपाईँ आफ्नी चेली दिएर मेरा मालिक अब्राहामलाई कृपा* र वफादारी देखाउन चाहनुहुन्छ भने कृपया भन्नुहोस्। चाहनुहुन्न भने पनि भन्नुहोस्, त्यसपछि म आफ्नो बाटो लागूँला।”*+
५० तब लाबान र बतुएलले यस्तो जवाफ दिए: “यो सब हुनुमा यहोवा परमेश्वरकै हात छ। त्यसैले हामी तपाईँलाई हुन्छ वा हुँदैन केही भन्न सक्दैनौँ। ५१ हेर्नुहोस्, रिबेका यहाँ तपाईँकै अगाडि छिन्, लिएर जानुहोस्। यहोवा परमेश्वरले भन्नुभएझैँ तपाईँका मालिकका छोराले उनीसित बिहे गरून्।” ५२ तिनीहरूको कुरा सुन्नेबित्तिकै अब्राहामका नोकरले भुईँमा घोप्टेर यहोवा परमेश्वरलाई दण्डवत् गरे। ५३ त्यसपछि आफूले ल्याएको सुनचाँदीका गरगहना अनि लुगाहरू रिबेकालाई दिए। उनका दाइ र आमालाई पनि महँगा-महँगा उपहारहरू दिए। ५४ त्यसपछि ती नोकर र तिनीसँगै आएका मानिसहरूले खानपिन गरे अनि त्यहीँ बास बसे।
बिहान उठेपछि तिनले भने: “अब मलाई बिदा दिनुहोस्, म मेरा मालिककहाँ फर्कन्छु।” ५५ तर रिबेकाका दाइ र आमाले भने: “उसलाई १० दिनजति हामीसँगै बस्न दिनुहोस्। त्यसपछि उसलाई लैजानुहोला।” ५६ तर तिनले भने: “यहोवा परमेश्वरले मेरो यात्रा सफल बनाउनुभएको छ। त्यसकारण मलाई नरोक्नुहोस्। मलाई बिदा दिनुहोस्, म सकेजति छिटो मेरा मालिककहाँ फर्कन चाहन्छु।” ५७ यो कुरा सुनेपछि तिनीहरूले भने: “त्यसोभए रिबेकालाई बोलाएर उसैलाई सोधौँ न।” ५८ तिनीहरूले रिबेकालाई बोलाएर सोधे: “तिमी उहाँसँग जान्छ्यौ त?” अनि उनले यस्तो जवाफ दिइन्: “अँ, म जान्छु।”
५९ अनि तिनीहरूले रिबेका+ अनि उनकी धाईआमा*+ र अब्राहामका नोकर अनि तिनका मानिसहरूलाई बिदा गरे। ६० तिनीहरूले रिबेकालाई आशिष् दिँदै यसो भने: “हे हाम्री बहिनी, तिम्रा सन्तान लाखौँलाख होऊन्* र तिनीहरूले शत्रुहरूका सहर कब्जा गरून्।”+ ६१ त्यसपछि रिबेका र उनका सुसारेहरू उँटमा चढे अनि ती मानिसको पछि लागे। यसरी ती नोकर रिबेकालाई लिएर घर फर्के।
६२ नेगेबमा+ बसोबास गर्ने इसहाक त्यतिखेर बेर-लहै-रोइबाट+ फर्कँदै थिए। ६३ तिनी मनन गर्दै+ साँझतिर खेतमा टहलिरहेका थिए। अनि आँखा उठाएर हेर्दा तिनले उँटको लस्कर आइरहेको देखे। ६४ रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन् र तुरुन्तै उँटबाट ओर्लिन्। ६५ त्यसपछि उनले अब्राहामका नोकरलाई सोधिन्: “हामीलाई भेट्न खेतबाट आउँदै गरेका मानिस को हुन्?” अनि ती नोकरले जवाफ दिए: “उहाँ मेरो मालिक हुनुहुन्छ।” अनि रिबेकाले घुम्टो हालिन्। ६६ ती नोकरले इसहाकलाई सबै कुराको बेलीबिस्तार लगाए। ६७ इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे।+ तिनले रिबेकालाई आफ्नी पत्नी बनाए र तिनको उनीसित माया बस्यो।+ आफ्नी आमाको मृत्युको कारण दुःखी भएका इसहाकले बल्ल सान्त्वना पाए।+
२५ अब्राहामले अर्की पत्नी पनि भित्र्याए। उनको नाम केतुराह थियो। २ उनले जिम्रान, योक्षान, मदान, मिद्यान,+ इस्बाक र सुहलाई+ जन्माइन्।
३ योक्षानका छोराहरू सेबा र ददान थिए।
ददानका छोराहरू अस्सुरिम, लतुसिम र लउम्मिम थिए।
४ मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबिदा र एल्दाह थिए।
यी सबै केतुराहका नातिहरू थिए।
५ अब्राहामले आफ्नो सबै सम्पत्ति इसहाकलाई दिए।+ ६ तिनले आफ्ना उपपत्नीहरूबाट जन्मेका छोराहरूलाई भने थुप्रै उपहार दिए। आफू जीवित छँदै अब्राहामले तिनीहरूलाई आफ्नो छोरा इसहाकबाट अलग पारेर पूर्वतिर पठाइदिए।+ ७ अब्राहाम १७५ वर्ष बाँचे। ८ तिनी आफ्नो जीवनसित सन्तुष्ट भएर लामो समयसम्म बाँचे अनि अन्तमा आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। ९ अब्राहामको लासलाई तिनका छोरा इसहाक र इस्माएलले मम्रेनजिकै मक्पेलाको ओडारमा राखे, जुन ओडार हित्ती जोहरका छोरा एप्रोनको खेतमा थियो।+ १० त्यो खेत अब्राहामले हित्तीहरूसित किनेका थिए। साराको चिहान पनि त्यही ओडारमा थियो र अब्राहामको लासलाई पनि तिनका छोराहरूले त्यहीँ राखे।+ ११ अब्राहामको मृत्युपछि पनि परमेश्वरले इसहाकलाई आशिष् दिइरहनुभयो।+ इसहाक बेर-लहै-रोइनजिकै+ बसोबास गर्थे।
१२ साराकी दासी मिश्री हागारबाट+ जन्मिएको अब्राहामको छोरा इस्माएलका+ सन्तानको वंशावली यही हो:
१३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+ १४ मिस्मा, दुमा, मस्सा, १५ हादद, तेमा, यतुर, नपिस अनि केद्मा। १६ इस्माएलका यी १२ छोरा आ-आफ्ना कुलका नाइके थिए। तिनीहरूले आ-आफ्नो बस्ती अनि इलाका* छुट्ट्याएका थिए र कुलअनुसार त्यसको नाम राखेका थिए।+ १७ इस्माएल १३७ वर्ष बाँचे। अनि तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। १८ इस्माएलका छोराहरू हविलाहदेखि+ अस्सेरियासम्म बस्न थाले। हविलाह सुरनजिकै+ पर्छ अनि सुरचाहिँ मिश्रनजिकै छ। इस्माएलका छोराहरू आफ्ना दाजुभाइको नजिकै बस्न थाले।*+
१९ अब्राहामको छोरा इसहाकको विवरण यही हो:+
अब्राहामका छोरा इसहाक थिए। २० रिबेकासित विवाह गर्दा इसहाक ४० वर्षका थिए। रिबेका पद्दान-अरामका अरामी बतुएलकी+ छोरी र लाबानकी बहिनी थिइन्। २१ आफ्नी पत्नी बाँझी भएकीले इसहाक यहोवा परमेश्वरलाई बारम्बार बिन्ती गरेर सन्तान माग्थे। अन्तमा यहोवा परमेश्वरले तिनको बिन्ती सुन्नुभयो र रिबेका गर्भवती भइन्। २२ अनि उनको गर्भमा भएका छोराहरूले एकअर्कालाई ठेल्न थाले।+ त्यसैले उनले यसो भनिन्: “यस्तो दुःख हुने हो भने म बाँचेर के फाइदा?” यो के भएको होला भनेर उनले यहोवा परमेश्वरलाई प्रार्थना गरिन्। २३ अनि यहोवा परमेश्वरले उनलाई जवाफ दिनुभयो: “तिम्रो गर्भमा दुई जाति छन्।+ जन्मँदै तिनीहरू दुई जाति हुनेछन्।+ एउटा जाति अर्कोभन्दा शक्तिशाली हुनेछ+ र जेठोले कान्छोको सेवा गर्नेछ।”+
२४ महिना पुगेपछि रिबेकाले जुम्ल्याहा छोरा जन्माइन्! २५ पहिला जन्मिएको चाहिँ पूरै रातो देखिन्थ्यो। उसको शरीरभरि रौँ नै रौँ भएकोले भुत्लाको लुगा लगाएझैँ देखिन्थ्यो।+ त्यसैले तिनीहरूले उसको नाम एसाव*+ राखे। २६ त्यसपछि भाइचाहिँ जन्मियो। एसावको कुर्कुच्चो समातेर जन्मिएको भएर+ इसहाकले कान्छोचाहिँको नाम याकुब* राखे।+ छोराहरू जन्मँदा इसहाक ६० वर्षका थिए।
२७ इसहाकका छोराहरू हुर्कँदै गए। एसाव निपुण सिकारी भए+ र तिनी सिकार खोज्न वनतिर डुलिरहन्थे। याकुब भने शान्त स्वभावका थिए र तिनी पालमै बसिरहन्थे।+ २८ एसावले सिकार गरेर मासु ल्याउने भएकोले इसहाक एसावलाई माया गर्थे तर रिबेकाचाहिँ याकुबलाई माया गर्थिन्।+ २९ एकदिनको कुरा हो, एसाव सिकारबाट लखतरान भएर घर फर्कँदा याकुब सुरुवा पकाइरहेका थिए। ३० एसावले याकुबलाई भने: “लौ! झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ न! म भोकले मर्नै लागिसकेँ!” त्यसैकारण एसावलाई एदोम*+ नाम दिइयो। ३१ तब याकुबले भने: “पहिला आफ्नो ज्येष्ठ-अधिकार+ मलाई बेच्नुहोस्!” ३२ त्यसपछि एसावले भने: “यहाँ म मर्नै लागिसकेँ! मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” ३३ अनि याकुबले भने: “त्यसोभए पहिला कसम खानुहोस्!” एसावले कसम खाए र आफ्नो ज्येष्ठ-अधिकार याकुबलाई बेचे।+ ३४ त्यसपछि याकुबले एसावलाई रोटी र सुरुवा दिए। खानपिन गरेर एसाव उठे र आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई केही मोलको गनेनन्।
२६ कनानमा फेरि अनिकाल पऱ्यो। यसअघि अब्राहामको समयमा पहिलो पटक अनिकाल परेको थियो।+ त्यसैले इसहाक गेरारमा पलिस्तियालीहरूका राजा अबिमेलेककहाँ गए। २ यहोवा परमेश्वर इसहाककहाँ प्रकट हुनुभयो र भन्नुभयो: “मिश्रतिर नझर। मैले भनेकै ठाउँमा बस। ३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष् दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+ ४ ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु+ र तिनीहरूलाई म यो सबै इलाका दिनेछु।+ तिम्रा सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्।’+ ५ किनभने अब्राहामले मेरो कुरा सुने, मैले चाहेको कुरा गरे र मेरा आज्ञा, नियम अनि व्यवस्था पालन गरे।”+ ६ यसैकारण इसहाक गेरारमै बसे।+
७ त्यस ठाउँका मानिसहरूले आफ्नी पत्नीबारे सोधपुछ गर्दा तिनी यसो भन्थे: “उनी मेरी बहिनी हुन्।”+ रिबेका राम्री थिइन्; त्यसैले “उनी मेरी पत्नी हुन्” भन्न तिनी डराउँथे। “यहाँका मानिसहरूले रिबेका मेरी पत्नी हुन् भन्ने थाह पाए भने मलाई मार्छन्” भन्ने तिनलाई लाग्थ्यो।+ ८ तर केही समयपछिको कुरा हो, पलिस्तियालीहरूका राजा अबिमेलेकले झ्यालबाट हेर्दा इसहाकले आफ्नी पत्नी रिबेकालाई माया* गरिरहेको देखे।+ ९ अबिमेलेकले तुरुन्तै इसहाकलाई बोलाए र भने: “उनी त तिम्री पत्नी पो रहेछिन्! तिमीले किन ‘मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले यस्तो जवाफ दिए: “उनले गर्दा मेरो ज्यान जाला भनेर मलाई डर लागेको थियो।”+ १० तर अबिमेलेकले भने: “तिमीले यो के गऱ्यौ?+ तिम्री पत्नीसित हाम्रा मानिसहरूमध्ये कोही सुतेको भए हामीलाई ठूलो दोष लाग्ने थियो।”+ ११ त्यसपछि अबिमेलेकले आफ्नो प्रजालाई यस्तो आज्ञा दिए: “जसले यी पुरुष र यिनकी पत्नीलाई छुन्छ, त्यो निश्चय मारिनेछ।”
१२ अनि इसहाकले त्यस ठाउँको जमिनमा बिउ छरे र त्यो वर्ष तिनले आफूले छरेको भन्दा १०० गुणा धेरै कटनी गरे। किनभने यहोवा परमेश्वरले तिनलाई आशिष् दिनुभएको थियो।+ १३ इसहाक धनी भए र तिनको झन्झन् फलिफाप हुँदै गयो। १४ तिनका भेडा, गाईवस्तु र नोकरचाकर प्रशस्त भए।+ यो देखेर पलिस्तियालीहरूले तिनको डाह गर्न थाले।
१५ त्यसैले अब्राहामले आफ्ना नोकरहरूलाई खन्न लगाएका सबै इनार पलिस्तियालीहरूले माटोले पुरिदिए।+ १६ अनि अबिमेलेकले इसहाकलाई भने: “तिमी हाम्रो इलाकाबाट निस्केर जाऊ किनभने तिमी हामीभन्दा धेरै शक्तिशाली भएका छौ।” १७ त्यसैले त्यहाँबाट निस्केर इसहाकले गेरार बेँसीमा*+ पाल गाडे र त्यहीँ बस्न थाले। १८ अनि आफ्नो बुबा अब्राहामले बनाउन लगाएका इनारहरू इसहाकले फेरि खन्न थाले । किनभने पलिस्तियालीहरूले अब्राहामको मृत्युपछि ती पुरिदिएका थिए।+ अनि अब्राहामले ती इनारको जे-जे नाम राखेका थिए, इसहाकले पनि त्यही-त्यही राखे।+
१९ इसहाकका नोकरहरूले बेँसीमा* इनार खन्दै जाँदा सफा पानीको मूल भेट्टाए। २० अनि गेरारका गोठालाहरू इसहाकका गोठालाहरूसित यसो भन्दै झगडा गर्न थाले: “यो पानी हाम्रो हो!” तिनीहरूले इसहाकसित झगडा गरेको हुनाले तिनले त्यस इनारको नाम एसेक* राखे। २१ त्यसपछि तिनीहरूले अर्को इनार खन्न थाले तर गेरारका गोठालाहरू तिनीहरूसित फेरि झगडा गर्न आए। यसकारण तिनले त्यस इनारको नाम सित्नाह* राखे। २२ पछि इसहाक त्यहाँबाट सरे र तिनले अर्को इनार खन्न लगाए। यसपालि भने गेरारका गोठालाहरू झगडा गर्न आएनन्। त्यसैले तिनले त्यस इनारको नाम रेहोबोथ* राखे र यसो भने: “यहोवा परमेश्वरले हामीलाई प्रशस्त ठाउँ दिनुभएको छ र यस ठाउँमा हाम्रो फलिफाप गराउनुभएको छ।”+
२३ त्यसपछि त्यहाँबाट तिनी बेर्सेबातिर+ उक्ले। २४ त्यो रात यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभयो र भन्नुभयो: “म तिम्रा बुबा अब्राहामका परमेश्वर हुँ।+ नडराऊ!+ किनभने म तिमीसँग छु। मेरो दास अब्राहामको खातिर म तिमीलाई आशिष् दिन्छु र तिम्रा सन्तान धेरै हुनेछन्।”+ २५ त्यसैले तिनले त्यहाँ एउटा वेदी बनाए र यहोवा परमेश्वरको नाम पुकारे।*+ इसहाकले त्यहाँ आफ्नो पाल टाँगे+ र तिनका नोकरहरूले त्यहीँ इनार खने।
२६ एकदिन अबिमेलेक गेरारबाट आफ्ना सल्लाहकार अहुज्जाथ र सेनापति फिकोललाई लिएर इसहाकलाई भेट्न आए।+ २७ इसहाकले तिनीहरूलाई भने: “तपाईँहरूले मलाई घृणा गरेर धपाउनुभएको होइन? अब फेरि किन मलाई भेट्न आउनुभएको?” २८ तिनीहरूले भने: “यहोवा परमेश्वर तपाईँसँग हुनुहुँदो रहेछ भनेर अब हामीले राम्ररी थाह पायौँ।+ त्यसैले हामीले तपाईँलाई यसो भन्ने सल्लाह गऱ्यौँ: ‘हामीसित शान्ति-सम्झौता गर्नुहोस् अनि हामीसित एउटा करार गर्नुहोस्।+ २९ जसरी हामीले तपाईँलाई हानि गरेनौँ, त्यसरी नै तपाईँले पनि हामीलाई हानि गर्नुहुनेछैन। किनकि हामीले तपाईँलाई शान्तिसित जान दिएर तपाईँको भलो चितायौँ। अनि तपाईँले यहोवा परमेश्वरको आशिष् पाउनुभएको छ भनेर हामी स्वीकार गर्छौँ।’” ३० त्यसपछि इसहाकले तिनीहरूको लागि भोज तयार पारे अनि तिनीहरूले खानपिन गरे। ३१ तिनीहरू बिहान सबेरै उठे र इसहाकसित शपथ खाए।+ त्यसपछि इसहाकले तिनीहरूलाई बिदा गरे र तिनीहरू शान्तपूर्वक आफ्नो बाटो लागे।
३२ त्यही दिन इसहाकका नोकरहरू आएर तिनलाई आफूहरूले खनेको इनारबारे खबर गरे+ र भने: “हामीले पानी भेट्टायौँ!” ३३ इसहाकले त्यस इनारको नाम सिबाह* राखे। यसकारण त्यस सहरलाई अहिले पनि बेर्सेबा*+ भनिन्छ।
३४ एसाव ४० वर्षको हुँदा तिनले हित्ती बिरिकी छोरी युदिथ र हित्ती एलोनकी छोरी बास्मथसित विवाह गरे।+ ३५ आफ्ना बुहारीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो भयो।+
२७ इसहाक धेरै बूढा भइसकेका थिए र तिनले आँखा देख्न पनि छोडिसकेका थिए। एकदिन तिनले आफ्नो जेठो छोरा एसावलाई बोलाएर भने:+ “बाबु!” उनले जवाफ दिए: “हजुर!” २ त्यसपछि इसहाकले भने: “हेर, म बूढो भइसकेँ। अब म धेरै दिन बाँच्दिनँ होला। ३ त्यसैले अब तिम्रो हतियार र धनु बोक अनि जङ्गलमा सिकार गरेर मेरो लागि केही ल्याऊ।+ ४ अनि मलाई मन पर्ने मीठो परिकार बनाएर मकहाँ ल्याऊ। म त्यो खान्छु र मर्नुअघि तिमीलाई आशिष् दिन्छु।”
५ रिबेकाले इसहाक र एसावको कुरा सुनिरहेकी थिइन्। एसाव आफ्नो बुबाको लागि सिकार खोज्न जङ्गलतिर लागे।+ ६ त्यसपछि रिबेकाले याकुबलाई भनिन्:+ “मैले तिम्रो बुबाले तिम्रो दाइलाई यसो भन्दै गर्नुभएको सुनेँ, ७ ‘मेरो लागि सिकार गरेर अनि मीठो परिकार बनाएर ल्याऊ। म त्यो खान्छु र मर्नुअघि यहोवा परमेश्वरलाई साक्षी राखेर तिमीलाई आशिष् दिन्छु।’+ ८ त्यसैले छोरा, मेरो कुरा ध्यान दिएर सुन। म जे भन्छु, त्यही गर।+ ९ अब बगालमा गएर दुई वटा सबैभन्दा असल पाठा छानेर यहाँ ल्याऊ। म तिम्रो बुबालाई मन पर्ने मीठो परिकार बनाइदिन्छु। १० त्यो लगेर बुबालाई खुवाऊ र उहाँको आशिष् थाप।”
११ याकुबले आफ्नी आमा रिबेकालाई भने: “एसाव दाइको जीउभरि रौँ नै रौँ छ+ तर मेरो जीउ त्यस्तो छैन। १२ त्यसैले बुबाले मलाई छाम्नुभयो भने के गर्ने?+ मैले उहाँलाई झुक्क्याएको थाह पाउनुभयो भने उहाँले मलाई आशिष्को साटो सराप दिनुहुनेछ।” १३ तर रिबेकाले भनिन्: “बाबु, तिम्रो सराप मैमाथि परोस्। बरु जाऊ, मैले भनेजस्तो गर।”+ १४ त्यसैले याकुब गए र दुई वटा पाठा ल्याएर आमालाई दिए अनि रिबेकाले इसहाकलाई मन पर्ने परिकार बनाइन्। १५ त्यसपछि रिबेकाले आफ्नो जेठो छोरा एसावको सबैभन्दा राम्रो लुगा झिकेर ल्याइन् र कान्छो छोरा याकुबलाई लगाइदिइन्।+ १६ तिनले याकुबको हातमा र गर्दनमा पाठाको छाला लगाइदिइन्।+ १७ अनि आफूले पकाएको मासुको मीठो परिकार र रोटी याकुबलाई दिइन्।+
१८ त्यसपछि याकुब आफ्नो बुबाकहाँ गए अनि “बुबा!” भनेर बोलाए। तब इसहाकले भने: “भन बाबु, म यहाँ छु। तर तिमी को हौ?” १९ याकुबले बुबालाई भने: “म तपाईँको पहिलो सन्तान एसाव हुँ।+ मैले तपाईँले भनेजस्तै गरेँ। उठ्नुहोस् बुबा! मैले सिकार गरेर ल्याएको मासु खानुहोस् र मलाई आशिष् दिनुहोस्।”+ २० इसहाकले आफ्नो छोरालाई सोधे: “छोरा, तिमीले कसरी यति छिट्टै सिकार भेट्टायौ त?” याकुबले जवाफ दिए: “यहोवा तपाईँका परमेश्वरले नै जुटाइदिनुभएकोले।” २१ त्यसपछि इसहाकले भने: “खै बाबु, यता आऊ त। तिमी साँच्चै मेरो छोरा एसाव हौ कि होइनौ, छामेर हेरूँ।”+ २२ याकुब आफ्नो बुबा इसहाकको नजिकै गए। अनि याकुबलाई छामेपछि तिनले भने: “स्वर त याकुबको हो तर हातहरूचाहिँ एसावकै हुन्।”+ २३ इसहाकले याकुबलाई चिन्न सकेनन् किनभने तिनको हातभरि एसावको जस्तै रौँ नै रौँ थियो। त्यसैले इसहाकले तिनलाई आशिष् दिए।+
२४ इसहाकले फेरि सोधे: “तिमी साँच्चै मेरो छोरा एसाव नै हौ त?” तिनले जवाफ दिए: “हजुर।” २५ त्यसपछि इसहाकले भने: “छोरा, तिमीले सिकार गरेर ल्याएको मासुको परिकार यहाँ ल्याऊ त। त्यो खाएर म तिमीलाई आशिष् दिन्छु।” अनि याकुबले आफूले ल्याएको परिकार इसहाकलाई दिए र तिनले खाए। याकुबले तिनलाई मद्य पनि ल्याइदिए र तिनले पिए। २६ इसहाकले फेरि भने: “बाबु! यता मेरो नजिकै आऊ र मलाई म्वाइँ खाऊ त।”+ २७ तब नजिकै गएर याकुबले आफ्नो बुबालाई म्वाइँ खाए। तिनको लुगाको गन्ध पाएपछि+ इसहाकले यस्तो आशिष् दिए:
“मेरो छोराको लुगाको गन्ध यहोवा परमेश्वरले आशिष् दिनुभएको खेतको गन्धजस्तै छ। २८ साँचो परमेश्वरले तिमीलाई आकाशबाट शीत देऊन्।+ तिमीलाई उर्वर भूमि+ अनि प्रशस्तै अन्न र अङ्गुरको नयाँ मद्य पनि देऊन्।+ २९ मानिसहरूले तिम्रो सेवा गरून् र जातिजातिका मानिसहरू तिमीसामु झुकून्। तिम्रा सबै दाजुभाइ तिम्रो अधीनमा होऊन्, तिम्रा साक्खै दाजुभाइले समेत तिमीलाई दण्डवत् गरून्।+ जसले तिमीलाई सराप्छ, उसलाई सराप लागोस् र जसले तिमीलाई आशिष् दिन्छ, उसले आशिष् पाओस्।”+
३० इसहाकले याकुबलाई आशिष् दिएपछि याकुब त्यहाँबाट निस्केका मात्र के थिए, तिनका दाइ एसाव सिकार गरेर आइपुगे।+ ३१ एसावले पनि मीठो परिकार बनाए र बुबाकहाँ लगे। त्यसपछि एसावले भने: “बुबा, उठ्नुहोस्। मैले सिकार गरेर ल्याएको मासु खानुहोस् र मलाई आशिष् दिनुहोस्।” ३२ तब इसहाकले भने: “तिमी को हौ?” एसावले भने: “म तपाईँको पहिलो सन्तान एसाव हुँ।”+ ३३ तिनको कुरा सुनेर इसहाक थरथर काँपे र सोधे: “त्यसोभए अघि मलाई सिकार ल्याएर खुवाउने को हो त? तिमी आउनुअघि नै मैले खाएँ र उसैलाई आशिष् पनि दिएँ! अब मेरो आशिष् उसैलाई लाग्नेछ!”
३४ आफ्नो बुबाको कुरा सुनेर एसाव डाँको छोडेर रुन थाले र बुबालाई यसो भन्दै जिद्दी गरे: “मलाई पनि आशिष् दिनुहोस् बुबा, मलाई पनि दिनुहोस्!”+ ३५ तर तिनले भने: “तिम्रो भाइले मलाई झुक्क्यायो र तिमीले पाउनुपर्ने आशिष् उसैले लग्यो।” ३६ तब एसावले भने: “त्यसको नाम याकुब* त्यसै भएको हो र? त्यसले दुई-दुई पटक मलाई छल गरिसक्यो।+ त्यसले पहिला मेरो ज्येष्ठ-अधिकार खोसिसक्यो।+ अहिले फेरि मैले पाउनुपर्ने आशिष् पनि खोस्यो।”+ एसावले अझै भने: “बुबा, तपाईँसित अब मेरो लागि एउटै आशिष् बाँकी छैन?” ३७ तब इसहाकले एसावलाई जवाफ दिए: “हेर, मैले उसलाई तिम्रो मालिक बनाइदिएको छु+ र उसका सबै नातागोता उसकै चाकर हुनेछन्। मैले अन्न र नयाँ मद्यले उसलाई भरिपूर्ण पारिदिएको छु।+ बाबु, अब तिमीलाई दिन मसँग अरू के नै बाँकी छ र?”
३८ एसावले बुबालाई भने: “बुबा, तपाईँसँग एउटा मात्र भए पनि आशिष् त बाँकी होला नि! मलाई पनि आशिष् दिनुहोस् बुबा, मलाई पनि दिनुहोस्!” त्यसपछि एसाव डाँको छोडेर रोए।+ ३९ अनि इसहाकले यसो भने:
“तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४० तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+
४१ आफ्नो बुबाले याकुबलाई आशिष् दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।” ४२ आफ्नो जेठो छोरा एसावको कुरा रिबेकाको कानमा परेपछि उनले तुरुन्तै आफ्नो कान्छो छोरा याकुबलाई बोलाउन लगाइन् र यसो भनिन्: “हेर, तिम्रो दाइले तिमीलाई मारेर बदला लिन खोज्दै छ।* ४३ त्यसैले छोरा, मैले भनेको मान। यहाँबाट भाग र हारानमा तिम्रो मामा लाबानको घरमा जाऊ।+ ४४ केही दिन त्यहीँ बस अनि जब तिम्रो दाइको रिस सेलाउँछ, ४५ तब तिमीले गरेको कुरा उसले बिर्सिनेछ अनि म तिमीलाई लिन पठाउँला। नत्र तिमीहरू दुवैको वियोग मैले एकै दिनमा कसरी सहनु?”
४६ त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्न थालिन्: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+
२८ त्यसकारण इसहाकले याकुबलाई बोलाए अनि तिनलाई आशिष् दिनुका साथै यो आज्ञा पनि दिए: “तिमीले कनानी केटीहरूसित कुनै पनि हालतमा बिहे नगर्नू।+ २ बरु पद्दान-अराममा तिम्रा हजुरबुबा बतुएलकहाँ जाऊ र तिम्रो मामा लाबानकी छोरीहरूमध्ये एउटीसित बिहे गर।+ ३ यसो गऱ्यौ भने सर्वशक्तिमान् परमेश्वरले तिमीलाई आशिष् दिनुहुनेछ र तिम्रा धेरै सन्तान हुनेछन्। अनि तिम्रा सन्तानबाट विभिन्न कुल मिलेर बनेको एउटा ठूलो समुदाय निस्कनेछ।+ ४ उहाँले तिम्रो हजुरबुबा अब्राहामलाई दिनुभएको आशिष् तिमी र तिम्रा सन्तानलाई पनि दिनुहुनेछ।+ परमेश्वरले अब्राहामलाई दिनुभएको यो भूमि जहाँ अहिले तिमी प्रवासी भएर बसिरहेका छौ, ती सबै तिम्रो हुनेछ।”+
५ त्यसपछि इसहाकले याकुबलाई बिदा गरे र याकुब पद्दान-अराममा लाबानकहाँ गए। लाबान अरामी+ बतुएलका छोरा अनि याकुब र एसावकी आमा रिबेकाका दाइ थिए।+
६ आफ्नो बुबा इसहाकले याकुबलाई आशिष् दिएको, पद्दान-अराममा केटी खोज्न पठाएको र तिनलाई आशिष् दिँदा “कनानी केटीसित कुनै हालतमा बिहे नगर्नू” भनेर आज्ञा दिएको कुरा एसावले थाह पाएका थिए।+ ७ अनि आफ्ना आमाबुबाको आज्ञा पालन गरेर याकुब पद्दान-अरामतिर लागेको कुरा पनि एसावलाई थाह थियो।+ ८ बुबालाई कनानी केटीहरू मन पर्दैन रहेछ भनेर तब एसावले बुझे।+ ९ त्यसैले तिनी अब्राहामका छोरा इस्माएलकहाँ गए र इस्माएलकी छोरी, नबायोथकी बहिनी महलाथसित तिनले बिहे गरे। एसावका अरू पत्नीहरू पनि थिए।+
१० याकुब बेर्सेबाबाट हारानतिर लागे।+ ११ हिँड्दा-हिँड्दै घाम पनि अस्तायो। त्यसैले तिनले बीच बाटोमै रात काट्ने विचार गरे। तिनले एउटा ढुङ्गा लिए र त्यसलाई सिरानी बनाएर त्यहीँ सुते।+ १२ तिनले एउटा सपना देखे। तिनले सपनामा पृथ्वीबाट स्वर्गसम्मै पुग्ने एउटा भऱ्याङ देखे। त्यहाँबाट स्वर्गदूतहरू ओर्लने र उक्लने गर्दा रहेछन्।+ १३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो:
“म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+ १४ तिम्रा सन्तान बालुवाजस्तै गन्नै नसक्नेगरि धेरै हुनेछन्।+ तिम्रा सन्तानले पूर्व-पश्चिम, उत्तर-दक्षिण चारैतिरको इलाका ढाक्नेछन्। अनि तिमी र तिम्रा सन्तानद्वारा पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।*+ १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+
१६ तब याकुब निद्राबाट झल्याँस्स ब्युँझे र तिनले भने: “ओहो! यस ठाउँमा यहोवा परमेश्वर हुनुहुँदो रहेछ र मलाई यो कुरा थाहै थिएन।” १७ तिनी डराए र यसो भने: “यो साधारण ठाउँ होइन, पवित्र ठाउँ हो! यो परमेश्वरकै घर हुनुपर्छ+ अनि स्वर्ग जाने ढोका पनि यहीँ रहेछ!”+ १८ तब याकुब बिहान सबेरै उठे र आफूले सिरानी बनाएको ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याए।+ १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+
२० त्यसपछि याकुबले यसो भनेर भाकल गरे: “हे परमेश्वर, यदि तपाईँ मसँग रहनुभयो, बाटोमा मेरो रक्षा गर्नुभयो अनि मलाई रोटी र लुगाफाटा जुटाइदिनुभयो २१ र अन्तमा म सकुशल बुबाको घर फर्कन पाएँ भने तपाईँ साँच्चै मेरा परमेश्वर यहोवा हुनुहुँदो रहेछ भनेर म थाह पाउनेछु। २२ तब मैले ठड्याएको यो ढुङ्गा तपाईँको घर हुनेछ+ र तपाईँले मलाई दिनुभएको सबै थोकको दस भागको एक भाग म सधैँ तपाईँलाई चढाउनेछु।”
२९ त्यसपछि याकुबले आफ्नो यात्रा जारी राखे। तिनी पूर्वतिर* लागे। २ अनि हिँड्दा-हिँड्दा तिनी भेडा चर्ने चौरमा आइपुगे र तिनले त्यहाँ एउटा इनार देखे। इनारको वरपर तीन बगाल भेडा बसिरहेका थिए। गोठालाहरूले त्यही इनारबाट आफ्नो बगाललाई पानी खुवाउने गर्थे। त्यस इनारको मुख ठूलो ढुङ्गाले बन्द गरिएको थियो। ३ त्यहाँ सबै बगाल ल्याइसकेपछि गोठालाहरू त्यो ढुङ्गा हटाउँथे र बगाललाई पानी खुवाउँथे। त्यसपछि त्यस ढुङ्गाले इनारको मुख फेरि बन्द गर्थे।
४ याकुबले तिनीहरूलाई सोधे: “हे मेरा भाइहरू हो, तपाईँहरू कहाँका हुनुहुन्छ?” तिनीहरूले जवाफ दिए: “हामी हारानका हौँ।”+ ५ याकुबले तिनीहरूलाई फेरि सोधे: “तपाईँहरू नाहोरको+ नाति लाबानलाई+ चिन्नुहुन्छ?” तिनीहरूले भने: “चिन्छौँ।” ६ त्यसपछि याकुबले सोधे: “उहाँलाई कस्तो छ?” तिनीहरूले भने: “उहाँ सन्चै हुनुहुन्छ। ऊ, भेडाहरू लिएर आउँदै गरेकी ती केटी उहाँकै छोरी राहेल हुन्!”+ ७ त्यसपछि तिनले भने: “अझै आधा दिन बाँकी छ। बगाललाई जम्मा गरेर गोठतिर लाने बेला पनि भइसकेको छैन। तपाईँहरू किन भेडाहरूलाई पानी खुवाएर फेरि चराउन लैजानुहुन्न?” ८ तिनीहरूले जवाफ दिए: “अरूको बगाल पनि आउन बाँकी छ। यहाँको चलनअनुसार सबैको बगाल जम्मा नभएसम्म पानी खुवाउन पाइँदैन। सबै जना आएपछि मात्र हामी इनारको मुखको ढुङ्गा हटाउँछौँ र बगाललाई पानी खुवाउँछौँ।”
९ याकुब तिनीहरूसित कुरा गरिरहेकै बेला राहेल आफ्नो बुबाका भेडाहरू लिएर आइपुगिन्। तिनी भेडा गोठाल्नी थिइन्। १० आफ्ना मामाकी छोरी राहेल र मामाका भेडाहरू देख्नेबित्तिकै याकुबले तुरुन्तै इनारको मुखको ढुङ्गा हटाएर भेडाहरूलाई पानी खुवाए। ११ त्यसपछि याकुबले राहेललाई म्वाइँ खाए* र डाँको छोडेर रुन थाले। १२ अनि याकुबले आफू तिनको बुबाको नातेदार* र रिबेकाको छोरा हुँ भनी राहेललाई बताए। तब राहेलले झट्टै गएर आफ्नो बुबालाई यो कुरा बताइन्।
१३ आफ्नो भान्जा आएका छन् भनेर सुन्नेबित्तिकै लाबान+ याकुबलाई भेट्न गइहाले। याकुबलाई भेटेपछि लाबानले तिनलाई अङ्गालो हाले, म्वाइँ खाए र घरमा लगे। अनि याकुबले पनि आफ्नो सबै कुरा लाबानलाई बताए। १४ लाबानले तिनलाई भने: “तिमी मेरै हाड र मासु हौ।”* याकुब लाबानकहाँ एक महिना बसे।
१५ त्यसपछि लाबानले याकुबलाई भने: “हुनत तिमी मेरो नातेदार* हौ+ तर त्यसो भन्दैमा तिमीले मकहाँ सित्तैँमा काम गर्नुपर्दैन। मलाई भन, तिमीलाई ज्याला कति चाहिन्छ?”+ १६ लाबानका दुई छोरी थिए। जेठीको नाम लेआ र कान्छीको नाम राहेल थियो।+ १७ लेआको आँखामा चमक थिएन तर राहेल भने असाध्यै हिसी परेकी र राम्री थिइन्। १८ याकुबको राहेलसँग माया बसिसकेको थियो। त्यसैले तिनले भने: “तपाईँकी कान्छी छोरी राहेलसित मेरो बिहे गरिदिनुहुन्छ भने म सात वर्ष तपाईँकहाँ काम गर्न राजी छु।”+ १९ याकुबको कुरा सुनेर लाबानले भने: “अरूलाई छोरी दिनुभन्दा त तिमीलाई दिनु नै बेस। हुन्छ, मसँगै बस।” २० राहेललाई पाउन याकुबले सात वर्ष लाबानकहाँ काम गरे।+ तर तिनलाई सात वर्ष पलभरमै बितेजस्तो लाग्यो किनभने तिनी राहेललाई असाध्यै प्रेम गर्थे।
२१ त्यसपछि याकुबले लाबानलाई भने: “मैले तपाईँकहाँ काम गरेको सात वर्ष पूरा भयो। अब राहेलसित मेरो बिहे गराइदिनुहोस्।”* २२ अनि लाबानले त्यस ठाउँका सबै मानिसलाई बोलाएर भोज दिए। २३ लाबान याकुबलाई झुक्क्याएर तिनको बिहे लेआसित गराइदिन चाहन्थे।* त्यसैले साँझ परेपछि लाबानले याकुबकहाँ राहेलको साटो लेआलाई लगिदिए। २४ लाबानले आफ्नी छोरी लेआको सेवा गर्न आफ्नी दासी जिल्पाह पनि लेआलाई दिए।+ २५ याकुबले भोलिपल्ट बिहान हेर्दा राहेलको सट्टा लेआ पो रहेछिन्! त्यसैले तिनले लाबानलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले राहेलसित बिहे गर्न तपाईँकहाँ काम गरेको होइन? तपाईँले मलाई किन झुक्क्याउनुभयो?”+ २६ त्यसपछि लाबानले भने: “हाम्रो चलनअनुसार जेठी हुँदाहुँदै कान्छीको बिहे पहिला गरिदिनु हुँदैन। २७ यो एक हप्ता लेआसँगै बिताऊ। त्यसपछि म राहेलको बिहे पनि तिमीसितै गरिदिन्छु। तर तिमीले अर्को सात वर्ष मकहाँ काम गर्नुपर्छ।”+ २८ याकुबले त्यसै गरे; तिनले लेआसँग पूरै एक हप्ता बिताए। त्यसपछि लाबानले याकुबसितै राहेलको बिहे गराइदिए। २९ अनि लाबानले आफ्नी छोरी राहेलको सेवा गर्न आफ्नी दासी बिल्हा+ पनि राहेललाई दिए।+
३० याकुबले राहेलसँग पनि सम्बन्ध राखे। तिनी लेआलाई भन्दा राहेललाई धेरै प्रेम गर्थे। त्यसैले याकुबले अर्को सात वर्ष लाबानकहाँ काम गरे।+ ३१ याकुबले लेआलाई माया नगरेको* यहोवा परमेश्वरले देख्नुभयो। त्यसैले उहाँले लेआको कोख खोलिदिनुभयो+ तर राहेल भने बाँझी थिइन्।+ ३२ लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रुबेन*+ राखिन्। तिनले यसो भनिन्: “यहोवा परमेश्वरले मेरो पीडा बुझ्नुभएको छ।+ अब त मेरा पतिले मलाई माया गर्नुहुनेछ।” ३३ लेआ फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। तिनले उसको नाम सिमियोन* राखिन्।+ तिनले यसो भनिन्: “यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो। मेरा पतिले मलाई माया नगरेको परमेश्वरले देख्नुभयो। त्यसैले उहाँले मलाई अर्को छोरा पनि दिनुभयो।” ३४ त्यसपछि तिनी फेरि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम लेवि* राखिन्।+ तिनले यसो भनिन्: “अब त मेरो पति मसँग नजिक हुनुहुनेछ किनभने मैले उहाँको लागि तीन जना छोरा जन्माइसकेँ।” ३५ त्यसपछि तिनी फेरि एक चोटि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम यहुदा* राखिन्।+ तिनले यसो भनिन्: “अब म यहोवा परमेश्वरको प्रशंसा गर्छु।” त्यसपछि तिनका अरू सन्तान भएनन्।
३० आफ्नो एउटै छोराछोरी नभएकोले राहेलले आफ्नी दिदीको डाह गर्न थालिन् र याकुबलाई यसो भनिन्: “मलाई पनि छोराछोरी दिनुहोस् नत्र म मर्छु।” २ यो कुरा सुनेर याकुब राहेलसित रिसले झोकिए र यसो भने: “परमेश्वरले नै तिम्रो कोख बन्द गरिदिनुभएको छ, तिमी किन मसित गुनासो गर्छ्यौ? के म परमेश्वर हुँ र?” ३ त्यसपछि तिनले भनिन्: “मेरी दासी बिल्हा+ तपाईँलाई दिन्छु। गएर ऊसित सम्बन्ध राख्नुहोस् र उसले मेरो निम्ति छोराछोरी जन्माओस् अनि ऊमार्फत मेरा पनि सन्तान हुनेछन्।” ४ त्यसपछि तिनले आफ्नी दासी बिल्हा याकुबलाई दिइन् र याकुब तिनीसित सुते।+ ५ अनि बिल्हा गर्भवती भइन् र एउटा छोरा जन्माइन्। ६ तब राहेलले भनिन्: “परमेश्वरले मेरो न्याय गर्नुभयो। उहाँले मेरो पुकारा सुन्नुभयो र मलाई एउटा छोरा दिनुभयो।” त्यसैले तिनले छोराको नाम दान* राखिन्।+ ७ राहेलकी दासी बिल्हा फेरि गर्भवती भइन् र याकुबको निम्ति अर्को छोरा जन्माइन्। ८ अनि राहेलले भनिन्: “मैले भएभरको बल लगाएर दिदीसित कुस्ती लडेँ र अन्तमा मैले पनि जितेँ।” त्यसैले तिनले छोराको नाम नप्तालि* राखिन्।+
९ जब लेआले आफ्नो कोख बन्द भएको थाह पाइन्, तब तिनले आफ्नी दासी जिल्पाह याकुबलाई दिइन्।+ १० अनि लेआकी दासी जिल्पाहले एउटा छोरा जन्माइन्। ११ त्यसपछि लेआले भनिन्: “मैले कत्ति ठूलो आशिष् पाएँ!” त्यसैले तिनले छोराको नाम गाद* राखिन्।+ १२ त्यसपछि लेआकी दासी जिल्पाहले याकुबबाट अर्को छोरा जन्माइन्। १३ अनि लेआले भनिन्: “म कत्ति सुखी! स्त्रीहरूले मलाई पक्कै सुखी भन्नेछन्।”+ त्यसैले तिनले उसको नाम असेर* राखिन्।+
१४ गहुँ काट्ने बेला रुबेन+ खेतमा डुलिरहेका थिए र तिनले त्यहाँ केही दूधेफल* भेट्टाए। तिनले त्यो दूधेफल टिपेर आफ्नी आमा लेआलाई दिए। अनि राहेलले लेआलाई यस्तो आग्रह गरिन्: “तपाईँको छोराले ल्याएको दूधेफल मलाई पनि अलिकति दिनुहोस्।” १५ तर लेआले तिनलाई यस्तो जवाफ दिइन्: “तिमीले मेरो पति त खोस्यौ-खोस्यौ,+ अब मेरो छोराले ल्याएको दूधेफल पनि खोस्छ्यौ?” अनि राहेलले भनिन्: “त्यसोभए तपाईँको छोराले ल्याएको दूधेफल मलाई दिनुहोस्। त्यसको साटो आजको रात तपाईँ उहाँसित सुत्नुहोस्।”
१६ त्यस साँझ याकुब भेडा चराएर फर्कँदै गर्दा लेआ तिनलाई भेट्न गइन् र भनिन्: “तपाईँले आजको रात मसँग बिताउनुपर्छ। किनभने मेरो छोराले ल्याएको फल दिएर मैले तपाईँलाई भाडामा लिएकी छु।” त्यसैले याकुबले त्यो रात लेआसँग बिताए। १७ परमेश्वरले लेआको बिन्ती सुन्नुभयो र तिनी गर्भवती भइन्। अनि तिनले पाँचौँ छोरा जन्माइन्। १८ तब लेआले भनिन्: “मैले आफ्नी दासी मेरो पतिलाई दिएँ। त्यसैले परमेश्वरले मलाई ज्याला दिनुभएको छ।” त्यसैले तिनले छोराको नाम इस्साकार* राखिन्।+ १९ लेआ फेरि गर्भवती भइन् र छैटौँ छोरा जन्माइन्।+ २० अनि लेआले भनिन्: “परमेश्वरले मेरो पोल्टो प्रशस्तगरि भरिदिनुभएको छ। अब भने मेरा पतिले मलाई स्विकार्नुहुनेछ।+ किनभने मैले उहाँको निम्ति छ जना छोरा जन्माइसकेँ।”+ त्यसैले तिनले छोराको नाम जबुलुन* राखिन्।+ २१ पछि तिनले एउटी छोरी पनि जन्माइन् र उसको नाम दिना राखिन्।+
२२ आखिरमा परमेश्वरले राहेललाई सम्झनुभयो र तिनको बिन्ती सुनेर तिनको कोख खोलिदिनुभयो।+ २३ तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। अनि तिनले भनिन्: “परमेश्वरले मेरो कलङ्क मेटाइदिनुभयो।”+ २४ त्यसैले तिनले छोराको नाम युसुफ* राखिन्+ अनि यसो भनिन्: “यहोवा परमेश्वरले मलाई अर्को एउटा छोरा दिनुभयो।”
२५ राहेलले युसुफलाई जन्माएको केही समय नबित्दै याकुबले लाबानलाई भने: “अब मलाई बिदा दिनुहोस्, म आफ्नो घर फर्कन चाहन्छु।+ २६ मलाई मेरा पत्नीहरू अनि मेरा छोराछोरी लैजान दिनुहोस्, जसको निम्ति मैले तपाईँको सेवा गरेँ। अब मलाई जान दिनुहोस् किनभने मैले तपाईँकहाँ राम्ररी काम गरेको छु भनेर तपाईँलाई थाहै छ।”+ २७ लाबानले तिनलाई यस्तो जवाफ दिए: “तिम्रै कारणले यहोवा परमेश्वरले मलाई आशिष् दिनुभएको छ भनेर मैले शकुनहरू हेरेर* पत्ता लगाएको छु। यदि मैले तिम्रो निगाह पाएको छु भने बिन्ती छ, यहीँ मसँगै बस।” २८ अनि तिनले अझै यसो भने: “बरु ज्याला कति चाहिन्छ, भन। म तिमीले मागेजति दिन्छु।”+ २९ याकुबले तिनलाई भने: “मैले तपाईँकहाँ कति धेरै काम गरेँ अनि तपाईँका वस्तुभाउ कति सप्रेका छन्, त्यो तपाईँलाई थाहै छ।+ ३० म आउनुअघि तपाईँका वस्तुभाउ थोरै थिए तर अहिले बढेर असाध्यै धेरै भएका छन्। म आएदेखि तपाईँमाथि यहोवा परमेश्वरको आशिष्को ओइरो लागेको छ। तर मैले आफ्नो परिवारको लागि चाहिँ कहिले बन्दोबस्त मिलाउने?”+
३१ अनि लाबानले भने: “त्यसोभए ल भन, म तिमीलाई के दिऊँ त?” याकुबले जवाफ दिए: “मलाई तपाईँको केही पनि चाहिँदैन। तर तपाईँले मेरो लागि एउटा कुरा गर्नुभयो भने म तपाईँको बगाल चराइरहन्छु अनि तिनीहरूको हेरचाह पनि गरिरहन्छु।+ ३२ आज हामी दुवै गोठमा जाऔँ। त्यसपछि तपाईँले आफ्नो बगालबाट टाटेपाटे र थोप्ले भेडाहरू, गाढा खैरो रङ्गका पट्ठो थुमाहरू अनि थोप्ले र टाटेपाटे बाख्रीहरू छुट्ट्याउनुहोस्। अबदेखि जन्मने यस्ता भेडाबाख्रा मेरो ज्याला होऊन्।+ ३३ अनि कुनै दिन तपाईँ मैले ज्यालास्वरूप लिएको भेडाबाख्रा हेर्न आउनुहुँदा मेरो इमानदारी जाँच्नुहोला। यदि मेरो बगालमा टाटेपाटे र थोप्लेबाहेक अरू रङ्गका बाख्री भेटिए अनि गाढा खैरोबाहेक अरू रङ्गका पट्ठो थुमा भेटिए भने ती सबै मैले चोरेको ठहरिऊन्।”
३४ लाबानले भने: “हुन्छ, तिमीले भनेझैँ होस्।”+ ३५ अनि त्यही दिन लाबानले धर्के र थोप्ले बोकाहरू अनि टाटेपाटे र थोप्ले बाख्रीहरू अलग पारे। तिनले सेतो रङ्गको सानो थोप्लो भएकाहरूलाई समेत अलग पारे। तिनले गाढा खैरो रङ्गका पट्ठो थुमाहरूलाई पनि छुट्ट्याए। त्यसपछि तिनले ती सबै आफ्ना छोराहरूको जिम्मा लगाए। ३६ त्यसपछि लाबानले आफ्नो बगाललाई त्यहाँबाट हिँडेर तीन दिन लाग्ने ठाउँमा पठाए। अनि याकुबले लाबानको बाँकी बगाल चराउन थाले।
३७ याकुबले भर्खरै काटिएका जामुन, हाडे बदाम र कटुसको रूखका हाँगाहरू लिए अनि ती हाँगाहरूको भित्र भएको सेतो भाग देखिनेगरि ठाउँठाउँमा बोक्रा ताछेर ती हाँगाहरूलाई टाटेपाटे बनाए। ३८ त्यसपछि तिनले ती हाँगाहरूलाई भेडाबाख्राले पानी खाने कुलो र डुँडमा राखे। ती भेडाबाख्रा पानी खान आउँदा तिनीहरू हाँगाहरूको सामने बाली लागून्* भनेर तिनले त्यसो गरेका थिए।
३९ हुन पनि ती हाँगाहरू राखिएको कुलोमा पानी खान आउनेजति सबै भालेपोथी बाली लाग्थे र तिनीहरूले धर्के, टाटेपाटे र थोप्ले पाठापाठी ब्याउँथे। ४० त्यसपछि याकुबले यी पाठापाठीलाई अलग्गै राखे। अनि लाबानको भेडाबाख्रालाई चाहिँ धर्के र गाढा खैरो रङ्गका भेडाबाख्रा भएतिर फर्काइदिए। अनि तिनले आफ्नो भागमा परेका भेडाबाख्रालाई लाबानका भेडाबाख्राबाट छुट्ट्याए, तिनीहरूलाई मिसाएनन्। ४१ अनि बलिया-बलिया भेडाबाख्रा बाली लाग्ने बेला हुँदा याकुबले पानी खाने कुलोमा ती हाँगाहरू राखिदिन्थे र भेडाबाख्रा ती हाँगाहरूको सामने बाली लाग्थे। ४२ तर कमजोर भेडाबाख्रा बाली लाग्ने बेलामा चाहिँ याकुबले त्यहाँ ती हाँगाहरू राख्दैनथे। यसरी बलिया भेडाबाख्रा सबै याकुबका अनि कमजोर भेडाबाख्राचाहिँ लाबानका भए।+
४३ यसरी याकुब अत्यन्तै धनी भए। तिनीसँग भेडाबाख्रा, नोकरचाकर, उँट र गधाहरू प्रशस्तै भए।+
३१ एकदिन लाबानका छोराहरूले यसो भनिरहेको याकुबले सुने: “याकुबले हाम्रो बुबाको सबै थोक कुम्ल्याइसक्यो। हाम्रै बुबाको सम्पत्तिमाथि रजाइँ गरेर त्यसले यत्तिका धनसम्पत्ति जोडिसक्यो।”+ २ अनि याकुबले लाबानको अनुहारको भावबाटै तिनी बदलिएका छन् भनेर थाह पाए। तिनी याकुबसित पहिलेजस्तो व्यवहार गर्दैनथे।+ ३ त्यसैले यहोवा परमेश्वरले याकुबलाई भन्नुभयो: “तिम्रा पुर्खा र तिम्रा नातेदारको ठाउँमा फर्क,+ त्यहाँ पनि म तिमीसँगै हुनेछु।” ४ त्यसपछि याकुबले राहेल र लेआलाई आफूले बगाल चराइरहेको ठाउँमा आउनू भनी खबर पठाए। ५ अनि याकुबले तिनीहरूलाई भने:
“तिमीहरूको बुबाको व्यवहार पहिलाभन्दा फरक भएको मैले याद गरिरहेको छु।+ तर मेरो बुबाको परमेश्वरले मलाई त्याग्नुभएको छैन।+ ६ मैले दिनरात नभनी तिमीहरूको बुबाको सेवा गरेको छु भनेर तिमीहरूलाई थाहै छ।+ ७ तिमीहरूका बुबाले मलाई ठग्न खोज्नुभयो र मेरो ज्याला १०-१० चोटि बदल्नुभयो। तैपनि परमेश्वरको कृपाले गर्दा तिमीहरूका बुबाले मेरो हानि गर्न पाउनुभएन। ८ तिमीहरूका बुबाले ‘टाटेपाटेजति तिम्रो ज्याला होस्’ भन्दा सारा बगालले टाटेपाटे नै ब्याए अनि ‘धर्केजति तिम्रो ज्याला होस्’ भन्दा सारा बगालले धर्के नै ब्याए।+ ९ यसरी परमेश्वरले तिमीहरूका बुबाको बगालबाट भेडाबाख्रा खोसेर मलाई दिइरहनुभयो। १० एकचोटि पशुहरू बाली लाग्ने* बेला मैले सपना देखेको थिएँ। सपनामा मैले धर्के, टाटेपाटे र थोप्ले बोकाहरू बाख्रीहरूसित बाली लागिरहेका देखेँ।+ ११ अनि साँचो परमेश्वरका दूतले मलाई ‘याकुब!’ भनेर बोलाए। अनि मैले ‘हजुर’ भनेँ। १२ त्यसपछि तिनले मलाई भने: ‘बगाललाई हेर त, बाख्रीहरूसित बाली लागिरहेका बोकाहरूजति सबै धर्के, टाटेपाटे र थोप्ले रङ्गका छन्। तिमीसित लाबानले गरिरहेको व्यवहार मैले देखेको छु।+ १३ म बेथेलको साँचो परमेश्वर हुँ,+ जहाँ तिमीले ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+
१४ अनि राहेल र लेआले याकुबलाई भने: “हाम्रो बुबाले ‘ल लेओ तिमीहरूको भाग’ भनेर के नै दिनुहोला र? १५ उहाँले हामीलाई बेचेर अनि त्यसबाट पाएको पैसा आफैले चलाएर हामीलाई पराई बनाउनुभएको छैन र?+ १६ परमेश्वरले हाम्रा बुबाको हातबाट खोसेर लिनुभएका सबै थोक हाम्रो र हाम्रा छोराछोरीका हुन्।+ त्यसैले परमेश्वरले तपाईँलाई जसो भन्नुभएको छ, त्यसै गर्नुहोस्।”+
१७ तब याकुब उठे र आफ्ना बालबच्चा अनि पत्नीहरूलाई उँटमा चढाए।+ १८ अनि आफूले पद्दान-अराममा छँदा कमाएका सबै बगाल अनि सबै धनसम्पत्ति लिएर+ आफ्ना बुबा इसहाकको घर कनानतिर फर्के।+
१९ यतिखेर लाबान भेडाको ऊन कत्रन गएका थिए र त्यही मौका छोपेर राहेलले आफ्नो बुबाको+ कुलदेवताका मूर्तिहरू*+ चोरिन्। २० याकुब आफ्नो अरामी ससुरा लाबानलाई सुइँको नदिई त्यहाँबाट सुटुक्क हिँडे। २१ तिनी आफूसँग भएका सबै थोक लिएर भागे र युफ्रेटिस नदीपारि पुगे।+ त्यसपछि तिनी गिलादको पहाडी इलाकातिर लागे।+ २२ याकुब कसैलाई खबर नगरी गएछन् भनेर लाबानले तेस्रो दिनमा मात्र थाह पाए। २३ त्यसैले लाबानले आफ्ना दाजुभाइ* लिएर याकुबलाई भेट्टाउन पछिपछि गए। सात दिनपछि तिनले याकुबलाई गिलादको पहाडी इलाकामा भेट्टाए। २४ तब परमेश्वर अरामी+ लाबानकहाँ राती सपनामा+ प्रकट हुनुभयो र भन्नुभयो: “तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।”+
२५ याकुब गिलादको पहाडी इलाकामा पाल टाँगेर बास बसेका थिए। त्यसैले लाबान र तिनका दाजुभाइ पनि त्यतैतिर पाल टाँगेर बास बसे। त्यसपछि लाबान याकुबलाई भेट्न गए २६ अनि तिनलाई भने: “मलाई झुक्क्याएर अनि मेरा छोरीहरूलाई युद्धबन्दीजस्तै बनाएर तिमीले यो के गरेको? २७ मलाई नभनी यसरी सुटुक्क भाग्नुपर्ने त्यस्तो के पऱ्यो? कम से कम मलाई खबर गरेको भए खैँजडी र वीणा बजाएर गीत गाउँदै म तिमीलाई बिदा गर्ने थिएँ। २८ तर तिमीले मेरा छोरीहरू र नातिनातिनालाई म्वाइँ खाएर बिदाबारी गर्ने मौकासमेत दिएनौ। तिमीले यो ठीक गरेनौ! २९ मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु तर तिम्रो पुर्खाका परमेश्वरले राती मलाई सपनामा यसो भन्नुभएको थियो: ‘तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।’+ ३० आफ्नो बुबाको ठाउँमा फर्कने इच्छा गरेर तिमी हिँड्यौ, ठीकै छ। तर तिमीले मेरा मूर्तिहरूचाहिँ किन चोऱ्यौ?”+
३१ याकुबले लाबानलाई जवाफ दिए: “तपाईँले आफ्ना छोरीहरू बलजफती खोस्नुहोला भनेर डर लागेकोले म भागेको हुँ। ३२ तर तपाईँका मूर्तिहरू हामीले लिएका छैनौँ। हामीमध्ये जोसित त्यो भेट्टाउनुहुन्छ, त्यसले आफ्नो ज्यान गुमाउनेछ। अब हाम्रा यी दाजुभाइसामु हाम्रो खानतलासी गर्नुहोस् र तपाईँको कुनै सामान फेला पऱ्यो भने लैजानुहोस्।” राहेलले लाबानका मूर्तिहरू चोरेकी छिन् भनेर याकुबलाई थाहै थिएन। ३३ तब लाबान याकुबको पालमा गए। त्यसपछि तिनी लेआ र दुई जना दासीको+ पालमा पनि गए। तर तिनले त्यहाँ आफ्ना मूर्तिहरू फेला पारेनन्। अनि तिनी लेआको पालबाट निस्केर राहेलको पालमा पसे। ३४ राहेलले लाबानको कुलदेवताका मूर्तिहरूलाई उँटको काठीमा राखेकी थिइन् र तिनी त्यसैमाथि थपक्क बसेकी थिइन्। लाबानले राहेलको पालमा मूर्तिहरू धुइँधुइँती खोजे तैपनि फेला पार्न सकेनन्। ३५ अनि राहेलले आफ्नो बुबालाई भनिन्: “बुबा, रिसानी माफ होस्। म अहिले उठ्न सक्दिनँ किनभने म नछुने भएकी छु।”+ लाबानले आफ्ना कुलदेवताका मूर्तिहरू धुइँधुइँती खोजे तर कतै फेला पार्न सकेनन्।+
३६ तब याकुब लाबानसँग रिसाए र झोकिँदै भने: “मैले के बिराएको थिएँ र? तपाईँ किन यसरी मलाई खेद्दै हुनुहुन्छ? ३७ तपाईँले मेरो खानतलासी गर्नुभयो। तर खै, के फेला पार्नुभयो? फेला पार्नुभएको छ भने हाम्रा दाजुभाइसामु त्यो राख्नुहोस् र उहाँहरूले नै हाम्रो निसाफ गरून्। ३८ मैले २० वर्ष तपाईँको सेवा गरेँ। तपाईँको एउटै भेडाबाख्रा तुहिएन+ अनि तपाईँको बगालबाट मैले एउटा भेडा पनि खाइनँ। ३९ जङ्गली जनावरले तपाईँको भेडाबाख्रालाई लुछेर मार्दा+ पनि मैले तपाईँकहाँ तिनीहरूको सिनु ल्याइनँ बरु उल्टो आफैले क्षतिपूर्ति गरिदिएँ। कुनै भेडाबाख्रा, चाहे दिनमा चोरिएको होस् वा रातमा, तपाईँ मलाई नै त्यसको क्षतिपूर्ति तिराउनुहुन्थ्यो। ४० मैले दिउँसोको टन्टलापुर घाम भनिनँ, रातको कठाङ्ग्रिने जाडो भनिनँ, निद्रा भनिनँ।+ ४१ तपाईँका दुई छोरीको लागि मैले १४ वर्ष काम गरेँ अनि अर्को ६ वर्ष तपाईँका भेडाबाख्रा चराएँ। यसरी मैले तपाईँकहाँ २० वर्ष बिताएँ। ती वर्षहरूमा तपाईँले मेरो ज्याला १०-१० चोटि बदल्नुभयो।+ ४२ मेरा हजुरबुबा अब्राहामका परमेश्वर अनि मेरा बुबा+ इसहाकले भय मान्ने परमेश्वर+ मसित नहुनुभएको भए तपाईँले मलाई रित्तो हात पठाउनुहुने थियो। परमेश्वरले मेरो दुःख अनि मेरो परिश्रम देख्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई हिजो राती हप्काउनुभयो।”+
४३ त्यसपछि लाबानले जवाफ दिए: “यी छोरीहरू आखिरमा मेरै छोरी हुन्। तिनीहरूबाट जन्मेका छोराछोरी मेरै नातिनातिना हुन् अनि तिम्रा यी बगालहरू पनि आखिरमा मेरै बगाल हुन्। तिमीसित जे छ, ती सबै मेरा र मेरा छोरीहरूकै हुन्। त्यसैले मेरा छोरीहरू र तिनीहरूले जन्माएका मेरा नातिनातिनालाई म के नै हानि गर्न सक्छु र? ४४ अब आऊ, हामी एउटा करार गरौँ र त्यो हामीबीच साक्षी होस्।” ४५ त्यसैले याकुबले एउटा ढुङ्गा ल्याए र त्यसलाई ठड्याए।+ ४६ त्यसपछि तिनले आफ्ना दाजुभाइलाई भने: “तपाईँहरू पनि ढुङ्गा ल्याउनुहोस्!” अनि तिनीहरूले ढुङ्गा ल्याए र थुप्रो लगाए। त्यसपछि तिनीहरूले त्यही ढुङ्गाको थुप्रोमाथि खानपिन गरे। ४७ लाबानले त्यस ठाउँको नाम यगर-सहदुथा* राखे तर याकुबले चाहिँ गालेद* राखे।
४८ अनि लाबानले भने: “यो ढुङ्गाको थुप्रो आज हामीले गरेको करारको साक्षी हो।” त्यसैले त्यस ठाउँको नाम गालेद+ ४९ अनि मिस्पा* राखियो किनकि लाबानले याकुबलाई यसो भनेका थिए: “हामी छुट्टिएर आ-आफ्नो बाटो लागेपछि हामी यस करारअनुसार चल्छौँ कि चल्दैनौँ भनेर यहोवा परमेश्वरले हामी दुवैमाथि नजर राखून्। ५० यदि तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गऱ्यौ र अरू पत्नीहरू ल्यायौ अनि त्यतिखेर कसैले तिमीलाई देखेन भने पनि यो कुरा नबिर्स, परमेश्वरले त्यो देख्नुहुन्छ र उहाँ हामीबीच साक्षी हुनुहुन्छ।” ५१ लाबानले याकुबलाई अझै यसो भने: “हेर, यो ढुङ्गाको थुप्रो अनि तिमी र मैले गरेको करारको चिन्हस्वरूप मैले ठड्याएको यो ढुङ्गा तिम्रै सामु छ। ५२ मैले ठड्याएको यो ढुङ्गा र यस ढुङ्गाको थुप्रो अबदेखि हाम्रो साक्षी हुनेछ।+ तिमीलाई हानि गर्न म यसलाई नाघेर आउनेछैनँ र तिमी पनि मलाई हानि गर्न यसलाई नाघेर आउनेछैनौ भनेर यस ढुङ्गाको थुप्रो र मैले ठड्याएको ढुङ्गा साक्षी भयो। ५३ अब्राहामका परमेश्वर,+ नाहोरका परमेश्वर अनि तिनीहरूका बुबाका परमेश्वरले नै हाम्रो न्याय गरून्।” अनि आफ्नो बुबा इसहाकले भय मान्ने+ परमेश्वरको नाममा याकुबले शपथ खाए।
५४ त्यसपछि याकुबले त्यस पहाडमा बलि चढाए र आफ्ना दाजुभाइलाई बोलाएर खानपिन गरे। तिनीहरूले त्यहीँ रात बिताए। ५५ लाबान भोलिपल्ट बिहान सबेरै उठे। तिनले आफ्ना छोरीहरू अनि नातिनातिनालाई म्वाइँ खाएर+ आशिष् दिए।+ त्यसपछि तिनी आफ्नो घर फर्के।+
३२ त्यसपछि याकुब आफ्नो बाटो लागे। बाटोमा तिनले परमेश्वरका दूतहरूलाई भेटे। २ तिनीहरूलाई देख्नेबित्तिकै याकुबले भने: “यो त परमेश्वरकै छाउनी हो!” त्यसैले तिनले त्यस ठाउँको नाम महनैम* राखे।
३ याकुबले आफ्नो अघिअघि केही सन्देशवाहकहरूलाई एदोमको+ इलाकामा पर्ने सेइरमा+ बसोबास गरिरहेका आफ्ना दाइ एसावकहाँ पठाए। ४ तिनले उनीहरूलाई यस्तो हुकुम गरे: “तिमीहरूले मेरा प्रभु एसावलाई भन्नू, ‘तपाईँको दास याकुबले यसो भनेका छन्: “मैले लाबानकहाँ धेरै वर्ष बिताएँ।*+ ५ अनि अहिले मसित प्रशस्त गोरु, गधा, भेडा र दासदासी छन्।+ म मेरा प्रभुलाई भेट्न आउँदै छु। त्यसैले हजुरको निगाह पाउन यो सन्देश पठाउँदै छु।”’”
६ केही दिनपछि ती सन्देशवाहकहरू याकुबकहाँ फर्के र तिनलाई भने: “हामीले तपाईँका दाइ एसावलाई भेट्यौँ र उहाँ तपाईँलाई भेट्न ४०० जना मानिस लिएर यतैतिर आइरहनुभएको छ।”+ ७ यो सुनेर याकुब असाध्यै डराए र चिन्तित भए।+ त्यसैले आफूसित भएका मानिसहरू, भेडाबाख्रा, गाईवस्तु अनि उँटहरू भाग लगाएर तिनले दुई वटा दल बनाए। ८ अनि तिनले भने: “एसावले एउटा दललाई आक्रमण गरे भने पनि अर्को दल त उम्कन सक्छ।”
९ त्यसपछि याकुबले यसो भनेर प्रार्थना गरे: “हे यहोवा! मेरा हजुरबुबा अब्राहाम र मेरा बुबा इसहाकका परमेश्वर, तपाईँले मलाई यसो भन्नुभएको छ: ‘तिमी आफ्नो देश, आफ्ना नातेदारहरूकहाँ फर्क र म तिम्रो फलिफाप गराउनेछु।’+ १० तपाईँले यस दासलाई अटल प्रेम देखाउनुभएको छ।+ तपाईँले मलाई कहिल्यै त्याग्नुभएन। म तपाईँको यस्तो कृपा पाउन लायक छैनँ। यर्दन नदी तर्दा मसित लौरोबाहेक केही थिएन तर अहिले भने मेरा मानिस र वस्तुभाउ बढेर दुई वटा दल भएका छन्।+ ११ बिन्ती छ,+ मलाई मेरो दाइ एसावको हातबाट बचाउनुहोस्। तिनले मलाई, यी स्त्रीहरूलाई र तिनीहरूका बालबच्चालाई आक्रमण गर्लान्+ कि भनेर मलाई डर लागिरहेको छ। १२ तर तपाईँले मलाई भन्नुभएको थियो: ‘म निश्चय नै तिम्रो फलिफाप गराउनेछु र तिम्रा सन्तानलाई समुद्र किनारका बालुवासरी अनगिन्ती तुल्याउनेछु।’”+
१३ अनि तिनले त्यहीँ रात बिताए। त्यसपछि तिनले आफ्ना दाइ एसावलाई कोसेली+ दिन आफूसँग भएको सम्पत्तिबाट १४ २०० वटा बाख्री, २० वटा बोका, २०० वटा भेडी, २० वटा थुमा १५ अनि ३० वटा उँट र तिनीहरूको बच्चा, ४० वटा गाई, १० वटा गोरु, २० वटा गधैनी र १० वटा गधा छुट्ट्याए।+
१६ तिनले यी बथानहरूलाई एक-एक गरी आफ्ना नोकरहरूको जिम्मा लगाए र तिनीहरूलाई भने: “तिमीहरू मेरो अघिअघि जाओ र बथानहरूबीच केही दूरी राख।” १७ पहिलो बथान लिएर जानेलाई तिनले यस्तो आदेश दिए: “मेरो दाइ एसावले तिमीलाई भेटे र ‘तिम्रो मालिक को हो, तिमी कहाँ जान लागेको अनि यो बथान कसको हो’ भनेर सोधे भने १८ तिमीले यसो भन्नू: ‘हजुरको दास याकुबको। उहाँले मेरा प्रभु एसावको लागि+ यो कोसेली पठाउनुभएको हो। हेर्नुहोस्, उहाँ हाम्रो पछिपछि आउँदै हुनुहुन्छ।’” १९ तिनले त्यसैगरि दोस्रो र तेस्रो बथान अनि बाँकी सबै पशु लिएर जाने नोकरहरूलाई यस्तो आदेश दिए: “एसावलाई भेट्दा तिमीहरूले पनि त्यसै भन्नू। २० अनि तिमीहरूले यसो भन्न नबिर्सनू: ‘तपाईँको दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ।’” किनभने तिनले मनमनै यसो भनेका थिए: ‘मैले अघिअघि कोसेली पठाएर उहाँलाई खुसी पार्न सकेँ भने+ उहाँको निगाह पाउन सक्छु कि?’ २१ यसरी तिनले आफ्ना दासहरूलाई कोसेली दिएर अघिअघि पठाए तर आफूले भने त्यहीँ पालमा रात बिताए।
२२ तिनी राती नै उठे र आफ्ना २ पत्नी,+ २ दासी+ र ११ छोरालाई लिएर याब्बोक+ नदीको जँघार* तरे। २३ यसरी तिनले उनीहरूलाई र आफूसित भएका अरू सबै कुरालाई नदीपारि* पुऱ्याए।
२४ अन्तमा याकुब एक्लै भए अनि एक जना मानिस आएर तिनीसित कुस्ती खेल्न थाले। तिनीहरूले बिहान उज्यालो नभएसम्म कुस्ती खेलिरहे।+ २५ याकुबलाई जित्न नसकेपछि त्यस मानिसले तिनको कम्मरनेरको जोर्नी समाते अनि कुस्ती खेल्दा-खेल्दै याकुबको जोर्नी फुस्कियो।+ २६ अनि ती मानिसले भने: “उज्यालो हुन लागिसक्यो, मलाई जान देऊ।” तर याकुबले यस्तो जवाफ दिए: “अहँ! मलाई आशिष् नदिएसम्म म तपाईँलाई जान दिन्नँ।”+ २७ अनि ती मानिसले सोधे: “तिम्रो नाम के हो?” तिनले भने: “याकुब।” २८ ती मानिसले भने: “अबदेखि तिम्रो नाम याकुब होइन तर इस्राएल* हुनेछ+ किनभने तिमी परमेश्वर र मानिसहरूसित लड्यौ+ र अन्तमा तिम्रो जित भयो।” २९ तब याकुबले यस्तो बिन्ती गरे: “कृपया मलाई तपाईँको नाम बताउनुहोस्।” तर ती मानिसले भने: “तिमी किन मेरो नाम सोध्छौ?”+ त्यसपछि ती मानिसले याकुबलाई आशिष् दिए। ३० त्यसैले याकुबले त्यस ठाउँको नाम पेनिएल*+ राखे किनभने तिनले भने: “मैले परमेश्वरलाई आमनेसामने देखेँ तैपनि मेरो ज्यान गएन।”+
३१ कम्मरनेरको जोर्नी फुस्केकोले तिनी खोच्याउँदै हिँड्न थाले+ र तिनले पेनुएल* पार गर्नेबित्तिकै घाम झुल्कियो। ३२ ती मानिसले याकुबको कम्मरको जोर्नीको नसा हुने भाग छोएको हुनाले आजसम्म पनि इस्राएलीहरू जनावरको कम्मरको जोर्नीको नसा खाँदैनन्।
३३ याकुबले आँखा उठाएर हेर्दा एसाव ४०० जना मानिसको दलबलसहित आइरहेको देखे।+ त्यसैले तिनले आफ्ना बच्चाहरूलाई लेआ, राहेल र दुई दासीको जिम्मा लगाए।+ २ तिनले सबैभन्दा अगाडि दुई दासी र तिनीहरूका बच्चाहरूलाई,+ त्यसपछि लेआ र उनका बच्चाहरूलाई+ अनि अन्तमा राहेल+ र युसुफलाई राखे। ३ त्यसपछि तिनी सबैभन्दा अगाडि गए र दाइको नजिकै पुग्न लाग्दा भुईँमा घुँडा टेकेर सात चोटि दण्डवत् गर्दै अघि बढे।
४ एसाव दौडेर आफ्ना भाइ याकुबलाई भेट्न गए। तिनले याकुबलाई अङ्गालो हाले र म्वाइँ खाए अनि दुवै जना धुरुधुरु रोए। ५ स्त्रीहरू र बालबच्चाहरू देखेपछि एसावले याकुबलाई सोधे: “यिनीहरू को हुन्?” याकुबले जवाफ दिए: “परमेश्वरको कृपाले जन्मिएका हजुरको दासका छोराछोरीहरू।”+ ६ त्यसपछि दासीहरू आफ्ना बालबच्चा लिएर अगाडि आए र एसावलाई दण्डवत् गरे। ७ अनि लेआ पनि आफ्ना बालबच्चा लिएर अगाडि आइन् र तिनीहरूले पनि दण्डवत् गरे। त्यसपछि युसुफ राहेलसँगै अगाडि आए र तिनीहरूले पनि दण्डवत् गरे।+
८ एसावले सोधे: “तिमीले मकहाँ यति धेरै मानिस र बथानका बथान पशुहरू किन पठायौ?”+ याकुबले जवाफ दिए: “हे प्रभु! हजुरको निगाह पाउन सकूँ भनेर।”+ ९ तर एसावले भने: “मेरो भाइ, मसित प्रशस्तै छ।+ ती तिमीसितै राख।” १० तर याकुबले भने: “होइन हजुर! मैले हजुरको निगाह पाएको छु भने कृपया मेरो कोसेली स्विकार्नुहोस्। मैले हजुरको दर्शन पाउन सकूँ भनेर हजुरकहाँ ती कोसेली पठाएको हुँ। हजुरले मलाई खुसी-खुसी स्विकार्नुभयो; बस्, मलाई परमेश्वरकै दर्शन पाएसरह भयो।+ ११ परमेश्वरको आशिष्ले गर्दा मलाई केही अपुग छैन।+ हजुरको पनि सधैँ भलो होस् भन्ने कामना गर्दै मैले ती कोसेली पठाएको हुँ।+ त्यसैले कृपया ती स्विकार्नुहोस्।” तिनले एसावलाई कर गरिरहे र अन्तमा एसावले ती स्विकारे।
१२ त्यसपछि एसावले भने: “आऊ, अब हामी सँगै जाऔँ। म तिमीलाई बाटो देखाउँदै लैजान्छु।” १३ तर याकुबले यस्तो जवाफ दिए: “मेरा प्रभुले देखिहाल्नुभयो, मेरा छोराछोरी सानै छन्।+ अनि मेरो बगालमा भर्खरै ब्याएका भेडाबाख्रा र गाईवस्तु पनि छन्; तिनीहरूलाई एक दिन मात्र छिटो हिँडायो भने सबै वस्तुभाउ मरिहाल्छन्। १४ त्यसैले बिन्ती छ प्रभु, हजुर नै अघि जानुहोस्। मचाहिँ सेइरमा+ हजुरकहाँ नपुगुन्जेल मेरा वस्तुभाउ र बालबच्चासित तिनीहरूकै चालमा बिस्तारै आउँछु।” १५ अनि एसावले यस्तो आग्रह गरे: “हुन्छ, त्यसोभए मेरा केही मानिस यहाँ छोड्छु, तिनीहरूसँगै आऊ।” तर याकुबले भने: “दुःख नगर्नुहोस् प्रभु! मैले हजुरको निगाह पाएँ। मलाई त्यति भए पुग्छ।” १६ त्यसैले एसाव त्यही दिन सेइर फर्के।
१७ याकुब भने सुक्कोथतिर+ लागे। तिनले त्यहाँ आफ्नो लागि घर अनि बगालको लागि छाप्राहरू बनाए। त्यसैले त्यस ठाउँको नाम तिनले सुक्कोथ* राखे।
१८ पद्दान-अरामबाट+ हिँडेपछि याकुब कनानको+ सकेम+ सहरमा सकुशल पुगे। अनि तिनले सहरनजिकै आफ्नो पाल टाँगे। १९ तिनले आफ्नो पाल टाँग्न हामोरका छोराहरूसँग चाँदीको १०० टुक्रामा एउटा जमिन किने।+ हामोरका एक जना छोराको नाम सकेम थियो। २० त्यहाँ याकुबले एउटा वेदी बनाए र त्यसको नाम ‘परमेश्वर, इस्राएलका परमेश्वर’ राखे।+
३४ लेआबाट जन्मिएकी याकुबकी छोरी दिना+ कनान देशका केटीहरूलाई भेट्न गइरहन्थिन्।+ २ दिना आउने-जाने गरेको त्यहाँका मुखिया हिव्वी+ हामोरका छोरा सकेमले याद गरिरहेका थिए। एकदिन तिनले दिनासित जबरजस्ती गरे र उनको इज्जत लुटे। ३ त्यसपछि सकेमले याकुबकी छोरी दिनालाई साह्रै मन पराउन थाले। सकेम दिनालाई प्रेम गर्थे। तिनले मीठामीठा कुरा गरेर दिनालाई फकाउन थाले। ४ अन्तमा सकेमले आफ्नो बुबा हामोरलाई+ भने: “जसरी भए पनि त्यो केटीसित मेरो बिहे गराइदिनुहोस्।”
५ याकुबले आफ्नी छोरी दिनालाई सकेमले बिटुलो पारेको कुरा थाह पाए। त्यतिखेर याकुबका छोराहरू आफ्नो बुबाको बगाल चराउन गएका थिए। त्यसैले उनीहरू नफर्कुन्जेल याकुब चुपचाप बसे। ६ पछि सकेमका बुबा हामोर याकुबकहाँ छोरी माग्न गए। ७ यो कुरा सुन्नेबित्तिकै याकुबका छोराहरू हस्याङफस्याङ गर्दै घर फर्के। सकेमले दिनासित जबरजस्ती गरेर इस्राएलको घोर अपमान गरेका थिए। यसरी तिनले गर्नै नहुने काम गरेर+ उनीहरूको बेइज्जत गरेको हुनाले उनीहरू रिसले आगो भएका थिए।+
८ हामोरले उनीहरूलाई यसो भन्न थाले: “मेरो छोरा सकेम तपाईँकी छोरी देखेर भुतुक्कै भएको छ। बिन्ती, तपाईँकी छोरीलाई मेरी बुहारी बनाउन दिनुहोस्। ९ हामीबीच बिहेबारी चलोस्। तपाईँका छोरीहरू हामी लैजान्छौँ र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ।+ १० हामीसित आएर बस्नुहोस्। हेर्नुहोस्, सम्पूर्ण इलाका तपाईँकै सामने छ। तपाईँहरूलाई जहाँ मन पर्छ, त्यहीँ बस्नुहोस्, व्यापार गर्नुहोस् र जग्गाजमिन जोड्नुहोस्।” ११ तब सकेमले दिनाका बुबा र दाजुभाइलाई यसो भने: “बिन्ती छ, मलाई तपाईँहरूकी चेली दिनुहोस्। तपाईँहरू जे माग्नुहुन्छ, म त्यही दिनेछु। १२ तपाईँहरूले मागेजति दाम तिर्न र कोसेली दिन म तयार छु।+ बस्, मलाई दिना भए पुग्छ।”
१३ आफ्नी बहिनीको बेइज्जतीको बदला लिन याकुबका छोराहरूले सकेम र उनको बुबा हामोरसित छल गर्ने विचार गरे। १४ उनीहरूले भने: “अहँ! हामीले त्यसो गर्न मिल्दैन। खतनै*+ नगरेको पुरुषलाई कसरी हाम्री बहिनी दिनु? यो त हाम्रो लागि लाजमर्दो कुरा हो। १५ एउटा सर्तमा तपाईँहरूलाई हाम्री बहिनी दिन तयार छौँ। तपाईँहरूकहाँ जति पुरुष छन्, तिनीहरू सबैले हामीले जस्तै खतना गर्नुपर्छ।+ १६ अनि मात्र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ र तपाईँहरूका छोरीहरू हामी ल्याउँछौँ। हामी तपाईँहरूसँगै बसोबास गर्नेछौँ र एकै जाति हुनेछौँ। १७ तर हाम्रो सर्त मान्नुभएन र खतना गर्नुभएन भने बहिनीलाई लिएर हामी यहाँबाट जानेछौँ।”
१८ उनीहरूको कुरा हामोर+ र तिनको छोरा+ सकेमलाई चित्त बुझ्यो। १९ सकेमले उनीहरूको सर्त पूरा गर्न रतीभर ढिलो गरेनन्+ किनकि तिनलाई याकुबकी छोरी साह्रै मन परेको थियो। सकेम आफ्ना बुबाको पूरै घरानामा सबैभन्दा इज्जतदार मानिस थिए।
२० त्यसकारण हामोर र तिनका छोरा सकेम सहरको मूलढोकामा गए र सहरका पुरुषहरूलाई भने:+ २१ “यी मानिसहरू हामीसित मिलेर बस्न चाहन्छन्। हामीकहाँ जग्गाजमिनको कुनै कमी छैन। त्यसैले यिनीहरूलाई हाम्रो इलाकामा बस्न र व्यापार गर्न देऔँ। हामी यिनीहरूका छोरीहरूसित बिहे गर्न सक्छौँ र हाम्रा छोरीहरू यिनीहरूलाई दिन सक्छौँ।+ २२ तर हामीसित एक जाति भएर बस्न यिनीहरूले हामीसामु एउटै मात्र सर्त राखेका छन्: पुरुषजति सबैले यिनीहरूले जस्तै खतना गर्नुपर्छ।+ २३ त्यसपछि त यिनीहरूको धनसम्पत्ति, गाईवस्तु सब हाम्रा! त्यसैले यिनीहरूको सर्त मानौँ र यिनीहरू हामीसँग बसून्।” २४ सहरको मूलढोका भएर आउजाउ गर्ने सबैले हामोर र तिनका छोरा सकेमको कुरा माने र सहरका सबै पुरुषले खतना गरे।
२५ खतना गरेको तेस्रो दिन सहरका सबै पुरुष पीडाले छटपटाइरहेको बेला याकुबका दुई छोरा सिमियोन र लेवि तरबार भिरेर सहरमा पसे। तर सहरवासीले उनीहरूमाथि रतीभर शङ्का गरेनन्।+ दिनाका यी दाइहरूले सहरका एक जना पुरुषलाई पनि बाँकी राखेनन्, तिनीहरू सबैलाई मारे।+ २६ उनीहरूले हामोर र तिनका छोरा सकेमलाई पनि मारे र आफ्नी बहिनी दिनालाई सकेमको घरबाट लगे। २७ तब याकुबका अरू छोराहरू पनि आफ्नी बहिनीको बेइज्जतीको बदला लिन सहरभित्र पसे। त्यहाँ उनीहरूले पुरुषजति सबै मारिएको भेट्टाए र त्यो सहर लुटे।+ २८ उनीहरूले गाईवस्तु, भेडाबाख्रा, गधा सबै लुटे। अनि सहरमा र खेतमा जे-जे भेटे, त्यो पनि लिए। २९ उनीहरूले घरघर पसेर सबै सरसम्पत्ति लुटे, केही पनि छोडेनन् अनि आइमाई र केटाकेटीलाई समेत समातेर लगे।
३० तब याकुबले सिमियोन र लेविलाई भने:+ “यो तिमीहरूले के गऱ्यौ? ममाथि कत्रो विपत्ति ल्यायौ!* तिमीहरूको कर्तुतले गर्दा यहाँका कनानीहरू र परिज्जीहरूले अब मलाई छोड्नेछैनन्। मसित कति नै मानिस छन् र? अब तिनीहरू जम्मा भएर ममाथि आइलाग्नेछन्। अब हाम्रो परिवारको सर्वनाश हुने भयो!” ३१ तर उनीहरूले यस्तो जवाफ दिए: “कसैले हाम्री बहिनीलाई वेश्यालाई जस्तो व्यवहार गरेको हामी कसरी सहन सक्छौँ?”
३५ यो घटना भएपछि परमेश्वरले याकुबलाई भन्नुभयो: “अब यहाँबाट बेथेल+ जाऊ, त्यहीँ बस र तिमी आफ्नो दाइ एसावदेखि भागेको बेला तिमीकहाँ प्रकट हुनुभएको साँचो परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”+
२ तब याकुबले आफ्नो घराना र आफूसित भएका सबै मानिसलाई भने: “तिमीहरूसँग भएका देवीदेवताका मूर्तिहरू हटाओ,+ आफूलाई चोखो पार अनि लुगा फेर। ३ त्यसपछि यो ठाउँ छोडेर हामी बेथेलतिर लागौँ। दुःखको बेला मेरो पुकारा सुन्नुहुने र म जहाँ* गए पनि सधैँ मसँगै हुनुहुने साँचो परमेश्वरको लागि म त्यहाँ वेदी बनाउँछु।”+ ४ तिनीहरूले आफूसित भएका विदेशी देवीदेवताका मूर्ति र कानमा लगाएको कुण्डल याकुबलाई दिए। अनि याकुबले ती लगेर सकेमनजिकैको ठूलो रूखमुनि गाडे।*
५ तिनीहरूको यात्रामा वरपरका सहरहरूका मानिसहरूले तिनीहरूलाई खेदेनन्। परमेश्वर याकुबका सन्तानसित हुनुभएकोले ती मानिसहरू डराएका थिए। ६ अन्तमा याकुब र तिनका सबै मानिस कनानको लुज+ अर्थात् बेथेल पुगे। ७ तिनले त्यहाँ वेदी बनाए र त्यस ठाउँको नाम एल-बेथेल* राखे। किनभने आफ्नो दाइ एसावदेखि डराएर भागेको बेला साँचो परमेश्वर त्यही ठाउँमा याकुबकहाँ प्रकट हुनुभएको थियो।+ ८ पछि रिबेकाकी धाईआमा दबोराको+ मृत्यु भयो र तिनीहरूले उनलाई बेथेलको फेदीमा फलाँटको रूखमुनि गाडे। याकुबले त्यस ठाउँको नाम अल्लोन-बकुथ* राखे।
९ याकुब पद्दान-अरामबाट फर्किरहेको बेला परमेश्वर फेरि तिनीसामु प्रकट हुनुभयो र तिनलाई आशिष् दिनुभयो। १० परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+ ११ परमेश्वरले तिनलाई अझै भन्नुभयो: “म सर्वशक्तिमान् परमेश्वर हुँ।+ तिम्रा सन्तान फलून्-फुलून् र बढ्दै जाऊन्। तिम्रै सन्तानबाट विभिन्न जाति बन्नेछन्+ र राजाहरू निस्कनेछन्।+ १२ मैले अब्राहाम र इसहाकलाई दिने प्रतिज्ञा गरेको भूमि म तिमीलाई अनि तिम्रो शेषपछि तिम्रा सन्तानलाई दिनेछु।”+ १३ त्यसपछि परमेश्वर त्यस ठाउँबाट अलप हुनुभयो।
१४ परमेश्वर बोल्नुभएको त्यस ठाउँमा याकुबले एउटा ढुङ्गा ठड्याए, त्यसमाथि मद्यभेटी* चढाए र तेल पनि खन्याए।+ १५ परमेश्वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकुबले पहिलेजस्तै बेथेल नै राखे।+
१६ त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तर तिनीहरू एप्राता नपुग्दै राहेललाई सुत्केरी बेथा लाग्यो र तिनलाई झन्झन् च्याप्दै लग्यो। १७ राहेल बच्चा जन्माउन नसकेर छटपटाइरहेको बेला सुँडेनीले तिनलाई भनिन्: “हिम्मत नहार्नुहोस्, तपाईँले यसपालि पनि छोरा पाउनुहुनेछ।”+ १८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे। १९ यसरी एप्राता अर्थात् बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे। २० त्यसपछि तिनले राहेलको चिहानमाथि एउटा ठूलो ढुङ्गा ठड्याए। त्यो ढुङ्गा आजसम्म पनि त्यहीँ छ।
२१ त्यसपछि इस्राएल त्यहाँबाट हिँडे र एदेरको धरहरा कटेपछि अलि पर तिनले पाल टाँगे। २२ इस्राएल त्यही ठाउँमा बास बसिरहेको बेला एकदिन रुबेन आफ्नो बुबाकी उपपत्नी बिल्हासित सुते र यो कुरा इस्राएलको कानमा पऱ्यो।+
याकुबका १२ भाइ छोरा थिए। २३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो। २४ युसुफ र बिन्यामिन राहेलबाट जन्मिएका छोराहरू हुन्। २५ राहेलकी दासी बिल्हाबाट जन्मिएका छोराहरूचाहिँ दान र नप्तालि हुन्। २६ अनि गाद र असेर लेआकी दासी जिल्पाहले जन्माएका छोराहरू हुन्। याकुबका छोराहरू यिनीहरू नै हुन् र यिनीहरू सबै पद्दान-अराममा जन्मिएका थिए।
२७ अन्तमा याकुब किर्यथ-अर्बा अर्थात् हेब्रोनको मम्रेमा बसोबास गरिरहेका आफ्ना बुबा इसहाकको घर पुगे।+ अब्राहाम र इसहाक दुवै यही ठाउँमा प्रवासी भएर बसेका थिए।+ २८ इसहाक १८० वर्ष बाँचे।+ २९ इसहाक आफ्नो पूरा उमेर खाएर मरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। तिनी आफ्नो जीवनसित सन्तुष्ट थिए। तिनका छोराहरू एसाव र याकुबले तिनको लास गाडे।+
३६ एसावको वंशावली यही हो। तिनको अर्को नाम एदोम हो।+
२ एसावले बिहे गरेका कनानी केटीहरूको नाम अदा+ र ओहोलिबामाह थियो। अदा हित्ती+ एलोनकी छोरी थिइन् र ओहोलिबामाहचाहिँ+ हिव्वी जिबोनकी नातिनी र अनाकी छोरी थिइन्। ३ तिनले इस्माएलकी छोरी बास्मथसित+ पनि बिहे गरे। बास्मथ नबायोथकी+ बहिनी थिइन्।
४ एसावबाट अदाले एलिपजलाई र बास्मथले रुएललाई जन्माइन्।
५ अनि ओहोलिबामाहले यउस, यालाम र कोरहलाई+ जन्माइन्।
कनानमा जन्मेका एसावका छोराहरू यिनीहरू नै थिए। ६ त्यसपछि एसाव आफ्ना पत्नीहरू, छोराछोरी, आफ्नो घरानाका सबै मानिस, सबै वस्तुभाउ र कनानमा जोरजाम गरेका सबै धनसम्पत्ति+ लिएर आफ्नो भाइ याकुब बसेको ठाउँबाट अलि टाढा अर्कै ठाउँमा सरे।+ ७ तिनीहरूको धनसम्पत्ति र वस्तुभाउ बढ्दै गएकोले एसाव र याकुबलाई आफू बसोबास गरेको ठाउँमा* एकसाथ बस्न गाह्रो भइरहेको थियो; वस्तुभाउ चराउने ठाउँ पनि पुगेको थिएन। ८ त्यसैले एसाव सेइरको पहाडी इलाकामा+ बस्न थाले। एसाव नै एदोम हुन्।+
९ सेइरको पहाडी इलाकामा+ बसोबास गर्ने एदोमीहरूका पुर्खा एसावको वंशावली यही हो:
१० एसावका छोराहरू यिनीहरू नै थिए: तिनकी पत्नी अदाबाट जन्मिएका छोरा एलिपज र अर्की पत्नी बास्मथबाट जन्मिएका छोरा रुएल।+
११ एलिपजका छोराहरू तेमान,+ ओमार, जिफो, गाताम र केनज+ थिए। १२ एसावका छोरा एलिपजकी उपपत्नीको नाम तिम्ना थियो। एलिपजबाट उनले जन्माएको छोराको नाम अमालेक+ थियो। यिनीहरू एसावकी पत्नी अदाका सन्तान थिए।
१३ रुएलका छोराहरू नहथ, जेरह, साम्माह र मिज्जाह थिए। यिनीहरू एसावकी पत्नी बास्मथका+ सन्तान थिए।
१४ एसावकी पत्नी ओहोलिबामाहबाट जन्मिएका छोराहरू यउस, यालाम र कोरह थिए। ओहोलिबामाह जिबोनकी नातिनी र अनाकी छोरी थिइन्।
१५ एसावका सन्तानबाट जो-जो नाइके* बने,+ तिनीहरू यी थिए: एसावका जेठा छोरा एलिपजका छोराहरू: नाइके तेमान, नाइके ओमार, नाइके जिफो, नाइके केनज,+ १६ नाइके कोरह, नाइके गाताम र नाइके अमालेक। एलिपजका यी छोराहरू नै एदोम देशका नाइकेहरू थिए।+ यिनीहरू अदाका सन्तान थिए।
१७ त्यसैगरि एसावका छोरा रुएलका छोराहरू नाइके नहथ, नाइके जेरह, नाइके साम्माह र नाइके मिज्जाह थिए। रुएलका यी छोराहरू नै एदोम+ देशका नाइकेहरू थिए। यिनीहरू नै एसावकी पत्नी बास्मथका सन्तान थिए।
१८ अनि एसावकी पत्नी ओहोलिबामाहबाट जन्मिएका छोराहरू यी थिए: नाइके यउस, नाइके यालाम, नाइके कोरह। एसावकी पत्नी र अनाकी छोरी ओहोलिबामाहका यी छोराहरू नै नाइकेहरू थिए।
१९ यिनीहरू नै एसावका छोराहरू थिए र तिनको वंशबाट निस्केका नाइकेहरू यिनीहरू नै थिए। एसावको अर्को नाम एदोम हो।+
२० एदोम देशका रैथाने अनि होरी जातिका सेइरका छोराहरू+ लोतान, सोबाल, जिबोन, अना,+ २१ दिसोन, एजेर र दिसन थिए।+ एदोम देशका होरी जातिका सेइरका नाइकेहरू यिनीहरू नै थिए।
२२ होरी र हेमाम लोतानका छोराहरू थिए र तिम्नाचाहिँ+ लोतानकी बहिनी थिइन्।
२३ सोबालका छोराहरू अल्बान, मनहथ, एबाल, सेपो र ओनाम थिए।
२४ अय्या र अना जिबोनका+ छोराहरू थिए। आफ्नो बुबा जिबोनका गधा चराइरहेको बेला निर्जनभूमिमा तातो पानीको मूल फेला पार्ने अना पनि यिनै थिए।
२५ दिसोन अनाका छोरा थिए र ओहोलिबामाह अनाकी छोरी थिइन्।
२६ हेम्दान, एस्बान, इथ्रान र केरान+ दिसोनका छोराहरू थिए।
२७ बिल्हान, जाभान र अकान एजेरका छोराहरू थिए।
२८ उज र अरान दिसनका छोराहरू थिए।+
२९ होरी जातिका नाइकेहरू यी थिए: नाइके लोतान, नाइके सोबाल, नाइके जिबोन, नाइके अना, ३० नाइके दिसोन, नाइके एजेर र नाइके दिसन।+ सेइर देशमा बस्ने होरीहरूका नाइकेहरू यिनीहरू नै थिए।
३१ इस्राएलीहरूमाझ राजा नभएको बेला एदोममा+ भने राजाहरू थिए।+ ती राजाहरू यी थिए: ३२ बेअरका छोरा बेलाले एदोममा शासन गरे। तिनी दिन्हाबाह सहरका थिए। ३३ बेलाको मृत्यु भएपछि बोज्राहमा बस्ने जेरहका छोरा योबाबले शासन गर्न थाले। ३४ योबाबको मृत्यु भएपछि तेमानीहरूको इलाकामा बस्ने हुसामले शासन गर्न थाले। ३५ हुसामको मृत्यु भएपछि बेददका छोरा हाददले शासन गर्न थाले। यी तिनै हादद थिए, जसले मोआबीहरूको इलाकामा मिद्यानीहरूलाई+ हराएका थिए। तिनी अविथ सहरका थिए। ३६ हाददको मृत्यु भएपछि मास्रेकाहमा बस्ने साम्लाहले शासन गर्न थाले। ३७ साम्लाहको मृत्यु भएपछि नदीनजिकै रेहोबोथ सहरमा बस्ने सावलले शासन गर्न थाले। ३८ सावलको मृत्यु भएपछि आक्बोरका छोरा बाआल-हानानले शासन गर्न थाले। ३९ आक्बोरका छोरा बाआल-हानानको मृत्यु भएपछि हादरले शासन गर्न थाले। हादर पाउ सहरका थिए र तिनकी पत्नीको नाम मेहेताबेल थियो। उनी मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिइन्।
४० एसावका छोराहरूबाट जन्मेका अरू नाइके, जसको नामबाट तिनीहरूको ठाउँ अनि कुलको नाम रहन गयो, तिनीहरू यी थिए: नाइके तिम्ना, नाइके अल्बा, नाइके यथेथ,+ ४१ नाइके ओहोलिबामाह, नाइके एलाह, नाइके पिनोन, ४२ नाइके केनज, नाइके तेमान, नाइके मिब्जार, ४३ नाइके मग्दिएल र नाइके इराम। यी नै नाइकेहरूको नामबाट तिनीहरूको बस्ती अनि तिनीहरूले अधिकार गरेको ठाउँको नाम रहन गयो। यिनीहरू सबै एदोमका नाइकेहरू थिए+ र एसाव एदोमीहरूका पुर्खा हुन्।+
३७ याकुबचाहिँ कनानमै बसे, जहाँ तिनका बुबा परदेशीको रूपमा बसोबास गरेका थिए।+
२ याकुबको परिवारमा भएका केही घटना यी हुन्:
युसुफ+ १७ वर्षको हुँदा उनी एक चोटि आफ्ना सौतेनी दाइहरूसित वस्तुभाउ चराउन गएका थिए।+ यी दाइहरू याकुबका पत्नीहरू बिल्हा+ र जिल्पाहपट्टिका+ छोराहरू थिए। दाइहरूले गरेको बदमासी युसुफले आफ्नो बुबालाई सुनाए। ३ इस्राएल आफ्ना अरू सबै छोरालाई+ भन्दा युसुफलाई धेरै माया गर्थे। किनकि युसुफ तिनको बुढेसकालमा जन्मेका छोरा थिए। तिनले युसुफको लागि एउटा विशेष लुगा* बनाइदिएका थिए। ४ बुबाले युसुफलाई सबैभन्दा धेरै माया गरेको देखेर उनका दाइहरूले उनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी* बोल्न समेत चाहँदैनथे।
५ एकपटक युसुफले आफूले देखेको सपनाबारे दाइहरूलाई सुनाए।+ त्यसपछि त दाइहरूले उनलाई झनै घृणा गर्न थाले। ६ उनले दाइहरूलाई भने, “मैले सपनामा के देखेँ, कृपया सुन्नुहोस्। ७ हामी खेतको बीचमा अन्नको बिटा बाँधिरहेका थियौँ। त्यतिकैमा मेरो बिटा उठेर खडा भयो र तपाईँहरूका बिटा मेरो बिटा वरिपरि जम्मा भए अनि त्यसलाई ढोगे।”+ ८ यो सुनेर उनका दाइहरूले भने: “उसोभए, तँ हाम्रो राजा भएर हामीमाथि हैकम जमाउने भइस् हैन त?”+ युसुफको सपना र तिनले भनेको कुरा सुनेपछि तिनीहरूले युसुफलाई पहिलाभन्दा झन् धेरै घृणा गर्न थाले।
९ त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+ १० युसुफले आफ्नो बुबा अनि दाइहरूलाई आफ्नो सपनाबारे बताउँदा याकुबले युसुफलाई यसरी हप्काए: “हैन, तिमीले यो कस्तो सपना देख्यौ हँ? त्यसोभए मैले, तिम्री आमा र तिम्रा दाइहरू सबैले साँच्चै तिमीलाई ढोग्नुपऱ्यो?” ११ त्यसपछि त दाइहरूले युसुफको झनै डाह गर्न थाले+ तर तिनीहरूका बुबा याकुबले भने युसुफले भनेको सबै कुरा मनमा राखिरहे।
१२ एकपटकको कुरा हो, युसुफका दाइहरू आफ्ना बुबाका भेडाबाख्रा चराउन सकेमनजिकै+ गएका थिए। १३ केही समय बितेपछि इस्राएलले युसुफलाई भने: “तिम्रा दाइहरू सकेमतिर भेडाबाख्रा चराउन गएका छन् भनेर तिमीलाई थाहै छ। जाऊ, दाइहरू के गरिरहेका छन्, हेरेर आऊ।” युसुफले जवाफ दिए: “हस् बुबा।” १४ तिनले युसुफलाई भने: “बाबु, गएर दाइहरूको हालखबर बुझ। वस्तुभाउ कस्ता छन्, हेर र आएर मलाई बताऊ।” त्यसपछि तिनले युसुफलाई हेब्रोन+ बेँसीबाट बिदा गरे र युसुफ सकेमतिर लागे। १५ सकेम पुगेपछि युसुफले दाइहरूलाई खोज्न थाले। यो देखेर एक जना मानिसले उनलाई सोधे: “तिमी यहाँ कसलाई खोज्दै छौ?” १६ युसुफले जवाफ दिए: “म मेरा दाइहरूलाई खोज्दै छु। उहाँहरू भेडाबाख्रा चराउन यतैतिर आउनुभएको थियो, तपाईँले कतै देख्नुभयो कि?” १७ ती मानिसले भने: “तिनीहरू त यहाँबाट हिँडिसके। तिनीहरू ‘दोथानतिर जाऔँ’ भन्दै थिए।” त्यसैले युसुफ आफ्ना दाइहरूलाई खोज्न गए र तिनीहरूलाई दोथानमा भेट्टाए।
१८ युसुफ आउँदै गरेको दाइहरूले टाढैबाट देखे र उनी तिनीहरूकहाँ पुग्नुअघि नै तिनीहरूले उनलाई मार्ने योजना बनाए। १९ तिनीहरूले आपसमा भने: “ऊ, हेर त स्वप्नदर्शीको यतैतिर सवारी हुँदै छ!+ २० लौ त्यसलाई सिद्ध्याऔँ र त्यसको लास यही खाडलमा* फ्याँकिदेऔँ। अनि ‘त्यसलाई जङ्गली जनावरले मारेछ क्यारे’ भनिदेऔँ। त्यसपछि हेरौँला, त्यसको सपना कसरी पूरा हुँदो रहेछ!” २१ भाइहरूको कुरा सुनेर रुबेनले+ यसो भन्दै युसुफलाई बचाउन खोजे: “त्यसको ज्यानचाहिँ नलेऔँ।”+ २२ रुबेनले तिनीहरूलाई भने: “बेकारमा त्यसको रगत किन बगाउने?+ बरु त्यसलाई यही खाडलमा फालौँ, त्यसलाई मार्नचाहिँ नमारौँ।”+ युसुफलाई तिनीहरूको हातबाट बचाएर बुबाकहाँ फर्काउने विचारले रुबेनले त्यसो भनेका थिए।
२३ युसुफ त्यहाँ पुग्नेबित्तिकै दाइहरूले उनलाई समाते अनि उनले लगाइराखेको विशेष लुगा खोसे।+ २४ त्यसपछि उनलाई लगेर खाडलमा खसालिदिए। त्यतिखेर त्यस खाडलमा पानी थिएन, त्यो सुक्खा थियो।
२५ त्यसपछि तिनीहरू खाना खान बसे। त्यतिबेला तिनीहरूले पर गिलादतिरबाट इस्माएलीहरूको+ लस्कर आइरहेको देखे। तिनीहरू लब्दानम,* बाल्सम* र रूखको बोक्रा*+ उँटलाई बोकाएर मिश्रतिर जाँदै थिए। २६ तब यहुदाले भने: “भाइलाई मारेर अनि मारेको कुरा ढाकछोप गरेर हामीलाई के फाइदा?+ २७ आखिर त्यो पनि त हाम्रै भाइ, हाम्रै रगत हो। त्यसलाई मार्नुको साटो इस्माएलीहरूको हातमा बेचौँ।”+ तब तिनीहरूले यहुदाको कुरा माने। २८ मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे।
२९ पछि रुबेन युसुफलाई खाडलबाट निकाल्न आउँदा तिनले युसुफलाई त्यहाँ देखेनन्। तब तिनले दुःखी हुँदै आफ्नो लुगा च्याते। ३० अनि आत्तिँदै भाइहरूकहाँ गएर तिनले भने: “लौ! भाइ त छैन! अब म के गरूँ?”
३१ तब तिनीहरूले एउटा बोका काटे अनि युसुफको लुगा त्यसको रगतमा चोपे। ३२ त्यसपछि तिनीहरूले युसुफको त्यो विशेष लुगासँगै यस्तो खबर बुबाकहाँ पठाए: “हामीले यो लुगा फेला पाऱ्यौँ। कतै तपाईँको छोराको पो हो कि, हेर्नुहोस् त!”+ ३३ याकुबले त्यो लुगा ओल्टाइपल्टाइ हेरेपछि यसरी बिलौना गरे: “यो त मेरै छोराको लुगा हो! मेरो छोरा युसुफलाई जङ्गली जनावरले माऱ्यो होला! उसलाई लुछेर खायो होला!” ३४ त्यसपछि याकुबले आफ्नो लुगा च्याते र कम्मरमा भाङ्ग्रा बेरे। अनि धेरै दिनसम्म शोक गरिरहे। ३५ याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन। तिनले भने: “म चिहानमा* नगएसम्म+ मेरो छोराको लागि शोक मनाइरहनेछु।” यसरी युसुफलाई सम्झेर तिनी धेरै दिनसम्म रोइरहे।
३६ उतातिर मिद्यानीहरू युसुफलाई लिएर मिश्र पुगे र तिनलाई पोतिफरकहाँ बेचिदिए। पोतिफर फारोको दरबारका अफिसर+ र पहरेदारहरूका कप्तान थिए।+
३८ त्यसै बेलातिरदेखि यहुदा आफ्ना दाजुभाइसित छुट्टिएर अलग्गै बस्न थाले। तिनले हिराह नाम गरेका मानिस बसेको ठाउँनजिकै पाल टाँगे। हिराह अदुल्लामवासी थिए। २ त्यहाँ यहुदाले एउटी कनानी केटीलाई देखे।+ उनी सुआकी छोरी थिइन्। यहुदाले ती केटीलाई आफ्नी पत्नी बनाए र उनीसित सम्बन्ध राखे। ३ केही समयपछि उनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। यहुदाले छोराको नाम एर+ राखे। ४ उनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्माइन्। अनि त्यो छोराको नाम ओनान राखियो। ५ उनले अर्को छोरा पनि जन्माइन् र त्यो छोराको नाम सेलह राखियो। सेलहको जन्म हुँदा तिनी* अक्जिबमा+ थिए।
६ यहुदाले आफ्नो पहिलो सन्तान एरको विवाह तामार+ नाम गरेकी केटीसित गरिदिए। ७ यहुदाको पहिलो सन्तान एर यहोवा परमेश्वरको नजरमा दुष्ट थियो। त्यसैकारण यहोवा परमेश्वरले एरको ज्यान लिनुभयो। ८ त्यसपछि यहुदाले ओनानलाई भने: “भाउजूसित विवाह गरेर देवरले गर्नुपर्ने कर्तव्य पूरा गर र दाइको निम्ति सन्तान जन्माऊ।”+ ९ तर ओनानलाई त्यो सन्तान आफ्नो हुँदैन भनेर थाह थियो।+ त्यसैकारण भाउजूसित सम्बन्ध राख्दा दाइको लागि सन्तान नजन्मोस् भनेर तिनी आफ्नो वीर्य भुईँमा झार्थे।+ १० तिनले गरेको यस्तो काम यहोवा परमेश्वरको नजरमा खराब थियो। त्यसैले उहाँले तिनको पनि ज्यान लिनुभयो।+ ११ सेलहको तामारसित विवाह गरिदियो भने ऊ पनि आफ्ना दाइहरूजस्तै मर्ला भनेर यहुदालाई चिन्ता लाग्यो।+ त्यसैले तिनले आफ्नी बुहारी तामारलाई भने: “मेरो छोरा सेलह ठूलो नहोउन्जेल तिमी माइतीमा बस।” त्यसैले तामार आफ्नो बुबाको घर गइन् र त्यहीँ बस्न थालिन्।
१२ केही समयपछि सुआकी छोरी+ यहुदाकी पत्नीको मृत्यु भयो। यहुदाले तिनको लागि शोक गरे। शोक गर्ने दिन सिद्धिएपछि तिनी अदुल्लाममा+ बस्ने आफ्ना साथी हिराहसित तिम्नाह+ गए। यहुदाले त्यहाँ ऊन कत्रन मानिसहरू राखेका थिए। १३ त्यतिखेर कसैले तामारलाई यस्तो खबर दियो: “तिम्रा ससुरा भेडाको ऊन कत्रन तिम्नाह जाँदै छन्।” १४ त्यसपछि तामारले विधवाको लुगा फेरेर अर्को लुगा लगाइन्, घुम्टो हालिन् र खास्टो ओढिन्। अनि तिम्नाह जाने बाटोमा पर्ने एनैम सहरको मूलढोकामा बसिन्। सेलह हुर्किसकेको भए तापनि यहुदाले तामारसित तिनको विवाह गरिदिएका थिएनन्। त्यसैकारण तामारले यस्तो कदम चालिन्।+
१५ तामारलाई देख्नेबित्तिकै यहुदाले उनलाई वेश्या भन्ठाने किनभने तामारले आफ्नो मुहार घुम्टोले छोपेकी थिइन्। १६ त्यसैले यहुदा तामार भएतिर गए। नजिकै पुगेपछि तिनले भने: “म तिमीसित सम्बन्ध राख्न चाहन्छु।” उनी आफ्नी बुहारी हुन् भनेर यहुदालाई थाह थिएन।+ तर उनले भनिन्: “त्यसबापत तपाईँ मलाई के दिनुहुन्छ?” १७ तब तिनले यस्तो जवाफ दिए: “म तिमीलाई बगालबाट बाख्राको पाठो दिन्छु।” तर उनले भनिन्: “तपाईँले पाठो नपठाएसम्म मकहाँ के बन्धकी राख्नुहुन्छ?” १८ यहुदाले भने: “त्यसोभए के बन्धकी राखूँ?” उनले जवाफ दिइन्: “तपाईँको छापऔँठी,+ त्यसको डोरी र तपाईँको लौरो।” यहुदाले ती सब तामारलाई दिए र उनीसँग सम्बन्ध राखे। अनि तामार गर्भवती भइन्। १९ त्यसपछि उनी उठिन् र आफ्नो बाटो लागिन्। अनि आफूले ओढिरहेको खास्टो निकालेर फेरि विधवाको लुगा लगाइन्।
२० तब आफ्नो बन्धकी छुटाउन यहुदाले अदुल्लाममा+ बस्ने आफ्नो साथीको हातमा पाठो पठाए। तर हिराहले त्यस आइमाईलाई कतै फेला पार्न सकेनन्। २१ तिनले त्यस ठाउँका मानिसहरूलाई यसो भन्दै सोधपुछ गरे: “एनैमको बाटो छेउमा बस्ने वेश्या* कहाँ छे?” तर तिनीहरूले यस्तो जवाफ दिए: “यस ठाउँमा वेश्या बसेको हामीलाई अहिलेसम्म थाह छैन।” २२ अन्तमा तिनी यहुदाकहाँ फर्के र भने: “मैले त्यस आइमाईलाई कतै फेला पार्न सकिनँ। यसबाहेक त्यहाँका मानिसहरूले ‘यस ठाउँमा वेश्या बसेको हामीलाई अहिलेसम्म थाह छैन’ भने।” २३ तब यहुदाले भने: “भइहाल्यो, ती सामान त्यसैले राखोस्, धेरै सोधखोज गऱ्यौँ भने हाम्रै बेइज्जत हुन्छ। मैले पाठो पठाएकै हो, फेला नपरेपछि के गर्ने?”
२४ झन्डै तीन महिनापछि यहुदाकहाँ यस्तो खबर आयो: “वेश्यावृत्ति गरेर तपाईँकी बुहारी गर्भवती भएकी छिन्।” तब यहुदाले भने: “उनलाई बाहिर ल्याऊ अनि मारेर जलाइदेऊ।”+ २५ तामारलाई बाहिर ल्याउँदै गर्दा उनले ससुरालाई यस्तो खबर पठाइन्: “यी सामान जसका हुन्, यो गर्भ उसकै हो।” उनले यसो पनि भनिन्: “यो छापऔँठी, यसको डोरी र लौरो कसका हुन्, कृपया हेरिदिनुहोस्।”+ २६ यहुदाले ती सामान राम्ररी हेरेपछि भने: “म पो उनीभन्दा दोषी रहेछु किनकि मैले मेरो छोरा सेलहसित उनको विवाह गराइदिइनँ।”+ त्यसपछि यहुदाले तामारसित फेरि सम्बन्ध राखेनन्।
२७ तामारले बच्चा जन्माउने बेला हुँदा उनको गर्भमा जुम्ल्याहा रहेछन् भनेर थाह भयो। २८ उनले बच्चा पाउने बेला एउटाको हात निस्कियो र सुँडेनीले हत्त न पत्त चहकिलो रातो धागो त्यसको हातमा बाँधिदिइन् र भनिन्: “पहिले निस्केको यही हो।” २९ तर त्यसले हात भित्र लग्नेबित्तिकै भाइचाहिँ जन्मियो। अनि सुँडेनीले अचम्म मान्दै भनिन्: “तिमी त कस्तो बलजफती गरेर बाहिर निस्कियौ!” त्यसैले त्यसको नाम पेरेज*+ राखियो। ३० त्यसपछि हातमा चहकिलो रातो धागो बाँधिएको चाहिँ जन्मियो। त्यसको नाम जेरह+ राखियो।
३९ अनि इस्माएलीहरूले+ युसुफलाई मिश्र लगे+ र पोतिफर+ नाम गरेका मिश्रीले तिनलाई किने। पोतिफर फारोको दरबारका अफिसर र पहरेदारहरूका कप्तान थिए। २ यहोवा परमेश्वर युसुफसित हुनुहुन्थ्यो।+ त्यसैले तिनी हर काममा सफल भए र तिनका मालिकले आफ्नो घरको सबै खटनपटन युसुफकै हातमा सुम्पिदिए। ३ अनि यहोवा परमेश्वर युसुफको साथमा हुनुभएको अनि यहोवा परमेश्वरले तिनको हरेक काम सफल तुल्याउनुभएको पोतिफरले याद गरे।
४ युसुफले निरन्तर आफ्नो मालिकको मन जिते र मालिकको निजी सेवक नियुक्त भए। त्यसैले मालिकले तिनलाई आफ्नो घर अनि आफ्ना सबै धनसम्पत्ति रेखदेख गर्ने जिम्मा दिए। ५ पोतिफरले युसुफलाई आफ्नो घर र सम्पूर्ण कुराको रेखदेख गर्ने जिम्मा दिएदेखि यहोवा परमेश्वरले युसुफको कारण त्यस मिश्रीको फलिफाप गराउनुभयो। घरभित्र होस् या बाहिर, तिनको सबै थोकमा यहोवा परमेश्वरको आशिष् रह्यो।+ ६ अन्तमा पोतिफरले सबथोक युसुफको हातमा सुम्पे र निष्फिक्री भएर जीवन बिताउन थाले। त्यसैले पोतिफरले आफ्नो भोजनबाहेक अरू कुनै कुराको विषयमा चिन्ता गर्दैनथे। साथै त्यसबेलासम्म युसुफ हट्टाकट्टा र सुन्दर भइसकेका थिए।
७ केही समयपछिको कुरा हो, पोतिफरकी पत्नीले युसुफमाथि आँखा गाड्न थालिन्। तिनले युसुफलाई यसो भनेर फकाउन थालिन्: “आऊ, मसित सुत।” ८ तर युसुफ आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गर्थे र यस्तो जवाफ दिन्थे: “हेर्नुहोस्, मेरा मालिकले निकै भरोसा गरेर मलाई सबै कुरा सुम्पनुभएको छ। म यस घरमा भएकोले उहाँलाई कुनै कुराको चिन्ता छैन। ९ यो घरमा मभन्दा ठूलो अरू कोही छैन। तर तपाईँ उहाँकी पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु र?”+
१० उनी हरेक दिन युसुफलाई फकाउन खोज्थिन् तर युसुफ उनीसित सुत्न वा समय बिताउन पटक्कै मान्दैनथे। ११ एकदिन कामको सिलसिलामा युसुफ घरभित्र पसे। त्यतिखेर त्यहाँ अरू नोकरचाकर कोही थिएनन्। १२ त्यसैले पोतिफरकी पत्नीले युसुफको लुगा तान्दै भनिन्: “मसित सुत!” तब युसुफ आफ्नो लुगा पोतिफरकी पत्नीको हातैमा छोडेर कुलेलाम ठोके। १३ जब युसुफ आफ्नो लुगा पोतिफरकी पत्नीको हातैमा छोडेर भागे, तब पोतिफरकी पत्नीले १४ हत्त न पत्त ठूलो स्वरले चिच्याउँदै घरका अरू मानिसलाई बोलाउन थालिन् र यसो भनिन्: “हेर त! मेरो पतिले ल्याउनुभएको त्यो नाथे हिब्रू नोकरले हाम्रो बेइज्जत गर्न खोज्यो। मेरो इज्जत लुट्न त्यो घरभित्र पसेको थियो तर म भएभरको बल लगाएर चिच्याएँ। १५ म ठूलठूलो स्वरले चिच्याएको सुनेपछि त्यो आफ्नो लुगा यहीँ छोडेर भाग्यो।” १६ त्यसपछि आफ्नो पति नआउन्जेल उनले युसुफको लुगा आफैसित राखिन्।
१७ आफ्नो पति आएपछि उनले त्यही कुरा दोहोऱ्याएर सुनाइन्: “तपाईँले ल्याउनुभएको त्यस हिब्रूले मकहाँ आएर मेरो बेइज्जत गर्न खोज्यो। १८ तर म ठूलठूलो स्वरले चिच्याउन थालेपछि त्यो आफ्नो लुगा यहीँ छोडेर भाग्यो।” १९ जब उनले युसुफका मालिक, आफ्नो पति पोतिफरलाई “तपाईँको नोकरले मलाई यस्तो-यस्तो गऱ्यो” भनेर बताइन्, तब पोतिफर रिसले आगो भए। २० तिनले युसुफलाई लगेर राजाका कैदीहरूलाई थुन्ने झ्यालखानामा बुझाए। यसरी युसुफ थुनामा परे।+
२१ तर यहोवा परमेश्वरले युसुफलाई त्याग्नुभएन। उहाँले तिनलाई अटल प्रेम देखाइरहनुभयो। उहाँको आशिष्ले गर्दा युसुफले झ्यालखानाका हाकिमको निगाह पाए।+ २२ झ्यालखानाका हाकिमले सबै कैदीलाई युसुफको जिम्मा लगाए। झ्यालखानामा जे-जति काम हुन्थ्यो, ती सब युसुफकै खटनपटनमा गरिन्थ्यो।+ २३ यहोवा परमेश्वर युसुफसित हुनुहुन्थ्यो अनि यहोवा परमेश्वरले तिनको हरेक काम सफल तुल्याइदिनुभयो। त्यसैले झ्यालखानाका हाकिमले युसुफको निगरानीमा भएको कुनै कुराको चिन्ता लिँदैनथे।+
४० केही समयपछिको कुरा हो, फारोलाई मद्य टक्य्राउने+ मुख्य सेवक र मुख्य भान्सेले* आफ्ना मालिक मिश्रका राजाविरुद्ध अपराध गरे। २ त्यसैले फारो मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैसित क्रोधित भए।+ ३ अनि फारोले तिनीहरूलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हाले।+ युसुफ पनि त्यही झ्यालखानामा थिए।+ ४ पहरेदारहरूको कप्तानले ती दुई सेवकलाई युसुफको जिम्मा लगाए।+ तिनीहरू केही समय* झ्यालखानामै रहे।
५ मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्से दुवैले झ्यालखानामा छँदा एकै रात सपना देखे। तिनीहरूको सपनाको आ-आफ्नै अर्थ थियो। ६ युसुफले भोलिपल्ट बिहान तिनीहरू दुवैको अनुहार निन्याउरो देखे। ७ त्यसैले आफ्नो मालिकको झ्यालखानामा आफूसँगै कैदी जीवन बिताइरहेका फारोका ती दुई सेवकलाई युसुफले सोधे: “हैन, आज तपाईँहरूको अनुहार किन अँध्यारो छ?” ८ तिनीहरूले यस्तो जवाफ दिए: “हामीले एउटा सपना देख्यौँ तर त्यसको अर्थ खोलिदिने कोही भएन।” तब युसुफले भने: “सपनाको अर्थ खोलिदिने त परमेश्वर नै हुनुहुन्छ नि, होइन र?+ कस्तो सपना देख्नुभयो, कृपया मलाई बताउनुहोस्।”
९ त्यसैले मद्य टक्य्राउने मुख्य सेवकले आफ्नो सपना युसुफलाई यसरी बताए: “मैले सपनामा अङ्गुरको लहरा देखेँ। १० त्यसका तीन वटा हाँगा थिए। अनि हाँगामा पालुवा लाग्यो, फूल फुल्यो अनि अङ्गुरका झुप्पाहरू पाक्न थाले। ११ मेरो हातमा फारोको कचौरा थियो। मैले अङ्गुर टिपेँ र फारोको कचौरामा निचोरेँ। अनि त्यो कचौरा मैले फारोलाई टक्य्राएँ।” १२ तिनको सपना सुनेपछि युसुफले भने: “तपाईँको सपनाको अर्थ सुन्नुहोस्: तीन वटा हाँगाको अर्थ तीन दिन हो। १३ अबको तीन दिनमा फारोले तपाईँलाई यहाँबाट निकाल्नुहुनेछ र पहिलाकै काममा नियुक्त गर्नुहुनेछ।+ तपाईँले फेरि पहिलेजस्तै फारोलाई मद्य टक्य्राउनुहुनेछ।+ १४ तर तपाईँको दिन फिरेपछि मलाई नबिर्सनुहोस्। मलाई दया* देखाउनुहोस्। मेरो विषयमा फारोलाई बिन्ती गरिदिनुहोस् र म यहाँबाट निस्कन सकूँ। १५ वास्तवमा मलाई हिब्रूहरूको देशबाट अपहरण गरेर ल्याइएको हो।+ मैले कुनै गल्ती गरेको छैनँ तैपनि म झ्यालखानामा* परेँ।”+
१६ युसुफले खोलेको सपनाको अर्थ राम्रो लागेकोले मुख्य भान्सेले पनि भने: “मैले पनि सपना देखेको थिएँ। मैले टाउकोमा तीन वटा टोकरी बोकिरहेको थिएँ र त्यसमा मसिनो पीठोका रोटीहरू थिए। १७ सबैभन्दा माथिको टोकरीमा फारोको लागि थरीथरीका रोटीहरू थिए। अनि चराहरूले ठुँगेर मेरो टाउकोमा भएको त्यस टोकरीका रोटी खाइरहेका थिए।” १८ त्यसपछि युसुफले भने: “तपाईँको सपनाको अर्थ सुन्नुहोस्: तीन वटा टोकरीको अर्थ तीन दिन हो। १९ अबको तीन दिनमा फारोले तपाईँको टाउको काटेर तपाईँलाई खाँबोमा झुन्ड्याइदिनुहुनेछ। अनि चराहरूले तपाईँको लास ठुँगीठुँगी खानेछन्।”+
२० त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो।+ त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए। २१ फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्त गरे र उनले पहिलेजस्तै फारोलाई मद्य टक्य्राउन थाले। २२ तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्याइदिए। युसुफले सपनाको अर्थ जस्तो खोलिदिएका थिए, त्यस्तै भयो।+ २३ तर मद्य टक्य्राउने मुख्य सेवकले युसुफलाई भुसुक्कै बिर्से।+
४१ यसको दुई वर्षपछिको कुरा हो, फारोले एउटा सपना देखे।+ सपनामा तिनले आफू नाइल नदीको किनारामा उभिरहेका देखे। २ तब नाइल नदीबाट सात वटा मोटाघाटा र चिल्ला गाई निस्के र किनारामा चर्न थाले।+ ३ त्यसपछि त्यही नदीबाट हाड र छाला मात्र भएका सात वटा ख्याउटे गाई निस्के र पहिले निस्केका मोटाघाटा गाईसँगै नदीको किनारामा उभिए। ४ त्यसपछि हाड र छाला मात्र भएका ख्याउटे गाईले मोटाघाटा र चिल्ला सात वटा गाईलाई निल्न थाले। त्यतिकैमा फारो झल्याँस्स ब्युँझिए।
५ त्यसपछि फारो फेरि निदाए र अर्को सपना देखे। तिनले अन्नको एउटा डाँठमा सात वटा भरिला र लहलहाउँदा बाला लागेको देखे।+ ६ त्यसपछि तिनले फोस्रा सात वटा बाला लागेको पनि देखे। ती बाला पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका थिए। ७ अनि सुकेका बालाले ती सात वटा लहलहाउँदा बालालाई निले। त्यतिकैमा फारो झल्याँस्स ब्युँझिए र त्यो त सपना पो रहेछ भनेर थाह पाए।
८ बिहान उठेपछि सपनाको अर्थ के होला भनेर तिनलाई छटपटी हुन थाल्यो। त्यसैले मिश्रका सबै जादुगरलाई र बुद्धिजीवीलाई तिनले बोलाउन लगाए। अनि फारोले तिनीहरूलाई आफूले देखेको सपना बताए तर कसैले पनि सपनाको अर्थ खोल्न सकेन।
९ ठीक त्यही बेला मद्य टक्य्राउने मुख्य सेवकले फारोलाई भने: “महाराज, आज म हजुरसामु आफ्नो पाप स्विकार्छु। १० हजुर मसित र मुख्य भान्सेसित रिसानी भएको बेला हजुरले हामी दुवैलाई पहरेदारहरूका कप्तानको निगरानीमा रहेको झ्यालखानामा हालिदिनुभएको थियो।+ ११ त्यसबेला हामी दुवैले एकै रात सपना देखेका थियौँ। हामी दुवैको सपनाको आ-आफ्नै अर्थ थियो।+ १२ हामीसँगै झ्यालखानामा एक जना हिब्रू केटो पनि थियो। ऊ पहरेदारहरूका कप्तानको दास थियो।+ हामीले आफ्नो सपना बताउँदा+ उसले त्यसको अर्थ खोलिदिएको थियो। १३ उसले जस्तो भन्यो, ठ्याक्कै त्यस्तै भयो। म फेरि आफ्नो काममा नियुक्त भएँ तर मुख्य भान्सेलाई भने हजुरले झुन्ड्याइदिनुभयो।”+
१४ यो कुरा सुनेर फारोले युसुफलाई ल्याउन मानिसहरू पठाए।+ अनि तिनीहरूले तुरुन्तै युसुफलाई झ्यालखानाबाट* निकाले।+ युसुफले दाह्री खौरे,* लुगा फेरे र फारोसामु हाजिर भए। १५ त्यसपछि फारोले युसुफलाई भने: “मैले एउटा सपना देखेँ तर कसैले त्यसको अर्थ खोलिदिन सकेन। तिमीले सपनाको अर्थ खोलिदिन सक्छौ रे भनेर मैले सुनेको थिएँ।”+ १६ तब युसुफले फारोलाई भने: “सपनाको अर्थ खोलिदिने म होइनँ, परमेश्वर नै हुनुहुन्छ! उहाँले नै हजुरलाई शुभसमाचार सुनाउनुहुन्छ!”+
१७ अनि फारोले युसुफलाई आफ्नो सपना बताउन थाले: “म नाइल नदीको किनारामा उभिरहेको थिएँ। १८ तब नाइल नदीबाट सात वटा मोटाघाटा र चिल्ला गाई निस्के र किनारामा चर्न थाले।+ १९ त्यसपछि नाइल नदीबाटै हाड र छाला मात्र भएका सात वटा ख्याउटे गाई निस्के। मैले त्यत्ति कुरूप गाई मिश्रमा अहिलेसम्म देखेको थिइनँ। २० ती ख्याउटे अनि कुरूप गाईले मोटाघाटा सात वटा गाईलाई भकाभक निल्न थाले। २१ मोटाघाटा गाईलाई खाइसकेर पनि तिनीहरूले खाए भनेर कसैले भन्न सक्दैनथ्यो किनकि तिनीहरू पहिलाजस्तै ख्याउटे नै देखिन्थे। तब म ब्युँझिएँ।
२२ “अनि फेरि मैले अर्को सपना देखेँ। एउटा डाँठमा अन्नका सात वटा भरिला र लहलहाउँदा बाला लागेका थिए।+ २३ त्यसपछि मैले फोस्रा सात वटा बाला लागेको देखेँ। ती बाला पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका थिए। २४ अनि सुकेका बालाले ती सात वटा लहलहाउँदा बालालाई निले। यी सपनाहरू मैले जादुगरहरूलाई+ बताएँ तर कसैले त्यसको अर्थ खोलिदिन सकेन।”+
२५ फारोको कुरा सुनेपछि युसुफले भने: “हजुरले देख्नुभएको सपनाको अर्थ वास्तवमा एउटै हो। साँचो परमेश्वरले जे गर्न लाग्नुभएको छ, त्यो उहाँले फारोलाई बताउँदै हुनुहुन्छ।+ २६ मोटाघाटा सात वटा गाईले सात वर्षलाई बुझाउँछ। सात वटा भरिला बालाले पनि सात वर्षलाई बुझाउँछ। वास्तवमा दुवै सपनाको अर्थ एउटै हो। २७ पछि निस्केका सात वटा ख्याउटे र कुरूप गाईले सात वर्षलाई बुझाउँछ अनि पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्ग्रङ्गै सुकेका सात वटा बालाले सात वर्षसम्म अनिकाल पर्ने कुरालाई बुझाउँछ। २८ मैले हजुरलाई अघि पनि बताएँ, साँचो परमेश्वरले जे गर्न लाग्नुभएको छ, त्यो उहाँले फारोलाई देखाउँदै हुनुहुन्छ।
२९ “मिश्रभरि सात वर्ष प्रशस्त उब्जनी हुनेछ। ३० तर त्यसपछि सात वर्षसम्म भयङ्कर अनिकाल पर्नेछ, जसले गर्दा मिश्रमा प्रशस्त उब्जनी भएको थियो भनेर सम्झनासमेत हुनेछैन। अनिकालले सारा देश सखाप हुनेछ।+ ३१ अनिकाल यत्ति भयङ्कर हुनेछ कि पहिला मिश्रभरि प्रशस्त उब्जनी भएको थियो भनेर कसैले सम्झनेछैन। ३२ साँचो परमेश्वरले यो निश्चय गर्नुभएको छ र उहाँले यो चाँडै पूरा गर्नुहुनेछ। त्यसैले त उहाँले हजुरलाई दुई-दुई पटक सपना देखाउनुभयो।
३३ “अब एक जना समझदार अनि बुद्धिमान् मानिस खोज्न लगाउनुहोस् र पूरै मिश्रको जिम्मा उसलाई दिनुहोस्। ३४ अनि ठाउँठाउँमा नाइके नियुक्त गर्नुहोस् र सात वर्ष लामो सहकालको बेला तिनीहरूले उब्जनीको पाँचौँ भाग जम्मा गरून्।+ ३५ फसल प्रशस्त हुने वर्षहरूमा तिनीहरूले अन्न बटुलून् र सहर-सहरमा हजुरको गोदाममा जम्मा गरून् र सुरक्षित राखून्।+ ३६ मिश्रमा सात वर्षसम्म अनिकाल लाग्दा त्यही अन्न वितरण गरियोस् ताकि अनिकालले गर्दा देश विनाश हुन नपाओस्।”+
३७ युसुफको यो कुरा फारो र तिनका सबै सेवकलाई मन पऱ्यो। ३८ अनि फारोले आफ्ना सेवकहरूलाई भने: “यिनीमाथि साँच्चै परमेश्वरको शक्ति रहेछ। यस कामको लागि यिनीभन्दा राम्रो मानिस अरू को होला र?” ३९ त्यसपछि फारोले युसुफलाई भने: “परमेश्वरले तिमीलाई सबै कुरा बताउनुभएकोले तिमीभन्दा समझदार र बुद्धिमान् मानिस अरू कोही हुन सक्दैन। ४० अब तिमी नै मेरो महलको हर्ताकर्ता भयौ, मेरा सबै प्रजाले अबदेखि तिम्रो हुकुम मान्नेछन्।+ राजा भएकोले* मात्र म तिमीभन्दा माथि हुनेछु।” ४१ अनि फारोले युसुफलाई अझै यसो भने: “हेर, मैले तिमीलाई सारा मिश्रको अधिकार सुम्पेको छु।”+ ४२ यति भनिसकेपछि फारोले आफ्नो छापऔँठी फुकाले र युसुफलाई लगाइदिए अनि उच्चकोटिको मलमलको दामी लुगा र गलामा सुनको हार पनि पहिराइदिए। ४३ अनि फारोले आफ्नो भन्दा एक दर्जा मुनिको शाही रथ झिकाए र युसुफलाई त्यसमा सवार गराए। युसुफ जहाँ-जहाँ जान्छन्, त्यहाँ-त्यहाँ तिनको अघिअघि “आभ्रेख!”* भन्दै दौडन तिनले मानिसहरू पनि खटाए। यसरी फारोले युसुफलाई पूरै मिश्रको अधिकार सुम्पे।
४४ अनि फारोले युसुफलाई भने: “म फारो हुँ! तर तिम्रो आदेशविना मिश्रमा कसैले केही पनि गर्न पाउनेछैन।”+ ४५ त्यसपछि फारोले युसुफको नाम जप्नाथ-पानेह* राखे। अनि ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथसित+ तिनको विवाह गरिदिए। त्यसपछि युसुफले सारा मिश्रको निरीक्षण गर्न थाले।*+ ४६ मिश्रका फारोसामु उपस्थित हुँदा* युसुफ ३० वर्षका थिए।+
अनि युसुफ फारोकहाँबाट निस्केर सारा मिश्रको दौडाहामा गए। ४७ सात वर्ष लामो सहकालको बेला मिश्रमा प्रशस्त उब्जनी भयो। ४८ तिनले सात वर्षसम्म मिश्रभरिको अनाज बटुले र सहर-सहरका गोदाममा जम्मा गरे। तिनी प्रत्येक सहरमा त्यसको वरिपरिबाट अन्न बटुलेर भण्डार गर्थे। ४९ युसुफले समुद्रका बालुवासरि प्रशस्त अन्न जम्मा गरिरहे। जम्मा गरेको अन्न यति धेरै भयो कि त्यसको लेखाजोखा राख्नै गाह्रो भयो। त्यसैले तिनीहरूले त्यसको हिसाब राख्नै छोडिदिए।
५० अनिकाल सुरु हुनुअघि नै ओनका पुजारी पोतिफेराकी छोरी असेनाथबाट युसुफका दुई छोरा जन्मिसकेका थिए।+ ५१ युसुफले पहिलो सन्तानको नाम मनस्से*+ राखे। किनभने तिनले यसो भने: “परमेश्वरले मलाई मेरो दुःख र मेरो बुबाको घर बिर्सन मदत गर्नुभयो।” ५२ तिनले अर्को छोराको नाम एप्रैम*+ राखे। किनभने तिनले यसो भने: “मैले जुन देशमा दुःख पाएँ, त्यही देशमै परमेश्वरले मेरो फलिफाप गराउनुभयो।”+
५३ यसरी मिश्रमा सात वर्ष लामो सहकालको अन्त भयो।+ ५४ त्यसपछि सात वर्ष लामो अनिकाल सुरु भयो। युसुफले जस्तो भनेका थिए, ठीक त्यस्तै भयो।+ सारा संसारमा अनिकाल पऱ्यो तर मिश्रमा भने खानेकुराको कुनै अभाव थिएन।+ ५५ पछि गएर मिश्रसमेत अनिकालले ग्रस्त भयो र मानिसहरू फारोलाई गुहार्न थाले।+ अनि फारोले मिश्रका जनतालाई भने: “युसुफकहाँ जाओ र तिनी जसो भन्छन्, त्यसै गर!”+ ५६ यसरी पृथ्वीभरि अनिकाल परिरह्यो।+ मिश्रलाई अनिकालले च्याप्दै लगेपछि युसुफले अन्नका सबै भण्डार खोले र मिश्रका मानिसहरूलाई अन्न बेच्न थाले।+ ५७ सारा पृथ्वीका मानिसहरू पनि युसुफसित अन्न किन्न मिश्र जान थाले किनभने भयङ्कर अनिकालले पूरै संसारलाई सताएको थियो।+
४२ मिश्रमा अन्न छ भन्ने सुनेपछि+ याकुबले छोराहरूलाई भने: “हैन, तिमीहरू किन एकअर्काको अनुहार टुलुटुलु हेरेर बसिरहन्छौ? २ मिश्रमा अन्न छ भनेर मैले सुनेको छु। त्यसैले मिश्र जाओ र अन्न किनेर ल्याओ नत्र त हामी भोकभोकै मर्नेछौँ।”+ ३ त्यसैकारण युसुफका १० जना दाइ+ अन्न किन्न मिश्रतिर लागे। ४ तर याकुबले युसुफका साक्खै भाइ बिन्यामिनलाई+ उनका दाइहरूसित पठाएनन्। किनकि तिनले भने: “बिन्यामिनलाई बाटोमा केही होला र ऊ मर्ला!”+
५ त्यसैले इस्राएलका छोराहरू कनानका अरू मानिससँगसँगै मिश्रमा अन्न किन्न गए। किनकि अनिकाल कनानसम्मै फैलिएको थियो।+ ६ त्यतिबेला युसुफलाई मिश्रको अधिकार दिइएको थियो।+ तिनले नै सारा पृथ्वीबाट आएका मानिसहरूलाई अन्न बेचिरहेका थिए।+ त्यसैले युसुफका दाइहरू तिनीकहाँ गए र भुईँसम्म निहुरिएर दण्डवत् गरे।+ ७ युसुफले दाइहरूलाई देख्नेबित्तिकै चिनिहाले तर तिनले आफ्नो परिचय दाइहरूलाई खुलाएनन्।+ त्यसैले रुखो हुँदै उनीहरूलाई सोधे: “तिमीहरू कहाँबाट आयौ?” तब उनीहरूले जवाफ दिए: “कनानबाट हजुर। हामी हजुरकहाँ अन्न किन्न आएका हौँ।”+
८ यसरी युसुफले आफ्ना दाइहरूलाई चिने तर उनीहरूले भने तिनलाई चिनेनन्। ९ तब तिनले आफ्ना दाइहरूबारे देखेको सपना झल्याँस्स सम्झे+ र उनीहरूलाई भने: “तिमीहरू जासुस हौ! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ!” १० उनीहरूले भने: “होइन मालिक, हामी हजुरका दासहरू अन्न किन्न आएका हौँ। ११ हामी सबै एउटै बुबाका सन्तान हौँ। हामी सिधासादा मानिस हौँ। हामी हजुरका दासहरू जासुसी गर्न आएका होइनौँ।” १२ तर तिनले उनीहरूलाई भने: “होइन! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन नै आएका हौ!” १३ तब उनीहरूले भने: “हामी, हजुरका दास १२ दाजुभाइ+ छौँ। हामी सबै एउटै बुबाका सन्तान हौँ।+ हाम्रो बुबा कनानमा हुनुहुन्छ। अहिले कान्छो भाइ बुबासितै छ।+ अर्को भाइचाहिँ मरिसक्यो।”+
१४ तर युसुफले उनीहरूलाई भने: “मैले अघि नै भनिहालेँ, ‘तिमीहरू जासुस नै हौ!’ १५ तिमीहरूले साँचो बोलेका हौ कि होइनौ, म पत्ता लगाउँछु। फारोको नाममा म कसम खाएर भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म म तिमीहरूलाई कुनै हालतमा यहाँबाट जान दिन्नँ।+ १६ जाऊ, तिमीहरूमध्ये एक जनाले आफ्नो भाइलाई लिएर आऊ। बाँकी भने यहाँ हिरासतमा बस्नुपर्नेछ। तिमीहरूले साँचो बोलेका हौ कि झूटो, त्यसपछि पक्का हुनेछ। तिमीहरूले झूट बोलेका रहेछौ भने म फारोको नाममा कसम खाएर भन्छु, तिमीहरू जासुस नै हौ।” १७ त्यसपछि तिनले उनीहरूलाई तीन दिनसम्म हिरासतमा राखे।
१८ तेस्रो दिन युसुफले उनीहरूलाई भने: “म परमेश्वरको डर मान्ने मान्छे हुँ। त्यसैले तिमीहरू आफ्नो ज्यान जोगाउन चाहन्छौ भने मैले भनेको मान। १९ तिमीहरू साँच्चै सिधासादा मानिस हौ भने एक जना यहीँ हिरासतमा बस। बाँकीचाहिँ आफ्नो परिवारको ज्यान जोगाउन अन्न लिएर घर फर्क।+ २० अनि आफ्नो कान्छो भाइ लिएर यहाँ मकहाँ आओ। तिमीहरूले भनेको कुरा साँचो साबित भयो भने तिमीहरूको ज्यान जोगिनेछ।” तब उनीहरूले त्यसै गरे।
२१ उनीहरूले आपसमा भने: “हामीले भाइलाई गरेको नराम्रो व्यवहारको नतिजा भोगिरहेका हौँ।+ त्यसले रोइकराइ गरेर हामीसित बिन्तीभाउ गर्दा पनि हामीले त्यसलाई रतीभर दया देखाएनौँ। त्यसैले हामीमाथि यो विपत्ति आइलागेको हो।” २२ तब रुबेनले उनीहरूलाई भने: “‘त्यसलाई केही नगर’ भनेर मैले तिमीहरूलाई भनेकै थिएँ तर तिमीहरूले सुनेनौ!+ अहिले हामीलाई त्यसकै रगतको पाप लागेको हो।”+ २३ युसुफले उनीहरूको कुराकानी बुझे भनेर उनीहरूले थाहै पाएनन् किनभने उनीहरूसित कुरा गर्दा युसुफले दोभासे प्रयोग गरेका थिए। २४ उनीहरूको कुरा सुनेपछि युसुफ अलि पर गएर रुन थाले।+ पछि तिनी फर्केर आए र फेरि उनीहरूसित कुरा गरे। अनि तिनले सिमियोनलाई+ उनीहरूकै आँखाअगाडि बाँधे।+ २५ त्यसपछि युसुफले आफ्ना सेवकहरूलाई बोलाएर उनीहरूको धोक्रोमा अन्न भर्न र उनीहरूले तिरेको पैसा त्यही धोक्रोमा राख्न अह्राए। साथै तिनले यात्रा गर्दा चाहिने खानेकुरा पनि दिन लगाए। तब युसुफका सेवकहरूले तिनको हुकुमबमोजिमै गरे।
२६ त्यसपछि उनीहरूले आ-आफ्नो गधालाई अन्नको धोक्रो बोकाए र आफ्नो बाटो लागे। २७ बास बस्ने ठाउँमा पुगेपछि उनीहरूमध्ये एक जनाले गधालाई दाना दिन आफ्नो धोक्रो फुकाउँदा धोक्रोको मुखैमा पैसा देखे। २८ तब उनले आफ्ना दाजुभाइलाई भने: “हेर त, मेरो पैसा फिर्ता गरेर यहीँ धोक्रोमै हालिदिएको रहेछ!” तब उनीहरू डरले खङ्ग्रङ्गै भए र थरथर काँप्न थाले। उनीहरूले एकअर्कालाई हेर्दै यसो भन्न थाले: “परमेश्वरले हामीसित किन यस्तो गर्नुभएको होला?”
२९ कनानमा आफ्ना बुबा याकुबकहाँ पुगेपछि उनीहरूले आफूहरूमाथि आइपरेको सबै कुरा बेलिविस्तार लगाए। अनि उनीहरूले भने: ३० “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले+ र हामीलाई जासुसी गर्न आएको आरोप लगाए। ३१ हामीले तिनलाई ‘हामी सिधासादा मानिस हौँ, जासुस होइनौँ।+ ३२ हामी एउटै बुबाका १२ भाइ+ छोरा हौँ। एउटा भाइ मरिसक्यो,+ कान्छोचाहिँ अहिले बुबासितै कनानमा छ’ भन्यौँ।+ ३३ तर त्यस देशका मालिकले हामीलाई भने: ‘तिमीहरू साँच्चै सिधासादा मानिस हौ भने तिमीहरूमध्ये एक जनालाई यहीँ मकहाँ छोड।+ अनि बाँकीचाहिँ परिवारको ज्यान जोगाउन अन्न लिएर घर फर्क।+ ३४ अनि आफ्नो कान्छो भाइ लिएर यहाँ मकहाँ आओ। तब मात्र तिमीहरू जासुस होइनौ, सिधासादा मानिसहरू नै रहेछौ भनेर म पत्याउनेछु। त्यसपछि म तिमीहरूको भाइलाई छोडिदिनेछु र तिमीहरू यहाँ अन्न किन्न आउन सक्छौ।’”
३५ अनि धोक्रोको अन्न खन्याउँदै गर्दा उनीहरूले आ-आफ्नो धोक्रोमा पैसाको थैलो पनि भेट्टाए। यो देखेर याकुब र तिनका छोराहरू डराए। ३६ उनीहरूका बुबा याकुबले सुस्केरा हाल्दै भने: “हाय! तिमीहरूले गर्दा मैले आफ्ना छोराहरू गुमाउने भएँ!+ युसुफ मरिसक्यो,+ अहिले सिमियोन पनि यहाँ छैन।+ अब तिमीहरू बिन्यामिनलाई पनि लैजान खोज्दै छौ! मैमाथि यस्तो विपत्ति किन आइपरेको होला?” ३७ तब रुबेनले बुबालाई भने: “उसलाई फर्काएर ल्याइनँ भने मेरा दुई छोराको ज्यान लिनुहोस्। बिन्यामिनको जिम्मा मै लिन्छु।+ म उसलाई तपाईँकहाँ सकुशल फर्काएर ल्याउनेछु।”+ ३८ तर याकुबले भने: “अहँ! मेरो छोरालाई तिमीहरूले लैजान पाउनेछैनौ! उसको दाइ मरिसक्यो, अब ऊ एउटा मात्र बाँकी छ।+ तिमीहरूसँगै जाँदा बाटोमा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।”+
४३ त्यतिन्जेल कनानलाई भयङ्कर अनिकालले गाँजिसकेको थियो।+ २ मिश्रबाट ल्याएको अन्न सिद्धिसकेपछि याकुबले आफ्ना छोराहरूलाई यसो भने:+ “जाओ, फेरि अन्न किनेर ल्याओ।” ३ तब यहुदाले भने: “मिश्रका मालिकले ‘तिम्रो भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू’ भनेर हामीलाई धम्की दिएका छन्।+ ४ त्यसैले कान्छो भाइलाई हामीसँगै पठाउनुभयो भने हामी अन्न किन्न मिश्र जान्छौँ। ५ तर उसलाई हामीसँगै पठाउनुभएन भने हामी जाँदैनौँ किनभने ती मानिसले हामीलाई यसो भनेका छन्: ‘तिमीहरूको भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू।’”+ ६ यो कुरा सुनेर इस्राएलले+ भने: “तिमीहरूले हाम्रो अर्को भाइ पनि छ भनेर किन भन्यौ? तिमीहरूले किन ममाथि यत्रो सङ्कट ल्यायौ?” ७ तब उनीहरूले भने: “ती मानिसले हामीलाई घरमा अरू को-को छन् भनेर सीधै सोधेपछि हामीले के गर्ने? तिनले हामीलाई ‘तिमीहरूका बुबा जीवितै छन्? तिमीहरूको अर्को भाइ पनि छ?’ भनेर सोधे। त्यसैले हामीले पनि सही-सही जवाफ दियौँ।+ तिनले ‘तिमीहरूको भाइलाई यहाँ ल्याओ’ भन्लान् भनेर हामीलाई के थाह?”+
८ त्यसपछि यहुदाले आफ्ना बुबा इस्राएललाई बिन्ती गरे: “बुबा, कान्छो भाइलाई मसँगै पठाउनुहोस्।+ हामी अन्न किन्न गइहाल्छौँ नत्र तपाईँ, हामी र हाम्रा केटाकेटी+ भोकभोकै मर्नेछौँ।+ ९ बुबा, उसको जमानी म भएँ। म उसलाई सकुशल यहाँ फर्काएर ल्याउनेछु।+ यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु। १० हुन पनि ढिला नगरेको भए अहिलेसम्म हामी दुई चोटि मिश्र पुगेर फर्किसकेका हुन्थ्यौँ।”
११ त्यसैले उनीहरूका बुबा इस्राएलले भने: “त्यसो हो भने यसो गर: यस देशका असल-असल थोक लिएर जाओ र ती मानिसलाई उपहार+ देओ—अलिकति बाल्सम,*+ अलिकति मह, लब्दानम,* रूखको बोक्रा,*+ पेस्ता र कागजी बदाम। १२ अन्न किन्न यसपालि दुई गुणा पैसा लैजाओ र तिमीहरूको धोक्रोमा फेला परेको पैसा पनि फिर्ता लगिदेओ।+ गल्तीले पैसा त्यहाँ परेको होला। १३ भाइलाई पनि सँगै लिएर ती मानिसकहाँ जाओ। १४ सर्वशक्तिमान् परमेश्वरको कृपाले ती मानिसले तिमीहरूमाथि दया देखाऊन् र तिनले सिमियोनलाई छोडिदेऊन् र बिन्यामिनलाई तिमीहरूसँगै फर्काइदेऊन्। तर यदि त्यसो भएन र मैले छोराहरूको बिछोड सहनै पर्ने रहेछ भने पनि सहुँला।”+
१५ त्यसैले उनीहरूले उपहार र दुई गुणा पैसा लिए अनि बिन्यामिनलाई पनि सँगै लिएर मिश्र गए। त्यसपछि उनीहरू फेरि युसुफसामु हाजिर भए।+ १६ जब युसुफले उनीहरूसँगै बिन्यामिनलाई पनि देखे, तब तिनले तुरुन्तै आफ्नो घरको रेखदेख गर्ने मानिसलाई भने: “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ र पशुहरू ढालेर भोज तयार पार। आज दिउँसो म यिनीहरूसँगै खाना खानेछु।” १७ त्यस मानिसले तुरुन्तै युसुफले भनेझैँ गऱ्यो।+ उसले उनीहरूलाई युसुफको घरमा लग्यो। १८ युसुफको घरमा लगिँदा उनीहरू डराए र आपसमा यसो भन्न थाले: “यसअघि हामी अन्न लिएर फर्कँदा हाम्रो धोक्रोमा जुन पैसा राखिएको थियो, त्यही पैसाको कारण हामीलाई यहाँ ल्याइएको होला। लौ! अब तिनीहरूले हामीलाई पक्रेर दास बनाउने भए! हाम्रा गधाहरू लिने भए!”+
१९ त्यसैले उनीहरूले युसुफको घरको ढोकैमा घरको रेखदेख गर्ने मानिससामु आफ्नो कुरा राखे। २० उनीहरूले भने: “रिसानी माफ होस् हजुर, हामी पहिला पनि अन्न किन्न आएका थियौँ।+ २१ घर फर्कने बेला हामीले बास बसेको ठाउँमा आ-आफ्नो धोक्रो खोल्यौँ। धोक्रो खोल्दा हामी तीनछक पऱ्यौँ। हामी सबैको धोक्रोमा हामीले तिरेको पूरै पैसा रहेछ!+ हामी त्यो पैसा फिर्ता दिन चाहन्छौँ। २२ हाम्रो धोक्रोमा कसले पैसा राखिदियो, हामीलाई थाह छैन। अहिले फेरि अन्न किन्न हामीले अझ धेरै पैसा ल्याएका छौँ।”+ २३ तब त्यस मानिसले भन्यो: “ठीक छ, डराउनुपर्दैन। तिमीहरूले तिरेको पैसा मैले पाइसकेको थिएँ। तिमीहरूले आ-आफ्नो धोक्रोमा फेला पारेको पैसा त तिमीहरू र तिमीहरूका बुबाका ईश्वरले नै राखिदिएको हुनुपर्छ।” त्यसपछि त्यस मानिसले सिमियोनलाई उनीहरूसामु ल्यायो।+
२४ अनि त्यस मानिसले उनीहरूलाई युसुफको घरभित्र लग्यो र उनीहरूको गोडा धुन पानी दियो। उसले उनीहरूको गधाहरूको लागि पनि दानापानी दियो। २५ युसुफ दिउँसो आफ्नो घर फर्केर उनीहरूसँगै खाना खानेछन्+ भनेर उनीहरूलाई खबर गरिएको थियो। त्यसैले उनीहरूले युसुफको लागि ल्याएको उपहार तयार पारे।+ २६ दिउँसो युसुफ फर्केपछि उनीहरूले उपहार टक्य्राए र लम्पसार परेर युसुफलाई ढोगे।+ २७ त्यसपछि युसुफले उनीहरूको सन्चो बिसन्चो सोधे र भने: “तिमीहरूले ‘हाम्रा बुबा वृद्ध हुनुहुन्छ’ भनेका थियौ, उहाँ जीवितै हुनुहुन्छ? उहाँलाई सन्चै छ?”+ २८ उनीहरूले जवाफ दिए: “हजुरको दास हाम्रा बुबा जीवितै हुनुहुन्छ। उहाँ सन्चै हुनुहुन्छ।” त्यसपछि उनीहरूले फेरि लम्पसार परेर युसुफलाई ढोगे।+
२९ आफ्नो साक्खै भाइ+ बिन्यामिनलाई देखेपछि तिनले भने: “तिमीहरूले ‘कान्छो भाइ पनि छ’ भनेका थियौ, ऊ नै हो?”+ अनि तिनले बिन्यामिनलाई भने: “बाबु, परमेश्वरले सदा तिम्रो कल्याण गरून्।” ३० आफ्नो भाइलाई देखेर युसुफले मन थाम्नै सकेनन्। त्यसैले तिनी हत्त न पत्त त्यहाँबाट निस्केर एउटा कोठामा पसे र धुरुधुरु रोए+ ३१ अनि तिनी मुख धोईवरी बाहिर निस्के। तिनले आफूलाई सम्हालेर भने: “खाना पस्क।” ३२ तिनीहरूले युसुफको लागि, ती दाजुभाइको लागि र त्यहाँ भएका अरू मिश्रीहरूको लागि छुट्टाछुट्टै टेबुलमा खाना राखे। किनभने मिश्रीहरू हिब्रूहरूसँग खाना खान घिन मान्थे।+
३३ युसुफका दाजुभाइलाई तिनको सामने बसाइयो। सबैभन्दा जेठोदेखि+ सबैभन्दा कान्छोसम्म सबैलाई उनीहरूको उमेरअनुसार बसाइयो। तब उनीहरूले एकअर्कालाई अचम्म मान्दै हेराहेर गर्न थाले। ३४ युसुफले उनीहरूको निम्ति आफ्नै टेबुलको खाना पस्कन लगाए। तर बिन्यामिनलाई भने अरू सबैलाई भन्दा पाँच गुणा धेरै पस्कन लगाए।+ यसरी उनीहरूले युसुफसँगै अघाउन्जेल खानपिन गरे।
४४ त्यसपछि युसुफले आफ्नो घरको रेखदेख गर्ने मानिसलाई यस्तो आदेश दिए: “ती मानिसहरूको धोक्रोमा उनीहरूले बोक्न सक्नेजति अन्न भरिदेऊ र उनीहरूको पैसा पनि धोक्रोको मुखमा राखिदेऊ।+ २ तर कान्छोको धोक्रोमा पैसासँगै मेरो चाँदीको कचौरा पनि राखिदेऊ।” युसुफले अह्राएझैँ उसले गऱ्यो।
३ भोलिपल्ट उज्यालो भएपछि उनीहरूलाई आ-आफ्नो गधासँगै त्यहाँबाट पठाइयो। ४ उनीहरू सहरबाट निस्केर अलि पर पुग्न नपाउँदै युसुफले आफ्नो घरको रेखदेख गर्ने मानिसलाई यसो भने: “उठ! ती मानिसहरूको पछिपछि जाऊ! अनि उनीहरूलाई भेट्टाएपछि यसो भन: ‘तिमीहरूले किन गुनको साटो बैगुन गऱ्यौ? ५ तिमीहरूले मेरो मालिकको कचौरा किन चोऱ्यौ? उहाँले यही कचौराबाट पिउँदै शकुन-अपशकुन पत्ता लगाउनुहुन्थ्यो। तिमीहरूले कसरी यस्तो नीच काम गऱ्यौ?’”
६ उनीहरूलाई भेट्टाएपछि युसुफको घरको रेखदेख गर्ने मानिसले त्यसै भन्यो। ७ तर उनीहरूले यस्तो जवाफ दिए: “हजुर के भन्दै हुनुहुन्छ? हामी हजुरका दासहरूले मनमा समेत त्यस्तो खराब कुरा चिताएका छैनौँ। ८ हामीले पहिले धोक्रोमा फेला पारेको पैसा त फिर्ता गऱ्यौँ+ भने हजुरको मालिकको घरबाट सुनचाँदी किन चोर्थ्यौँ होला र? ९ हामी हजुरका दासहरूमध्ये कसैसित त्यो फेला पऱ्यो भने हजुरले उसको ज्यान लिनुहोस् अनि हामी बाँकी पनि हजुरका दास हुनेछौँ।” १० अनि उसले भन्यो: “तिमीहरूले भनेझैँ होस्। तर जसको धोक्रोमा कचौरा फेला पर्छ, ऊ मात्र मेरो दास हुनेछ अनि बाँकीचाहिँ निर्दोष ठहरिनेछन्।” ११ तब उनीहरूले तुरुन्तै आ-आफ्नो धोक्रो गधाबाट झारे र खोले। १२ युसुफको घरको रेखदेख गर्ने मानिसले जेठोदेखि कान्छोसम्म पालैसित सबैको धोक्रोको खानतलासी गऱ्यो। अन्तमा बिन्यामिनको धोक्रोमा कचौरा फेला पऱ्यो।+
१३ तब दुःखी हुँदै उनीहरू सबैले आफ्नो लुगा च्याते। अनि आफ्नो धोक्रो गधामा लादेर फेरि सहरतिर फर्के। १४ यहुदा+ र उनका दाजुभाइ युसुफकहाँ पुग्दा युसुफ घरमै थिए। उनीहरूले लम्पसार परेर युसुफलाई ढोगे।+ १५ युसुफले उनीहरूलाई भने: “तिमीहरूले यो के गऱ्यौ? मैले शकुनहरू हेर्न जानेको छु भनेर तिमीहरूलाई थाह थिएन?”+ १६ तब यहुदाले यस्तो जवाफ दिए: “मालिक, हामी हजुरलाई के भनौँ? हामीसित भन्ने कुरा के नै छ र? हामी निर्दोष छौँ भनेर कसरी प्रमाण देऔँ? साँचो परमेश्वरले नै हामीलाई सजाय दिनुभएको हो।+ मालिक, अब हामी हजुरका दास भयौँ। हामी र जसको धोक्रोमा कचौरा फेला पऱ्यो, सबै नै हजुरका दास भयौँ।” १७ तर तिनले भने: “अहँ! मबाट त्यस्तो नीच काम हुनै सक्दैन। जोसित कचौरा फेला पऱ्यो, ऊ मात्र मेरो दास हुनेछ।+ बाँकी आफ्नो बुबाकहाँ फर्क।”
१८ तब यहुदाले नजिकै गएर युसुफलाई भने: “हे मेरो मालिक, बिन्ती! रिसानी माफ होस् हजुर! यस दासलाई केही बोल्न दिनुहोस्। हजुर फारोसरह हुनुहुन्छ।+ १९ हजुरले ‘तिमीहरूका बुबा अथवा दाजुभाइ कोही छ’ भनेर आफ्ना दासहरूलाई सोध्नुभएको थियो। २० त्यतिबेला हामीले यस्तो जवाफ दिएका थियौँ, ‘हाम्रो वृद्ध बुबा हुनुहुन्छ र उहाँको बुढेसकालको एउटा छोरो पनि छ—हाम्रो सबैभन्दा कान्छो भाइ।+ उहाँ उसलाई असाध्यै माया गर्नुहुन्छ, उसको दाइ मरिसकेकोले+ उसको साक्खै दाजुभाइ कोही छैन।’+ २१ त्यसपछि हजुरले नै ‘उसलाई यहाँ ल्याऊ, म उसलाई हेर्न चाहन्छु’ भन्नुभएको थियो।+ २२ तर हामीले हजुरलाई यसो भनेका थियौँ: ‘उसलाई ल्याउन मिल्दैन। उसलाई ल्यायो भने बुबा शोकमै डुबेर बित्नुहुनेछ।’+ २३ तर हजुरले ‘कान्छो भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू’ भनेर हामी हजुरका दासहरूलाई जवाफ दिनुभएको थियो।+
२४ “त्यसपछि हामी हाम्रा बुबा हजुरको दासकहाँ फर्क्यौँ र उहाँलाई हजुरले भन्नुभएको कुरा सुनायौँ। २५ केही समयपछि बुबाले हामीलाई भन्नुभयो: ‘जाओ, फेरि केही अन्न किनेर ल्याओ।’+ २६ तर हामीले भन्यौँ: ‘अहँ! हामी जान सक्दैनौँ। कान्छो भाइलाई हामीसँग पठाउनुभयो भने मात्र हामी जानेछौँ। उसलाई नलगेसम्म हामी ती मानिससामु आफ्नो मुख देखाउन सक्दैनौँ।’+ २७ त्यसपछि हजुरका दास मेरो बुबाले भन्नुभयो: ‘मेरी पत्नीले दुई छोरा+ जन्माएकी थिई भनेर तिमीहरूलाई थाहै छ। २८ तिनीहरूमध्ये एउटा छोरा त मैले गुमाइसकेँ र मैले अहिलेसम्म उसको मुख देख्न पाएको छैनँ। मैले भनेको थिएँ: “उसलाई पक्कै पनि जङ्गली जनावरले लुछेर खाएको हुनुपर्छ।”+ २९ अब तिमीहरूले कान्छोलाई पनि लग्यौ र यात्रामा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।’+
३० “बुबा हाम्रो कान्छो भाइलाई आफूलाई भन्दा धेरै माया गर्नुहुन्छ। त्यसैले भाइलाई नलिई म फर्केँ ३१ र बुबाले भाइलाई हामीसित देख्नुभएन भने उहाँको मृत्यु हुनेछ; वृद्ध भइसक्नुभएको हाम्रो बुबा शोक गर्दागर्दै चिहानमा* जानुहुनेछ र त्यसको दोष हामीलाई लाग्नेछ। ३२ म, हजुरको दासले कान्छो भाइको जिम्मा लिएर बुबालाई यसो भनेको थिएँ, ‘यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु।’+ ३३ त्यसैले बिन्ती छ हजुर, उसलाई आफ्ना दाइहरूसित फर्कन दिनुहोस्। बरु उसको साटो म हजुरको दास हुनेछु। ३४ भाइलाई नलिई म कसरी बुबाकहाँ जाऊँ? बुबाको पीडा म कसरी हेरूँ?”
४५ तब युसुफले मन थाम्नै सकेनन्+ र आफ्ना सेवकहरूलाई “तिमीहरू सबै बाहिर जाओ!” भनेर आदेश दिए। युसुफले आफ्ना दाजुभाइसामु आफू को हुँ भनेर बताउँदा त्यहाँ अरू कोही थिएन।+
२ त्यसपछि तिनी डाँको छोडेर रोए। वरपरका मिश्रीहरूले अनि फारोको महलमा हुनेहरूले समेत तिनी रोएको सुने। ३ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “म युसुफ हुँ। के मेरो बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुभाइ अक्क न बक्क भए, उनीहरूले केही जवाफै दिन सकेनन्। ४ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “कृपया मेरो नजिकै आउनुहोस्।” तब उनीहरू सबै नजिक गए।
अनि तिनले भने: “म युसुफ हुँ, तपाईँहरूले मिश्रमा बेच्नुभएको तपाईँहरूको भाइ।+ ५ तर तपाईँहरू त्यो कुरा सम्झेर दुःख नमान्नुहोस् अनि एकअर्कालाई दोष पनि नलगाउनुहोस्। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्वरले मलाई तपाईँहरूभन्दा अघि यहाँ पठाउनुभएको हो।+ ६ अनिकाल सुरु भएको भर्खर दुई वर्ष भयो।+ अझै पाँच वर्ष अनिकाल हुनेछ। त्यतिन्जेल न खेत जोतिनेछ न बाली नै भित्र्याइनेछ। ७ तपाईँहरूलाई असाधारण तरिकामा बचाउन र पृथ्वीबाट तपाईँहरूको वंश विनाश हुनदेखि जोगाउन+ परमेश्वरले मलाई यहाँ तपाईँहरूभन्दा अघि पठाउनुभएको हो। ८ त्यसैले मलाई यहाँ पठाउने तपाईँहरू होइन, साँचो परमेश्वर नै हुनुहुन्छ। उहाँले नै मलाई फारोको प्रमुख सल्लाहकार* नियुक्त गर्नुभयो, तिनको घरको हर्ताकर्ता बनाउनुभयो र पूरै मिश्र मेरो हातमा सुम्पनुभयो।+
९ “अब झट्टै बुबाकहाँ फर्कनुहोस् र उहाँलाई भन्नुहोस्: ‘तपाईँको छोरा युसुफले यसो भनेको छ: “परमेश्वरले मलाई पूरै मिश्र सुम्पनुभएको छ।+ त्यसैले रतीभर ढिला नगरी मकहाँ आउनुहोस्।+ १० तपाईँ, तपाईँका छोराछोरी, नातिनातिना, गाईवस्तु र तपाईँसित भएको सबथोक लिएर आउनुहोस्। तपाईँहरू मेरो नजिकै गोसेनमा+ बस्नुहुनेछ। ११ तपाईँ अनि तपाईँको परिवारलाई चाहिने अन्न म दिनेछु नत्र त तपाईँसित भएका सबै थोक सिद्धिनेछन् र तपाईँहरू सबै भोकभोकै पर्नुहुनेछ। किनभने अनिकाल अझै पाँच वर्षसम्म चल्नेछ।”’+ १२ तपाईँहरूसित बोल्ने म युसुफ नै हुँ भनेर मेरो भाइ बिन्यामिन र तपाईँहरूले आफ्नै आँखाले देखिसक्नुभएको छ।+ १३ त्यसैले झट्टै गएर बुबालाई मिश्रमा मैले पाएको गौरव र तपाईँहरूले देखेको सबै कुरा बताउनुहोस्। अनि उहाँलाई लिएर यहाँ आउनुहोस्।”
१४ त्यसपछि तिनले आफ्नो भाइ बिन्यामिनलाई अङ्गालो हाले र धुरुधुरु रोए। बिन्यामिन पनि तिनलाई अङ्गालो हालेर रोए।+ १५ अनि युसुफले आफ्ना सबै दाइलाई म्वाइँ खाए र उनीहरूसित पनि रोए। त्यसपछि बल्ल तिनका दाजुभाइले तिनीसित कुरा गरे।
१६ “युसुफका दाजुभाइ आएका छन्” भन्ने खबर फारोको महलमा पुग्यो। यो सुनेर फारो र तिनका सेवकहरू खुसी भए। १७ तब फारोले युसुफलाई बोलाएर भने: “तिम्रा दाजुभाइलाई भन, ‘आ-आफ्नो जनावरमा मालसामान लादेर कनान फर्कनुहोस्। १८ त्यसपछि आफ्नो बुबा अनि पूरै परिवारलाई लिएर यहाँ आउनुहोस्। म तपाईँहरूलाई मिश्रका राम्राराम्रा थोक दिनेछु र तपाईँहरूले मिश्रको सबैभन्दा असल उब्जनी खानुहुनेछ।’+ १९ अनि उनीहरूलाई यस्तो आदेश पनि देऊ:+ ‘मिश्रबाट बयलगाडाहरू+ लगेर त्यसमा आफ्ना छोराछोरी अनि पत्नीलाई चढाएर ल्याउनुहोस् अनि बुबालाई पनि बयलगाडामा राखेर यहाँ ल्याउनुहोस्।+ २० आफ्नो मालसामानको चिन्ता नगर्नुहोस्+ किनकि मिश्रका सबैभन्दा राम्राराम्रा थोक तपाईँहरूकै हुनेछ।’”
२१ अनि इस्राएलका छोराहरूले त्यसै गरे। युसुफले फारोको हुकुमबमोजिम बयलगाडाहरू दिए र यात्राको लागि खानेकुरा पनि दिए। २२ तिनले उनीहरू प्रत्येकलाई एक-एक जोर नयाँ लुगा पनि दिए तर बिन्यामिनलाई भने चाँदीका ३०० टुक्रा र पाँच जोर लुगा दिए।+ २३ तिनले बुबाको निम्ति १० वटा गधामा मिश्रका राम्राराम्रा थोक पठाए अनि बुबाको यात्राको लागि १० वटा गधैनीमा अन्न, रोटी र अरू आवश्यक सामान पनि पठाए। २४ त्यसपछि तिनले आफ्ना दाजुभाइलाई बिदा गरे। उनीहरू हिँड्नै लाग्दा तिनले भने: “बाटोमा आपसमा झगडा नगर्नुहोस् है!”+
२५ त्यसपछि उनीहरू मिश्रबाट निस्के र कनानमा आफ्नो बुबा याकुबकहाँ आइपुगे। २६ अनि उनीहरूले बुबालाई भने: “युसुफ जिउँदै छ! पूरै मिश्र उसको हातमा सुम्पिइएको छ!”+ तर उनीहरूको कुरा सुनेर याकुब स्तब्ध भए। तिनले उनीहरूको कुरा पत्याउँदै पत्याएनन्।+ २७ युसुफले भनेको सबै कुरा उनीहरूले बताएपछि अनि युसुफले तिनको लागि पठाएको बयलगाडा देखेपछि याकुब बल्ल ढुक्क भए। २८ अनि खुसी हुँदै तिनले भने: “मेरो छोरा युसुफ जिउँदै रहेछ भनेर अब म पक्का भएँ! मलाई उसकहाँ लैजाओ! मर्नुअघि म उसको मुख हेर्न चाहन्छु।”+
४६ त्यसैले इस्राएल आफ्नो परिवार र आफूसँग भएका सबै थोक लिएर कनानबाट हिँडे। बेर्सेबामा+ पुगेपछि तिनले आफ्ना बुबा इसहाकका परमेश्वरको+ लागि बलि चढाए। २ अनि राती परमेश्वरले इस्राएललाई दर्शन* दिनुभयो र “याकुब, याकुब!” भनेर बोलाउनुभयो। तब तिनले “हजुर!” भनेर जवाफ दिए। ३ त्यसपछि परमेश्वरले भन्नुभयो: “म साँचो परमेश्वर, तिम्रो बुबाको परमेश्वर हुँ।+ मिश्रमा जान नडराऊ किनभने त्यहाँ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु।+ ४ म तिमीसँगै मिश्रमा जानेछु अनि म तिमीलाई त्यहाँबाट फर्काएर ल्याउनेछु।+ युसुफले आफ्नै हातले तिम्रो आँखा बन्द गरिदिनेछन्।”*+
५ त्यसपछि याकुब बेर्सेबाबाट हिँडे। इस्राएलका छोराहरूले आफ्ना बुबा, आफ्ना छोराछोरी र आ-आफ्नी पत्नीलाई फारोले पठाएका बयलगाडाहरूमा राखे र उनीहरू मिश्रतिर लागे। ६ उनीहरूले कनानमा जम्मा गरेका मालसामान र वस्तुभाउ पनि आफूसित लगे। अन्तमा याकुब र तिनका सबै सन्तान मिश्र आइपुगे। ७ यसरी याकुबले आफ्नो सबै सन्तान—आफ्ना छोराछोरी र नातिनातिना सबैलाई मिश्रमा ल्याए।
८ मिश्र गएका इस्राएल अर्थात् याकुब र तिनका सन्तान यी नै थिए:+ याकुबका पहिलो सन्तान रुबेन।+
९ रुबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मि।+
१० सिमियोनका+ छोराहरू यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+
११ लेविका+ छोराहरू गेर्सोन, कोहात र मरारि।+
१२ यहुदाका+ छोराहरू एर, ओनान, सेलह,+ पेरेज+ र जेरह।+ तर एर र ओनान कनानमै+ मरिसकेका थिए।
पेरेजका छोराहरू हेस्रोन र हामुल।+
१३ इस्साकारका छोराहरू तोला, पुवा, इयोब र सिम्रोन।+
१४ जबुलुनका+ छोराहरू सिरेद, एलोन र याहलेल।+
१५ लेआपट्टिबाट जन्मेका याकुबका सन्तान यिनीहरू नै थिए। तिनका यी छोराहरू र छोरी दिना+ पद्दान-अराममा जन्मिएका थिए। लेआपट्टिबाट याकुबका सन्तान जम्मा ३३ जना थिए।
१६ गादका+ छोराहरू जिपोन, हाग्गि, सुनि, एज्बोन, एरि, अरोद र अरेली।+
१७ असेरका+ छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह अनि तिनीहरूकी बहिनी सेराह।
बरियाहका छोराहरू हेबेर र मल्किएल।+
१८ लाबानले लेआलाई दिएका दासी जिल्पाहपट्टिका+ सन्तान यी नै थिए। जिल्पाहपट्टिबाट याकुबका सन्तान जम्मा १६ जना थिए।
१९ याकुबकी पत्नी राहेलपट्टिका छोराहरू युसुफ+ र बिन्यामिन+ मात्र थिए।
२० युसुफका छोराहरू मनस्से+ र एप्रैम+ मिश्रमा जन्मिए। तिनीहरूकी आमा ओनका* पुजारी पोतिफेराकी छोरी असेनाथ+ थिइन्।
२१ बिन्यामिनका+ छोराहरू बेला, बेकेर, अस्बेल, गेरा,+ नामान, एहि, रोस, मुप्पिम, हुप्पिम+ र अर्द+ थिए।
२२ याकुबकी पत्नी राहेलपट्टिका सन्तान यी नै थिए। यिनीहरू जम्मा १४ जना थिए।
२४ नप्तालिका+ छोराहरू याहसिल, गुनि, यसेर र सिल्लेम।+
२५ लाबानले राहेललाई दिएका दासी बिल्हापट्टिका सन्तान यी नै थिए। बिल्हापट्टिबाट याकुबका सन्तान जम्मा सात जना थिए।
२६ यसरी याकुबका जम्माजम्मी ६६ जना सन्तान मिश्र गएका थिए। यसमा तिनका बुहारीहरूको गन्ती गरिएको छैन।+ २७ मिश्रमा युसुफका दुई छोरा जन्मेका थिए। यसरी मिश्रमा याकुबका सन्तानको सङ्ख्या ७० पुग्यो।+
२८ याकुबले आफू गोसेन पुग्न लागेको खबर दिन यहुदालाई+ आफूभन्दा अघि युसुफकहाँ पठाए। उनीहरू गोसेन+ पुगेपछि २९ युसुफले रथ तयार पार्न लगाए र आफ्ना बुबा इस्राएललाई भेट्न गोसेन गए। याकुबलाई भेट्नेबित्तिकै अङ्गालो हालेर युसुफ धेरै बेरसम्म रोए। ३० इस्राएलले युसुफलाई भने: “छोरा! तिम्रो मुख देख्न पाएँ। तिमी जिउँदै रहेछौ। बस्, यति भए पुग्यो। अब म चैनसित मर्न सक्छु।”
३१ त्यसपछि युसुफले आफ्ना दाजुभाइ र बुबाको परिवारका सबै जनालाई भने: “अब म फारोकहाँ गएर यसो भन्छु:+ ‘कनानमा भएका मेरा दाजुभाइ र मेरा बुबाको सबै परिवार यहाँ मलाई भेट्न आएका छन्।+ ३२ उनीहरू गोठाला हुन्+ र पशुपालन गर्छन्।+ उनीहरूले आफूसँग भएको वस्तुभाउ अनि सबै थोक लिएर आएका छन्।’+ ३३ त्यसैले फारोले ‘तिमीहरूको काम के हो’ भनेर सोधे भने ३४ यस्तो जवाफ दिनुहोस्: ‘हामी हजुरका दासहरूले सानैदेखि पशुपालन गर्दै आएका छौँ।+ हाम्रा पितापुर्खाले पनि यही काम गरे।’ यसो भन्नुभयो भने तपाईँहरू गोसेनमा बस्न पाउनुहुनेछ।+ किनभने मिश्रीहरू गोठालाहरूलाई हेला गर्छन्।”+
४७ अनि युसुफले फारोकहाँ गएर भने:+ “मेरा बुबा र दाजुभाइ आफ्नो वस्तुभाउ अनि सबै थोक लिएर कनानबाट आइपुग्नुभएको छ। उहाँहरू अहिले गोसेनमा हुनुहुन्छ।”+ २ तिनले आफ्ना दाजुभाइमध्ये पाँच जनालाई फारोकहाँ लगे।+
३ फारोले तिनका दाजुभाइलाई सोधे: “तिमीहरूको काम के हो?” उनीहरूले फारोलाई यस्तो जवाफ दिए: “हामी हजुरका दासहरू भेडा गोठाला हौँ। पितापुर्खाको पालादेखि हामी यही काम गर्दै आएका छौँ।”+ ४ उनीहरूले फारोलाई यसो पनि भने: “कनानमा भयङ्कर अनिकाल परेको छ।+ हामी हजुरका दासहरूलाई वस्तुभाउ चराउने ठाउँसमेत छैन। त्यसैले हामीलाई यस देशमा परदेशीको+ रूपमा बसोबास गर्न दिनुहोस्। बिन्ती छ, हजुरका दासहरूलाई गोसेनमा+ बस्न दिनुहोस्।” ५ तब फारोले युसुफलाई भने: “तिम्रा बुबा र दाजुभाइ तिमीकहाँ आएका छन्। ६ मैले पूरै मिश्र तिम्रै हातमा सुम्पेको छु। त्यसैले उनीहरूलाई मिश्रको सबैभन्दा असल ठाउँ देऊ; उनीहरूलाई गोसेनमै बस्न देऊ।+ अनि उनीहरूमध्ये जस-जसले राम्ररी गोठालो काम गर्न सक्छन्, मेरा वस्तुभाउ पनि उनीहरूलाई नै चराउन देऊ।”
७ त्यसपछि युसुफले आफ्ना बुबा याकुबलाई फारोकहाँ लगे। याकुबले फारोलाई आशिष् दिए। ८ अनि फारोले तिनलाई सोधे: “तपाईँ कति वर्षको हुनुभयो?” ९ याकुबले जवाफ दिए: “म १३० वर्षको भएँ। तर मेरा पुर्खाहरूको तुलनामा मेरो जीवन छोटो र दुःखैदुःखले भरिएको छ।+ मेरा पितापुर्खाले जस्तै मैले पनि आफ्नो सारा जीवन ठाउँठाउँमा परदेशीको रूपमा बिताएको छु।”+ १० त्यसपछि याकुबले फारोलाई आशिष् दिए र त्यहाँबाट निस्के।
११ तब फारोको आदेशबमोजिम युसुफले आफ्ना बुबा र दाजुभाइलाई मिश्रको रामसेस भन्ने ठाउँमा सबैभन्दा असल जमिन दिए।+ १२ युसुफले आफ्ना बुबा, दाजुभाइ र बुबाको सबै परिवारलाई तिनीहरूका बालबच्चाको सङ्ख्याअनुसार खानेकुरा* दिइरहे।
१३ अनिकाल चर्कँदै गएकोले खानेकुरा पाइनै छोड्यो। मिश्र र कनानलाई पनि अनिकालले गाँज्यो र सबैतिर हाहाकार मच्चियो।+ १४ मिश्र र कनानका मानिसहरू युसुफसँग पैसा तिरेर अन्न किन्थे।+ अनि युसुफले त्यो पैसा फारोको ढुकुटीमा जम्मा गरिदिन्थे। १५ पछि गएर मिश्र र कनानका मानिसहरूसित भएको सबै पैसा सिद्धियो। तब मिश्रका सबै मानिस युसुफकहाँ आएर यसो भन्न थाले: “अब हामीसित पैसा पनि छैन। हामीलाई खानेकुरा दिनुहोस्! नत्र त हामी हजुरकै आँखाअगाडि भोकभोकै मर्ने भयौँ!” १६ त्यसपछि युसुफले भने: “तिमीहरूसित पैसा छैन भने वस्तुभाउ ल्याओ। म तिमीहरूलाई वस्तुभाउको सट्टा अन्न दिन्छु।” १७ तब तिनीहरूले युसुफकहाँ आफ्ना वस्तुभाउ ल्याउन थाले। युसुफले तिनीहरूका घोडा, गधा, गाईगोरु अनि भेडाबाख्रा लिएर खानेकुरा दिए। त्यस वर्षभरि तिनले त्यसै गरे।
१८ अर्को वर्ष लागेपछि तिनीहरूले युसुफलाई यसो भन्न थाले: “मालिक, हाम्रो अवस्था हजुरबाट लुकेको छैन। अब हामीसित न त पैसा छ न वस्तुभाउ। अब हामीसित आफ्नो जीवन अनि जमिनबाहेक अरू केही छैन। १९ हजुर हुँदाहुँदै हामी मर्ने भयौँ। हाम्रो जमिन बाँझो रहने भयो। बरु हामी र हाम्रो जग्गाजमिन किन्नुहोस् र हामीलाई खानेकुरा दिनुहोस्। हामी फारोको दास हुनेछौँ अनि हाम्रो जग्गाजमिन पनि फारोकै हुनेछ। हामीलाई बिउ दिनुहोस्। हाम्रो जमिन बाँझो नरहोस् र हामी मर्न नपरोस्।” २० अनिकाल झन्झन् बढ्दै गयो अनि मिश्रका सबै मानिसले आफ्नो जग्गाजमिन युसुफलाई बेचे। यसरी मिश्रको सबै जमिन फारोको भयो।
२१ अनि युसुफले मिश्रको चारैतिर फैलिएका मिश्रीहरूलाई सहरहरूमा सर्न आदेश दिए।+ २२ तिनले पुजारीहरूको मात्र जग्गाजमिन किनेनन्+ किनभने फारोले नै पुजारीहरूको रासनपानीको प्रबन्ध गरिदिन्थे। त्यसैबाट गुजारा चल्ने भएकोले पुजारीहरूले आफ्नो जग्गाजमिन बेच्नुपरेन। २३ तब युसुफले मानिसहरूलाई भने: “हेर, मैले आज तिमीहरू र तिमीहरूको जग्गाजमिन फारोको निम्ति किनेको छु। अब बिउ लैजाओ र खेती गर। २४ उब्जनी भएपछि फसलको पाँच भागको एक भाग फारोलाई बुझाओ+ र चार भागचाहिँ बिउको लागि अनि आफ्नो, आफ्नो घरमा भएकाहरूको र बालबच्चाको निम्ति राख।” २५ तब तिनीहरूले भने: “हजुरले हामीलाई भोकभोकै मर्नदेखि जोगाउनुभएको छ।+ निगाह पाऔँ हजुर, हामी फारोका दास हुनेछौँ।”+ २६ त्यसपछि युसुफले फसलको पाँच भागको एक भाग फारोलाई दिनुपर्छ भनेर उर्दी जारी गरे र यो नियम आजको दिनसम्मै मिश्रमा कायमै छ। फारोले पुजारीहरूको जग्गाजमिन मात्र लिएनन्।+
२७ इस्राएलका सन्तान मिश्रको गोसेनमै बस्न थाले।+ त्यहाँ उनीहरू फल्दै-फुल्दै गए र उनीहरूको निकै वृद्धि भयो।+ उनीहरू सबै त्यहीँ बसोबास गर्न थाले। २८ याकुब मिश्रमा १७ वर्ष बसे। त्यसपछि तिनको मृत्यु भयो। तिनको जम्मा उमेर १४७ वर्ष थियो।+
२९ इस्राएललाई आफू अब धेरै दिन बाँच्दिनँ जस्तो लागेकोले युसुफलाई बोलाएर तिनले भने:+ “छोरा, यदि तिमी मलाई साँच्चै माया गर्छौ भने मेरो तिघ्रामुनि हात राखेर तिमीले मेरो लास मिश्रमा गाड्नेछैनौ भनी कसम खाऊ। बिन्ती छ, ममाथि दया* गर र मेरो भरोसा नतोड।+ ३० म मरेपछि मेरो लास मिश्रबाट लगेर मेरा पुर्खाहरूको चिहानमा गाडिदेऊ।”+ अनि युसुफले भने: “हुन्छ बुबा, म तपाईँले भनेझैँ गर्छु।” ३१ त्यसपछि इस्राएलले भने: “उसोभए कसम खाऊ।”+ अनि युसुफले कसम खाए। तब इस्राएलले सिरानीमा घोप्टो परेर प्रार्थना गरे।+
४८ केही समयपछि युसुफले यस्तो खबर पाए: “आजकल तपाईँको बुबा झन्झन् कमजोर हुँदै जानुभएको छ।” तब युसुफ आफ्ना दुई छोरा मनस्से र एप्रैमलाई लिएर बुबालाई भेट्न गए।+ २ ‘युसुफ आएका छन्’ भन्ने खबर पाउनेबित्तिकै याकुब बल्लतल्ल उठेर ओछ्यानमा बसे। ३ तब याकुबले युसुफलाई भने:
“कनानको लुजमा सर्वशक्तिमान् परमेश्वर मकहाँ देखा पर्नुभएको थियो र मलाई आशिष् दिनुभएको थियो।+ ४ उहाँले मलाई यसो भन्नुभयो: ‘तिम्रा सन्तान फल्दै-फुल्दै, वृद्धि हुँदै जानेछन्। तिमीबाट धेरै सन्तान हुनेछन् र तिमीबाटै थुप्रै कुल भएको एउटा ठूलो समुदाय बन्नेछ।+ अनि म यो कनान देश सधैँको लागि तिम्रा सन्तानलाई दिनेछु।’+ ५ म यहाँ मिश्र आउनुअघि जन्मिएका तिम्रा दुई छोरा अब मेरै भए।+ रुबेन र सिमियोनजस्तै एप्रैम र मनस्से पनि मेरै छोराहरू हुनेछन्।+ ६ त्यसपछि जन्मने सन्तान भने तिम्रा हुनेछन्। तिनीहरूले एप्रैम र मनस्सेको भागबाट आफ्नो अंश पाउनेछन्।+ ७ अब मेरो विषयमा खै के भनूँ? हामी पद्दानबाट आइरहेको बेला कनान देशमा, एप्राता+ अर्थात् बेतलेहेम पुग्नुअघि नै मेरै सामने तिम्री आमा राहेलको मृत्यु भयो।+ त्यसैले मैले उनको लास बेतलेहेम जाने बाटोमै गाडेँ।”+
८ तब इस्राएलले युसुफका छोराहरूलाई देखे र सोधे: “यिनीहरू को हुन्?” ९ युसुफले आफ्ना बुबालाई जवाफ दिए: “यिनीहरू परमेश्वरले मलाई यस ठाउँमा दिनुभएका मेरा छोराहरू हुन्।”+ तब याकुबले भने: “मेरो नजिक ल्याऊ। म यिनीहरूलाई आशीर्वाद दिन्छु।”+ १० बुढेसकालले गर्दा इस्राएलका आँखा कमजोर भएका थिए। तिनी राम्ररी देख्दैन थिए। त्यसैकारण युसुफले छोराहरूलाई तिनको नजिक लगे। त्यसपछि इस्राएलले आफ्ना नातिहरूलाई अङ्गालो हाले अनि म्वाइँ खाए। ११ इस्राएलले युसुफलाई भने: “तिमीलाई देख्न पाऊँला भनेर मैले आशै मारिसकेको थिएँ।+ तर परमेश्वरको कृपाले गर्दा तिम्रा छोराहरूलाई समेत मैले देख्न पाएँ।” १२ त्यसपछि युसुफले आफ्ना बुबाको घुँडानजिकै बसिरहेका छोराहरूलाई त्यहाँबाट हटाए र भुईँसम्मै घोप्टो परेर बुबालाई ढोगे।
१३ त्यसपछि युसुफले छोराहरू एप्रैम+ र मनस्सेलाई+ आफ्ना बुबा इस्राएलको नजिक लगे। तिनले एप्रैमलाई आफ्नो दायाँ हातले समातेर इस्राएलको बायाँतिर पर्नेगरि लगे। अनि मनस्सेलाई चाहिँ आफ्नो बायाँ हातले समातेर इस्राएलको दायाँतिर पर्नेगरि लगे। १४ तर इस्राएलले आफ्नो दायाँ हात एप्रैमको शिरमा राखे। अनि आफ्नो बायाँ हात मनस्सेको शिरमा राखे। एप्रैम कान्छो र मनस्से जेठो भए पनि तिनले जानीबुझी त्यसो गरे।+ १५ अनि तिनले युसुफलाई आशिष् दिँदै भने:+
“मेरा हजुरबुबा अब्राहाम अनि मेरा बुबा इसहाकले सेवा गरेका साँचो परमेश्वरले,+
म जन्मेदेखि अहिलेसम्म मलाई गोठालोले झैँ हेरविचार गर्नुहुने साँचो परमेश्वरले+
१६ अनि आफ्नो स्वर्गदूतमार्फत मलाई सबै विपत्तिबाट जोगाउनुहुने+ साँचो परमेश्वरले यी केटाहरूलाई आशिष् देऊन्।+
यिनीहरू मेरो, मेरा हजुरबुबा अब्राहामको र मेरा बुबा इसहाकको नामले चिनिऊन्।
यिनीहरूका सन्तानले पृथ्वी ढाकून्।”+
१७ बुबाले दायाँ हात एप्रैमको शिरमा राखेको देखेर युसुफलाई चित्त बुझेन र तिनले बुबाको हात एप्रैमको शिरबाट हटाएर मनस्सेको शिरमा राख्न खोजे। १८ तिनले इस्राएललाई भने: “बुबा, योचाहिँ मेरो पहिलो सन्तान हो।+ आफ्नो दायाँ हात यसको शिरमा राख्नुहोस्।” १९ तर तिनका बुबाले मान्दै मानेनन् र यसो भने: “मलाई थाह छ छोरा, मलाई थाह छ। तिम्रो जेठो छोराका सन्तान पनि धेरै हुनेछन् र ऊबाट एउटा ठूलो जाति बन्नेछ। तर उसको भाइ ऊभन्दा ठूलो हुनेछ।+ उसका सन्तान यति धेरै बढ्नेछन् कि तिनीहरू थुप्रै जातिबराबर हुनेछन्।”+ २० अनि इस्राएलले आफ्ना दुवै नातिलाई यस्तो आशिष् पनि दिए:+
“इस्राएलीहरूले आशिष् दिँदा यसो भन्दै तिमीहरूकै नाम लेऊन्,
‘परमेश्वरले तिमीलाई एप्रैम र मनस्सेजस्तै बनाऊन्।’”
यसरी तिनले उनीहरूलाई आशिष् दिँदा मनस्सेलाई भन्दा एप्रैमलाई नै पहिलो स्थान दिए।
२१ त्यसपछि इस्राएलले युसुफलाई भने: “हेर, अब मेरो मर्ने बेला नजिकै आइपुगिसक्यो।+ तर परमेश्वर निश्चय तिमीसित हुनुहुनेछ र तिमीलाई हाम्रा पुर्खाको देशमा फर्काउनुहुनेछ।+ २२ म तिमीलाई तिम्रा दाजुभाइको तुलनामा एक भाग धेरै जग्गा दिनेछु। त्यो जग्गा मैले आफ्नो तरबार र धनुको बलमा एमोरीहरूबाट लिएको थिएँ।”
४९ अनि याकुबले आफ्ना छोराहरूलाई बोलाए अनि यसो भने: “तिमीहरू सबै मेरो सामु जम्मा होओ। पछि तिमीहरूको जीवनमा के-के हुनेछ, म बताउँछु। २ हे याकुबका छोराहरू हो, मेरो सामने भेला होओ र मेरो कुरा सुन। तिमीहरूका बुबा म इस्राएलको कुरा सुन।
३ “रुबेन,+ तिमी मेरो पहिलो सन्तान,+ मेरो बल र प्रजनन शक्तिको पहिलो फल हौ। तिमी सबैभन्दा धेरै गौरवशाली र पराक्रमी छौ। ४ तर तिमी आफ्ना भाइहरूभन्दा महान् हुन पाउनेछैनौ। किनकि खोलाको छालझैँ अनियन्त्रित भएर तिमी आफ्नो बुबाको ओछ्यानमा चढ्यौ। तिमीले मेरो ओछ्यान बिटुलो* पाऱ्यौ।+ हो, तिमीले नीच काम गऱ्यौ!
५ “सिमियोन र लेवि दाजुभाइ हुन्।+ तर तिनीहरूले आफ्नो तरबार उठाएर हिंसा मच्चाए।+ ६ हे मेरो मन, तिनीहरूसित सङ्गत नगर्। हे मेरो गौरव,* तिनीहरूको सभामा नबस्। किनभने रिसको झोकमा तिनीहरूले मानिसहरूलाई मारे+ अनि गोरुहरूको ढोडनसो* काटेर रमाइलो माने। ७ कसैलाई दयामाया नगर्ने+ तिनीहरूको रिसलाई धिक्कार छ। आगोजस्तो दन्कने तिनीहरूको क्रोधलाई धिक्कार छ। म तिनीहरू दुवै जनालाई याकुबको देशमा छरपस्ट पार्नेछु; म तिनीहरूलाई इस्राएलमा तितरबितर पार्नेछु।+
८ “हे यहुदा,+ तिमीले आफ्ना दाजुभाइको प्रशंसा पाउनेछौ।+ तिमीले आफ्ना शत्रुहरूको गर्दन समात्नेछौ।+ तिम्रा दाजुभाइ तिमीसामु झुक्नेछन्।+ ९ यहुदा सिंहको डमरु हो।+ हे मेरो छोरा, तिमी आफ्नो सिकार खाएर उठ्नेछौ। सिंहझैँ तिमी लमतन्न पल्टनेछौ। तिमीलाई जगाउने कसको आँट? १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ ११ यहुदाले आफ्नो गधालाई अङ्गुरको बोटमा र त्यसको बच्चालाई सबैभन्दा राम्रो अङ्गुरको लहरामा बाँध्नेछन्। तिनले आफ्नो कपडा मद्यमा र अङ्गुरको रसमा धुनेछन्। १२ तिनका आँखा मद्य पिएर राता भएका छन् र तिनका दाँत दूध पिएर सेता भएका छन्।
१३ “जबुलुन+ समुद्री किनारामा बसोबास गर्नेछन्, पानीजहाज अड्याउने बन्दरगाहमा तिनी बस्नेछन्।+ तिनको सिमाना सिदोनतर्फ हुनेछ।+
१४ “इस्साकार+ बलियो गधाजस्तै हो, आफ्नो पीठको दुवैतिर भारी बोकेर पनि आराम गर्न सक्ने। १५ आफ्नो इलाका, आफ्नो भागको जमिन राम्रो रहेछ भनेर इस्साकारले देख्नेछन्। अनि तिनी भारी बोक्न झुक्नेछन् र गह्रौँ भारी बोक्न पनि पछि हट्नेछैनन्।
१६ “दानले+ इस्राएलको एउटा कुलको रूपमा मानिसहरूको निसाफ गर्नेछन्।+ १७ दानचाहिँ बाटो छेउको सर्पझैँ हुनेछन्, गोरेटोमा आउने सिङ भएको सर्पझैँ, जसले घोडाको कुर्कुच्चो डस्छ र घोडचढी पछारिन्छ।+ १८ हे यहोवा, मेरो उद्धार गर्नुहोस्, म तपाईँकै बाटो हेर्नेछु।
१९ “गादलाई+ लुटेराहरूको दलले आक्रमण गर्नेछ तर तिनले उल्टै हमला गरेर तिनीहरूलाई खेद्नेछन्।+
२० “असेरसँग+ खानेकुराको छेलोखेलो हुनेछ र तिनले राजाको जस्तै भव्य भोजन उपलब्ध गराउनेछन्।+
२१ “नप्तालि+ हरिणीझैँ फुर्तिलो छ। तिनले मीठामीठा कुरा गर्नेछन्।+
२२ “युसुफ+ पानीको मुहान छेउको लटरम्म फल फल्ने रूखको हाँगा हो, जसका लामा-लामा हाँगाहरू पर्खाल नाघेर जान्छन्। २३ तर धनुर्धारीहरूले तिनलाई दुःख दिइरहे, तिनलाई काँडले हानिरहे र तिनीसित दुस्मनी राखेर मनमा ईख पालिरहे।+ २४ तैपनि तिनको धनु डगमगाएन।+ तिनका हात कमजोर भएनन्, तिनले फुर्तीसाथ आफ्ना हात चलाइरहे।+ यसको पछाडि याकुबलाई मदत गर्ने शक्तिशाली परमेश्वरको हात छ; ती गोठालोको हात छ, जो इस्राएलका चट्टान हुन्। २५ तिनी* मेरा परमेश्वरको आशिष् हुन्। तिनी सर्वशक्तिमान् परमेश्वरले देखाउनुभएको बाटोमा हिँड्छन्। उहाँले तिनलाई मदत गर्नुहुनेछ। उहाँले तिनलाई माथि आकाशबाट र गहिरो सागरबाट आशिष् दिनुहुनेछ।+ उहाँको आशिष्ले तिनका सन्तान फल्दै-फुल्दै जानेछन् र तिनका वस्तुभाउ पनि बढ्नेछन्। २६ तिनका बुबाले दिएका यी आशिष्हरू युगयुगदेखिका पहाडहरूभन्दा उत्तम अनि कहिल्यै नडगमगाउने पहाडहरूभन्दा पनि मनमोहक छन्।+ आफ्ना दाजुभाइबाट अलग पारिएका युसुफमाथि यी आशिष्हरू सधैँभरि लागोस्; तिनका शिरमा यी आशिष्हरू सधैँभरि बर्सिरहोस्।+
२७ “बिन्यामिन+ फहराउने ब्वाँसोजस्तै हुनेछन्।+ तिनले बिहान सिकार गरेर खानेछन्; साँझचाहिँ लुटको धन बाँड्नेछन्।”+
२८ इस्राएलका यी नै छोराहरूबाट इस्राएलका १२ कुल बने। इस्राएलले आफ्ना छोराहरूलाई दिएका आशिष् यी नै हुन्। इस्राएलले आफ्नो हरेक छोरालाई सुहाउँदो आशिष् दिए।+
२९ त्यसपछि तिनले छोराहरूलाई यस्तो आदेश दिए: “अब म मेरा पितापुर्खाजस्तै माटोमा मिल्ने बेला भइसक्यो।+ तिमीहरूले मेरो लासलाई मेरा पुर्खाहरूको चिहान हित्ती एप्रोनको खेतमा भएको ओडारमा लगेर गाड्नू,+ ३० जुन मम्रेनजिकैको मक्पेलामा छ। तिमीहरूका जिजुबाजे अब्राहामले चिहान बनाउन हित्ती एप्रोनबाट त्यो जमिन किनेका थिए। ३१ त्यहीँ नै तिमीहरूका जिजुबाजे अब्राहाम र जिजुबज्यै सारालाई गाडिएको थियो।+ त्यहीँ नै तिमीहरूका बाजे इसहाक+ र बज्यै रिबेकालाई गाडिएको थियो। अनि त्यहीँ मैले तिमीहरूकी आमा लेआलाई पनि गाडेँ। ३२ त्यो खेत र त्यहाँको ओडार हित्तीहरूसित किनिएको थियो।”+
३३ यसरी याकुबले आफ्ना छोराहरूलाई यी सबै कुरा अह्राएपछि ओछ्यानमा आफ्नो गोडा पसारे र अन्तिम सास फेरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+
५० त्यसपछि युसुफले आफ्नो बुबालाई अङ्गालो हाले+ र धुरुधुरु रुँदै म्वाइँ खाए। २ तिनले आफ्ना सेवक र वैद्यहरूलाई बोलाएर बुबाको लासमा लेप लगाउन*+ आदेश दिए। वैद्यहरूले त्यसै गरे। ३ तिनीहरूले ४० दिनसम्म इस्राएलको लासलाई लेप लगाए किनभने लेप लगाउन त्यति नै दिन लाग्थ्यो। अनि मिश्रीहरूले ७० दिनसम्म इस्राएलको लागि शोक मनाए।
४ शोक मनाउने दिन बितिसकेपछि युसुफले फारोका भारदारहरूलाई* भने: “मैले तपाईँहरूको निगाह पाएको छु भने कृपा गरी फारोकहाँ यो सन्देश पुऱ्याइदिनुहोस्: ५ ‘बुबाले मलाई यस्तो शपथ खान लगाउनुभएको थियो:+ “अब म मर्न लागेको छु।+ कनानमा मैले तयार पारेको चिहानमै+ मलाई गाड्नू।”+ त्यसैले कृपा गरी मलाई मेरो बुबाको लास गाड्न जान दिनुहोस्। त्यसपछि म फर्कनेछु।’” ६ फारोले यस्तो जवाफ दिए: “जाऊ, बुबाको लास गाडेर आफ्नो वचन पूरा गर।”+
७ अनि युसुफ आफ्नो बुबाको लास गाड्न कनान गए। तिनीसँग फारोका सबै सेवक, फारोको महलका ठूलठूला अफिसरहरू*+ र मिश्रका सबै नाइके गए। ८ युसुफको परिवारका सबै जना, तिनका दाजुभाइ अनि तिनका बुबाको परिवारका सबै जना पनि तिनीसित गए।+ तिनीहरूले आफ्ना साना केटाकेटी र वस्तुभाउचाहिँ गोसेनमा छोडिराखे। ९ युसुफसित थुप्रै रथ+ अनि घोडचढीहरू पनि गए। यसरी जानेहरूको समूह असाध्यै ठूलो थियो। १० अनि यर्दनको इलाकामा पर्ने अतादको खलामा आइपुगेपछि तिनीहरूले धेरै रुवाबासी गरे। युसुफले सात दिनसम्म आफ्नो बुबाको लागि शोक गरे। ११ अतादको खलामा तिनीहरूले रुवाबासी गरेको देखेर वरपर बस्ने कनानीहरूले यसो भने: “मिश्रीहरूलाई कत्ति ठूलो शोक परेछ!” त्यसैले त्यस ठाउँको नाम हाबिल-मिज्रइम* राखियो। त्यो ठाउँ यर्दनको इलाकामा पर्छ।
१२ इस्राएलले आफ्ना छोराहरूलाई जसो भनेका थिए, उनीहरूले त्यसै गरे।+ १३ इस्राएलका छोराहरूले तिनको लासलाई कनानमा लगे अनि मम्रेनजिकैको मक्पेलाको खेतमा भएको ओडारमा गाडे। यो खेत अब्राहामले चिहान बनाउन हित्ती एप्रोनसँग किनेका थिए।+ १४ बुबाको लास गाडेपछि युसुफ आफ्ना दाजुभाइसित र तिनीसँगै गएका अरू मानिसहरूसित मिश्र फर्के।
१५ बुबाको मृत्यु भएपछि युसुफका दाइहरूले आपसमा भने: “युसुफले मनमा ईख पालेर राखेको होला, अब उसले हामीसित साटो फेर्ने भयो।”+ १६ त्यसैले उनीहरूले युसुफकहाँ यस्तो सन्देश पठाए: “तपाईँको बुबाले आफू बित्नुअघि हामीलाई यस्तो आदेश दिनुभएको थियो: १७ ‘तिमीहरूले युसुफलाई यसो भन्नू: “बिन्ती छ, तिम्रा दाइहरूले तिमीमाथि गरेको अन्यायको लागि उनीहरूलाई क्षमा गरिदेऊ! उनीहरूको अपराध माफ गरिदेऊ!”’ त्यसैले तपाईँको बुबाका परमेश्वरका यी दासहरूको अपराध कृपा गरी क्षमा गरिदिनुहोस्।” दाइहरूको यो सन्देश सुनेर युसुफ धुरुधुरु रोए। १८ त्यसपछि युसुफका दाइहरू पनि त्यहीँ आइपुगे र तिनलाई दण्डवत् गरेर यस्तो बिन्ती गरे: “हामी हजुरका दास हौँ। हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्।”+ १९ तब युसुफले उनीहरूलाई भने: “नडराउनुहोस्, तपाईँहरूको निसाफ गर्न म परमेश्वर हुँ र? २० तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्वरले धेरै मानिसको ज्यान जोगियोस् भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+ २१ त्यसैले नडराउनुहोस्। म तपाईँहरूलाई अनि तपाईँहरूका साना केटाकेटीलाई चाहिने खानेकुराको व्यवस्था गरिरहनेछु।”+ यसरी युसुफले आफ्ना दाइहरूलाई सान्त्वना दिएर ढुक्क बनाए।
२२ युसुफ आफ्ना बुबाको परिवारसँग मिश्रमै बसोबास गरे। तिनी ११० वर्षसम्म बाँचे। २३ युसुफले एप्रैमका नातिहरूलाई+ देख्न पाए। तिनले मनस्सेको छोरा माकिरका+ छोराहरूलाई पनि देखे। यी बालकहरू युसुफको लागि आफ्नै बालबच्चासरह थिए।* २४ आफ्नो मर्ने बेला नजिकै आएको देखेपछि युसुफले आफ्ना दाजुभाइलाई बोलाएर भने: “अब मेरो मर्ने बेला भइसक्यो। हेर, परमेश्वरले तिमीहरूतर्फ ध्यान दिनुहुनेछ+ र तिमीहरूलाई यस देशबाट अब्राहाम, इसहाक र याकुबसित प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”+ २५ अनि युसुफले इस्राएलका छोराहरूलाई भने: “परमेश्वरले पक्कै तिमीहरूतर्फ ध्यान दिनुहुनेछ र तिमीहरूलाई यहाँबाट लैजानुहुनेछ। त्यसैले तिमीहरू यहाँबाट निस्कँदा मेरा हड्डीहरू पनि सँगै लिएर जानेछौ भनेर मसित शपथ खाओ।”+ २६ युसुफ ११० वर्षको उमेरमा मरे। उनीहरूले युसुफको लासमा लेप लगाए+ र बाकसमा हालेर मिश्रमै राखे।
वा “उर्लँदो पानी।”
अर्थात्, वायुमण्डल।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
यहाँ चलाइएको हिब्रू शब्दले चराचुरुङ्गीलाई अनि उड्ने किराहरूजस्ता अन्य जीवलाई जनाएको हुन सक्छ।
यसले सर्प, छेपारोजस्ता जीवलाई अनि यस पदमा उल्लिखित जीवहरूभन्दा फरक किसिमका जीवहरूलाई जनाउँछ।
यसले सृष्टिका छ दिनलाई जनाउँछ।
परमेश्वरको बेजोड नाम יהוה (YHWH) बाइबलमा पहिलो पटक यही पदमा चलाइएको छ। अतिरिक्त लेख क४ हेर्नुहोस्।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
मसिना पात र ससाना फूल हुने एक किसिमको रूखको सुगन्धित चोप।
शब्दावली हेर्नुहोस्।
वा “इथियोपिया।”
वा “टिग्रिस।”
यहाँ चलाइएको हिब्रू शब्दले गमले टाँसेजस्तै बलियोसित टाँसिनुलाई जनाउँछ।
वा “धूर्त।”
वा “के असल, के खराब आफैले निर्णय गर्नेछौ।”
यसको अर्थ हो, “मानिस, मानिसजाति।”
वा “खानेकुराको।”
यसको अर्थ हो, “जीवित व्यक्ति।”
शब्दावली हेर्नुहोस्।
वा “जुन भूमिले तिम्रो हातबाट तिम्रो भाइको रगत पिउन आफ्नो मुख उघाऱ्यो।”
यसले चेतावनीस्वरूप दिइएको आदेशलाई जनाएको हुन सक्छ।
वा “नोदमा।”
यसको अर्थ हो, “नियुक्त गरिएको, राखिएको।”
वा “यहोवा परमेश्वरको नाम गलत ढङ्गमा पुकार्न थाले।”
वा “आदम; मानिसजाति।”
शब्दावली हेर्नुहोस्।
शा., “साँचो परमेश्वरसित हिँडिरहे।”
यसको अर्थ “विश्राम; ढाडस” हुन सक्छ।
वा “सान्त्वना।”
वा “स्वर्गदूतहरूले।”
वा “तिनीहरू आफ्नो शरीरको इच्छाअनुसार चल्छन्।”
यसको अर्थ “ढाल्नेहरू” हुन सक्छ, अर्थात् अरूलाई ढाल्नेहरू। शब्दावलीमा “नपिल” हेर्नुहोस्।
वा “यहोवा परमेश्वर दुःखी हुनुभयो।”
वा “उहाँको चित्त दुख्यो।”
शा., “साँचो परमेश्वरसित हिँड्थे।”
शा., “गोपेर रूखको काठको।” चोप आउने किसिमको काठ। गोपेर एक प्रकारको सल्लाको रूख हुन सक्छ।
एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
हिब्रू भाषामा सोहार। कसै-कसैको भनाइअनुसार यसले उज्यालो छिरोस् भनेर बनाइने झ्याललाई नभई एक हात बाहिर निस्केको भिरालो छानालाई जनाउँछ।
वा “जीवनशक्ति।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्।
यसले बलि चढाउन मिल्ने पशुहरूलाई जनाएको हुन सक्छ।
वा सम्भवतः “हरेक शुद्ध पशुको सात-सात जोडी।”
वा सम्भवतः “उड्ने जीवका सात-सात जोडी।”
एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “तिमीहरूको अधिकारमा दिएको छु।”
वा “जीवनरक्त।”
शब्दावली हेर्नुहोस्।
शा., “दासहरूको पनि दास।”
मिश्रको हिब्रू नाम “मिज्रेम” हो।
अर्थात्, बेबिलोन।
वा सम्भवतः “यी सहरहरू मिलेर एउटा विशाल सहर बनेको छ।”
वा सम्भवतः “तिनी यापेतका दाइ थिए।”
यसको अर्थ हो, “विभाजन।”
वा “पृथ्वी विभाजित भएको थियो।”
वा “शब्दभण्डार।”
कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।
शा., “हेर्नलाई यहोवा तल ओर्लनुभयो।”
यसको अर्थ हो, “गोलमाल।”
वा “आफूमाथि आशिष् ल्याउनेछन्।”
वा “वंशलाई।”
वा “इजिप्टमा।”
मिश्रका राजाहरूको एउटा उपाधि।
अर्थात्, अदनको बगैँचाजस्तै।
यसले पद १ मा उल्लेख गरिएका राजाहरूलाई जनाएको हुन सक्छ।
अर्थात्, मृतसागरमा।
कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।
वा “पाल टाँगेर बसिरहेका।”
शा., “भाइलाई।”
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “छोरा।”
शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्।
साँढे नलगाइएको गाई।
यसले कनानका सबै मानिसलाई जनाउँछ।
यसको अर्थ हो, “परमेश्वर सुन्नुहुन्छ।”
कसै-कसैको विचारमा यसले जेब्रालाई पनि जनाउँछ। यसले स्वतन्त्र हुनुपर्ने वा कसैको अधीनमा बस्न नचाहने मनोभावलाई जनाएको हुन सक्छ।
वा सम्भवतः “तिनले आफ्ना सबै दाजुभाइसित दुस्मनी राख्नेछन्।”
यसले यहोवाको प्रतिनिधित्व गर्ने स्वर्गदूतलाई जनाउँछ।
यसको अर्थ हो, “मलाई देख्नुहुने जीवित परमेश्वरको कुवा।”
यसको अर्थ हो, “बुबा महान् हुनुहुन्छ (उच्च पारिनुभएको छ)।”
यसको अर्थ हो, “असङ्ख्य मानिसका बुबा; धेरैको बुबा।”
शब्दावली हेर्नुहोस्।
वा “मारिनै पर्छ।”
यसको अर्थ “झगडालु” हुन सक्छ।
यसको अर्थ हो, “राजकुमारी।”
यसको अर्थ हो, “हाँसो।”
शा., “सेआ।” एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “आफूमाथि आशिष् ल्याउनेछन्।”
शब्दावली हेर्नुहोस्।
वा “मेरो सुरक्षामा।” शा., “मेरो छायामुनि।”
वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्।
यसको अर्थ हो, “सानो।”
वा “विदेशीको रूपमा बसोबास गर्न थाले।”
यो पलिस्तियाली राजाहरूको उपाधि हुन सक्छ।
अर्थात्, अबिमेलेकले सारासित यौनसम्बन्ध राखेका थिएनन्।
वा “धर्मी।”
वा “अटल प्रेम।”
शब्दावली हेर्नुहोस्।
वा सम्भवतः “तिनीहरू मलाई हेरेर हाँस्नेछन्।”
जनावरको छालाबाट बनेको थैलो।
वा “एक काँडको दूरी पर।” यसले काँड हान्दा काँडले पार गर्ने दूरीलाई जनाउँछ।
यो पलिस्तियाली राजाहरूको उपाधि हुन सक्छ।
वा “अटल प्रेम।”
यसको अर्थ “शपथको इनार” वा “सातको इनार” हुन सक्छ।
शा., “धेरै दिनसम्म।”
वा “विदेशीको रूपमा बसोबास गरे।”
यसको अर्थ हो, “यहोवा परमेश्वरले जुटाइदिनुहुन्छ; यहोवा परमेश्वरले हेर्नुहुन्छ।”
वा सम्भवतः “महान् कुलनायक।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
त्यतिबेलाको चलनअनुसार शपथ खाने तरिका।
वा “अटल प्रेम।”
वा “अटल प्रेम।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “अटल प्रेम।”
यो व्यक्ति लाबान हुन सक्छ।
वा “अटल प्रेम।”
शा., “दायाँतिर वा बायाँतिर लागूँला।”
यसले ती धाईआमालाई जनाउँछ, जो उनकी सुसारे भएकी थिइन्।
वा “तिमी लाखौँलाखकी आमा होऊ।”
वा “पर्खालले घेरेको इलाका।”
वा सम्भवतः “इस्माएलका छोराहरूले आफ्ना सबै दाजुभाइसित दुस्मनी गरे।”
यसको अर्थ हो, “रौँ नै रौँ भएको।”
यसको अर्थ हो, “कुर्कुच्चो समात्ने; अरूको ठाउँ लिने।”
यसको अर्थ हो, “रातो।”
वा “अङ्कमाल।”
वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “वादीमा।”
यसको अर्थ हो, “विवाद।”
यसको अर्थ हो, “दोष लगाउनु।”
यसको अर्थ हो, “फराकिलो ठाउँ।”
वा “यहोवा परमेश्वरको महिमा गरे।”
यसको अर्थ हो, “शपथ; सात।”
यसको अर्थ हो, “शपथको इनार; सातको इनार।”
यसको अर्थ हो, “कुर्कुच्चो समात्ने; अरूको ठाउँ लिने।”
वा “तिमीलाई मार्ने विचार गरेर आफूलाई सान्त्वना दिइरहेको छ।”
वा “आफूमाथि आशिष् ल्याउनेछन्।”
यसको अर्थ हो, “परमेश्वरको घर।”
अर्थात्, कनानको उत्तर-पूर्वतिरका मानिसहरूको देशतिर।
त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।
शा., “भाइ।”
वा “तिमी र मबीच रगतको नाता छ।”
शा., “भाइ।”
वा “राहेलसित सम्बन्ध राख्न दिनुहोस्।”
वा “तिनले लेआसित सम्बन्ध राखून् भन्ने चाहन्थे।”
शा., “घृणा गरेको।”
यसको अर्थ हो, “हेर्नुहोस्, मेरो छोरा भयो!”
यसको अर्थ हो, “सुनुवाइ भयो।”
यसको अर्थ हो, “नजिक हुनु; जोडिनु।”
यसको अर्थ हो, “प्रशंसा गरिएको; प्रशंसाको पात्र।”
यसको अर्थ हो, “न्यायाधीश।”
यसको अर्थ हो, “मेरो कुस्ती।”
यसको अर्थ हो, “ठूलो आशिष्!”
यसको अर्थ हो, “सुखी, सुख।”
एक किसिमको कन्दमूल, जसले गर्भधारण गर्ने क्षमता बढाउँछ भन्ने विश्वास गरिन्थ्यो।
यसको अर्थ हो, “ऊ मेरो ज्याला हो।”
यसको अर्थ हो, “स्विकार्नु।”
योसिपियाह नामको छोटो रूप। यसको अर्थ हो, “याहले थपिदेऊन् (बढाइदेऊन्)।”
वा “प्रमाणहरूबाट।”
वा “उत्तेजित होऊन्।”
वा “उत्तेजित हुने बेला।”
शा., “त्यसलाई अभिषेक गरेका।”
हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्।
वा “नातेदार।”
यो अरामी शब्दको अर्थ हो, “साक्षीको थुप्रो।”
यो हिब्रू शब्दको अर्थ हो, “साक्षीको थुप्रो।”
यसको अर्थ हो, “पहरा दिने किल्ला।”
यसको अर्थ हो, “दुई वटा छाउनी।”
वा “विदेशीको रूपमा बसेर बिताएँ।”
पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।
वा “वादीपारि।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
यसको अर्थ हो, “परमेश्वरसँग लड्ने (हार नमान्ने)” वा “परमेश्वर लडन्त गर्नुहुन्छ।”
यसको अर्थ हो, “परमेश्वरको मुहार।”
वा “पेनिएल।”
यसको अर्थ हो, “झूप्रो; छाप्रो।”
शब्दावली हेर्नुहोस्।
वा “तिमीहरूले गर्दा म समाजबाट निकालिने भएँ।”
वा “जुन बाटो।”
वा “लुकाए।”
यसको अर्थ हो, “बेथेलका परमेश्वर।”
यसको अर्थ हो, “रुवाबासीको सालको रूख।”
शब्दावली हेर्नुहोस्।
यसको अर्थ हो, “मैले निकै पीडामा जन्माएको छोरा।”
यसको अर्थ हो, “मेरो दायाँ हातको छोरा।” अर्थात्, मेरो प्यारो छोरा।
वा “विदेशीको रूपमा बसोबास गरेको ठाउँमा।”
शा., “शेख।” यसले कुलको नाइकेलाई जनाउँछ।
वा “लामो सुन्दर पोशाक।”
शा., “शान्तपूर्वक।”
यसले पानी जम्मा गर्न बनाइएको खाडललाई जनाएको हुनुपर्छ।
एक प्रकारको सुगन्धित चोप।
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
यस बोक्राबाट निस्कने चोप अत्तर बनाउन प्रयोग गरिन्थ्यो।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
अर्थात्, यहुदा।
वा “मन्दिरको वेश्या।” यसले कनानी देवीदेवताको उपासनाको एउटा भागस्वरूप वेश्यावृत्ति गर्ने स्त्रीलाई जनाएको हुन सक्छ।
यसको अर्थ हो, “च्यातिनु।” यसले मूलाधार च्यातिनुलाई जनाएको हुन सक्छ।
यिनी रोटीका विभिन्न परिकार बनाउने भान्से थिए।
शा., “केही दिन।”
वा “अटल प्रेम।”
शा., “खाडलमा।”
शा., “खाडलबाट।”
यहाँ चलाइएको हिब्रू शब्दले दाह्री र कपाल दुवै खौरनुलाई जनाएको हुन सक्छ।
वा “मेरो राजगद्दीले गर्दा।”
यो शब्द कसैको मानसम्मान र जयजयकार गर्नू भनी आह्वान गर्न चलाइन्थ्यो जस्तो देखिन्छ।
हिब्रू भाषामा यसको अर्थ “रहस्य खोल्ने मानिस” हुन सक्छ।
अर्थात्, हेलियोपोलिसका।
वा “युसुफ मिश्रको दौडाहामा निस्के।”
वा “फारोको सेवा गर्न थाल्दा।”
यसको अर्थ हो, “त्यो, जसले बिर्साइदिन्छ।”
यसको अर्थ हो, “दुई गुणा फलिफाप।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
एक प्रकारको सुगन्धित चोप।
यस बोक्राबाट निस्कने चोप अत्तर बनाउन प्रयोग गरिन्थ्यो।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
शा., “बुबा।”
शब्दावली हेर्नुहोस्।
अर्थात्, याकुबको मृत्यु हुँदा तिनको आँखा बन्द गरिदिनेछन्।
अर्थात्, हेलियोपोलिसका।
शा., “छोराहरू।” तिनका अरू छोराहरू पनि हुन सक्छन्, जसको नाम यहाँ उल्लेख गरिएको छैन।
शा., “रोटी।”
वा “अटल प्रेम।”
वा “अपवित्र।”
वा सम्भवतः “हृदयको झुकाव।”
घुँडा पछाडिको मोटो नसो।
यसको अर्थ हो, “यो जसको हो; जसको यसमा हक लाग्छ।”
अर्थात्, युसुफ।
लासलाई कुहिन नदिन सुगन्धित तेलजस्ता वस्तुहरूको लेप लगाइन्थ्यो।
वा “घरानालाई।”
वा “फारोको घरानाका मुखियाहरू।”
यसको अर्थ हो, “मिश्रीहरूको शोक।”
शा., “यिनीहरू युसुफकै घुँडामा जन्मिए।” अर्थात्, युसुफले तिनीहरूलाई आफ्नै बालबच्चा ठाने र तिनीहरूलाई विशेष निगाह देखाए।